शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गर्नु नै मुख्य मिसन : उपप्रधानमन्त्री यादव

शुक्रबार, १३ मङ्सिर २०७६, १६ : ४०
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्नु नै आफ्नो मुख्य मिसन रहेको बताएका छन् ।

सञ्चारकर्मीसँग शुक्रबार कुरा गर्दै समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले संविधान संशोधन गरेर सबैतिर दीपावली गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

आफ्नो पार्टीले संविधान स्वीकार नगरेको स्मरण गराउँदै उनले संविधान जारी गर्दा देशको आधाभन्दा बढी ठाउँमा त्यसको विरोधमा ‘ब्ल्याक आउट’ गरिएको स्मरण गराए । उनले भने, ‘त्यो बेला आधा ठाउँमा दीपावली थियो भने आधा ठाउँमा ब्ल्याक आउट थियो, यसलाई संशोधन गरेर सबै ठाउँमा दीपावली गर्ने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’

संविधानमा अधिकारका दृष्टिले कतिपय कुरा राम्रो भए पनि कतिपय कुरा समेट्न नसकिएको बताए । उनले भने, ‘देशमा संघीयता आएको छ, तर अपूर्ण छ, संविधान आए पनि विद्रोहको बाटो छोडेका छैनन् ।’ प्रदेशलाई पेन्डुलम बनाएर संघीयता बलियो नहुने उनले प्रष्ट पारे । 

आफूहरु संविधानप्रति असन्तुष्ट रहनु र सरकारमा सामेल हुनु फरक कुरा रहेको उनको भनाइ थियो । सरकारमा सामेल हुनु अघि प्रधानमन्त्रीसहित सत्तारुढ दल नेकपाका शीर्ष नेतृत्वसँग दुई बुँदे सहमति भएको स्मरण गराउँदै उनले उक्त सहमति संविधान संशोधन गर्नकै लागि केन्द्रित रहेको बताए ।

‘डेढ वर्ष बित्दा पनि सरकारको नेतृत्व गरेको दलले संविधान संशोधनको प्रकृया अगाडि बढाएको छैन,’ उनले भने, ‘त्यसले पार्टी र पार्टी बाहिर आलोचना भइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मनले मन्त्रिपरिषद पुनर्गठनका क्रममा आफूलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको उनले बताए । ‘कुन परिस्थितिमा मन्त्री हेरफेर भयो, तपाईहरु सबैलाई थाहा भएकै कुरा हो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनले यो मन्त्रालय दिनुभएको हो । यसलाई मैले अवसरको रूपमा लिएको छु ।’

संविधान संशोधनको माग गर्दै आएको आफूहरुलाई संविधान संशोधनका लागि महत्वपूर्ण भूमिका रहने मन्त्रालयकै जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले मन्त्रालय भन्दा पनि संविधान संशोधनको मिसन आफ्नो लागि महत्वपूर्ण रहेको बताए ।

‘मुलुकको आवश्यकता अनुसार कानुन निर्माण गर्ने प्रयास गर्नेछु,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप