बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुटनीतिक शक्तिमा चीनले अमेरिकालाई उछिन्यो

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : ४८
शुक्रबार, १३ मङ्सिर २०७६

विश्वभर सबैभन्दा धेरै कुटनीतिक पोष्ट रहेको मामिलामा चीनले अमेरिकालाई उछिनेको छ । अस्ट्रेलियन थिङ्क ट्याङ्कको रिपोर्टका अनुसार यो बेइजिङको बढ्दो वैश्विक महत्त्वकांक्षाको संकेत हो ।

सिड्नीमा रहेको लोवी इन्सटिट्युटले बुधबार जारी गरेको ग्लोबल डिप्लोमेसी इन्डेक्समा एक राष्ट्रले विश्वभर स्थापना गरेका राजदूतावास र कन्सुलेट अफिसहरुको संख्याको मूल्याङ्कन गरिएको छ ।

रिपोर्टका अनुसार चीनको अहिले विश्वभर २७६ वटा कुटनीतिक पोस्टहरु रहेका छन् । यो अमेरिकाको भन्दा ३ वटाले बढी हो । दुवै देशका समान सङ्ख्यामा राजदूतावास रहे पनि वासिङटनभन्दा बेइजिङका बढी कन्सुलेटहरु रहेका छन् ।

सन् २०१२ को नोभेम्बरमा शक्तिमा आएपछि राष्ट्रपति सी जिनपिङले आफ्नो अन्तर्राष्ट्रिय प्रोफाइल बढाइरहेका छन् । उनी वैश्विक मामिलामा बेइजिङलाई केन्द्रमा उभ्याउन प्रयासरत छन् । बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना मार्फत चीनले विश्वभर आफ्नो प्रभाव फैलाइरहेको छ ।

चीनले आफ्नो अन्तर्राष्ट्रिय पहुँच बढारहँदा अमेरिकाले भने पछाडि कदम चालिरहेको छ । सन् २०१७ मा सत्तामा आएपछि राष्ट्रपति डोनाल्डा ट्रम्पले अमेरिकी स्टेट डिपार्टमेन्टको बजेट उल्लेखनीय मात्रामा घटाएका छन् ।

यस्ता छन् शीर्ष पाँच राष्ट्र

१. चीन : २७६ पोस्ट

२. अमेरिका : २७३ पोस्ट

३. फ्रान्स : २६७ पोस्ट

४. जापान : २४७ पोस्ट

५. रुस : २४२ पोस्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप