केन्द्रीय संस्करण
संगीत

अ बर्न रकस्टार : मुक्ति शाक्य

person explore access_timeमंसिर १४, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

भनिन्छ, रकस्टार जन्मन्छ । यदि कसैले जन्मजात नै रकस्टार हुने गुण ल्याएको छैन भने यसलाई लक्ष्य बनाएर अघि बढ्नुको कुनै तुक छैन । तर यदि कोही व्यक्ति यस्ता गुणबाट सुसज्जित छन् भने न आँधी न त कुनै हुरीले उसलाई रकस्टार हुनबाट रोक्न सक्छ । त्यसैले त भनिएको हो, ‘यु आर अ बर्न रकस्टार’ । 

तर रकस्टार एकै दिन हुने कुरा होइन । यसका लागि अथक प्रयास, मिहिनेत, समर्पण, धैर्य, लगाव अझ भनौँ सङ्गीतप्रतिको ‘प्यासन’ चाहिन्छ । त्यस्तो ‘प्यासन’ जसमा व्यक्तिले ‘दिने’ मात्र सोच्छ, त्यसमा डुब्दा पाउने आत्मसन्तुष्टिमा नै ऊ रमाउने गर्छ । सङ्गीतप्रतिको सायद त्यही प्यासनले गर्दा नै उनी १४–१५ वर्षको उमेरदेखि नै गितारमा रमाउन थाले ।  

गितारको फ्रेटमा उनका औँला नाच्न थालेको पनि ४० वर्षभन्दा बढी भइसक्यो । यसका साथै उनी एउटा यस्तो ब्यान्डका सर्जक हुन् जसले थुप्रै पिढीलाई निरन्तर रूपमा आफ्नो सङ्गीतको जादुले छपक्कै भिजाएको छ । चाहे स्कुल जाने किशोर–किशोरी हुन्, कलेज जाने ठिटाठिटी हुन् वा कुनै कार्यालयको म्यानेजर पोस्टमा भएका व्यक्ति नै किन नहुन्, रक फ्लेभरको गीत रुचाउनेहरुका लागि उनको गीत पहिलो स्थानमा आउँछ । एक यस्ता व्यक्ति जसको नसानसामा रक जनरा सञ्चारित छ । उनी हुन् मुक्ति एन्ड रिभाइभल ब्यान्डका फ्रन्टम्यान, मुक्ति शाक्य । 

कुराकानीका लागि हामी उनको रामकोटस्थित सुन्दर तथा शान्त क्षेत्रमा रहेको घरमा पुग्यौँ । ठ्याक्कै विदेशी स्टाइलको घर तर २५ वर्ष पुरानो । झट्ट हेर्दा विदेशी स्टाइलको भए पनि उनले घरभित्र भने आफ्नो पुरानो घरको झ्याल, ढोका, दराज इत्यादिलाई साजसज्जाका लागि प्रयोग गरेका छन् । तारिफयोग्य ‘युनिक’ घरबारे जान्न खोज्दा उनले आफ्नी स्पेनिस श्रीमतीसँग मिलेर यसको डिजाइन गरेको जानकारी दिए ।  
‘आई वाज बर्न टु बी अ रक एन्ड रोल’
‘रकस्टार आर बर्न’ यो निकै प्रचलित भनाइ हो, बारम्बार सुन्दै आएकी थिएँ, रक जनरामा नै आफ्नो किशोरावस्था, युवावस्था, थाहा छैन के के अवस्था व्यतित गरेर यसैलाई कर्म बनाएका मुक्ति शाक्यको यसबारे धारणा जान्न मनलाग्यो र सुरुमै सोधिहालेँ ।  यसबारे व्याख्या गर्दै यो दुई किसिमको हुने उनले बताए । ‘एउटा चाहिँ मानिसमा इच्छा हुनुपर्छ र अर्को भनेको ‘गड गिफ्ट’ पनि हुनुपर्छ । मसँग यी दुईवटै थिए । मेरो इच्छा पनि थियो र मेरो दिमागमा सङ्गीतले राम्रो घर बनाएको थियो,’ उनले भने । 


उनको घर नै सङ्गीतमय । पाँचजना छोराछोरीमध्ये उनी कान्छो । आफ्ना सबै दाइ, दिदीहरुले मज्जाले गाएको देखेर, सुनेरै उनी हुर्किए । उनका बुबा हर्मोनियम, तबलामा निपुण । सँगसँगै भजन पनि गाउने र असाध्यै सङ्गीतप्रेमी । त्यसकारण आफूसँग ‘डिजाएर र गड गिफ्ट’ दुवै भएको उनको ठम्याइँ छ । उनको सबैभन्दा ठूलो विशेषता के हो भने उनी निकै सजिलै र छिट्टै सिक्न सक्थे । गितार बजाएको हेर्ने बित्तिकै कसरी बजाइएको थियो निकै छिट्टै ‘क्याच’ गरिहाल्थे । 

उनका एकजना दाइको गितार थियो । दाइ घरमा भएको भन्दा पनि बाहिर नै गएको मन पथ्र्यो उनलाई । किनभने दाइ नभएको बेला गितार बजाउन जो पाउँथे त्यसैले त ‘दाइ कहिले बाहिर जालान्  र गितार बजाउन पाऔँला’ भनेर कुरेर बस्थे । घरको कान्छो भएकाले दाइले साथीभाइसँग रमाइलो गर्दा उनलाई पसल ओहोर दोहोर गरेरै भ्याइनभ्याइ हुन्थ्यो । जब दाइ घरबाट बाहिर निस्किन्थे तब  संसारकै सबैभन्दा खुसी हुन्थे उनी । हतारहतार गितार बोकेर स्टोर्मिङ गरिहाल्थे । नेपाली गीतहरु नै बजाउन खोज्थे । खासै राम्रोसँग आउँदैनथ्यो तर यत्तिकै झुङ्झुङ गर्थे र यत्तिमा नै उनलाई रमाइलो लाग्थ्यो । खासमा भन्ने हो भने उनले यसरी नै गितार बजाउन सिके । 

हिप्पिजले गितार बजाएर गाएको देख्दा... 

उनको बाल्यकाल निकै साधारण तरिकाले बित्यो । साधारण स्कुलमै पढे । टोलका साथीहरुसँग गुच्चा खेलेका दिन उनको दिमागमा अझै ताजा छ ।  उनको घर पुरानो झोँछेमा छ, पुरानो नेवार टोल । हुर्के फ्रिक स्ट्रिटमा । त्यहाँ हिप्पिजहरुको जमघट हुन्थ्यो । घरबाट निस्कँदा जहिल्यै उनीहरुलाई गितार बजाएर, गीत गाएर रमाइलो गरिरहेको देख्थे । त्यतिबेला उनी ८, ९ कक्षामा पढ्थे । स्कुलमा शिक्षकहरुले ‘तिमी के बन्छौ ?’ भनेर सोध्नुहुन्थ्यो । साथीहरुले डाक्टर, पाइलट, शिक्षक बन्छु भन्थेँ तर उनले शिक्षकलाई नभने पनि आफैँलाई भन्थे, ‘आइ वान्ट टु बी अ गितारिस्ट एन्ड सिङ्गर’ । 


उनले भने, ‘आई वाज बर्न टु बी अ रक एन्ड रोल, बर्न टु बी अ रकस्टार भन्ने कुरा पछि आएको हो ।’ सुरुमा त उनलाई सङ्गीतप्रति आकर्षित गराउने हिप्पिज नै भएको उनी बताउँछन् । 

सङ्गीतमा बुबाको असाध्यै समर्थन, नपढेको भन्दै आमाले भने कहिलेकाहीँ गाली गर्ने

बुबाले उनको सङ्गीतकर्मलाई यति समर्थन गर्थे कि उनलाई भाग्यमा विश्वास लाग्न थाल्यो । ‘त्यो समयमा यस्तो समर्थन पाउनु भनेको असम्भवजस्तै थियो, मैले पाएँ, त्यसकारण म असाध्यै भाग्यमानी रहेछु भन्ने बुझ्नुपर्छ,’ यति भन्दै गर्दा उनको अनुहारको चहकले उनी आफ्ना बुबाप्रति कति कृतज्ञ छन् भनेर स्पष्ट बताइरहेको थियो । 

२०–२१ वर्षको उरन्ठेउलो उमेरमा पनि उनको सङ्गीतकर्ममा उनका बुबालाई रत्तिभर पनि शङ्का थिएन । मुक्ति त्यो उमेरदेखि नै व्यवस्थित । ब्यान्ड खोल्ने निधो त गरे तर बजाउनका लागि केही सामग्री थिएनन्, किन्नका लागि नेपालमा पसलहरु पनि थिएनन् । ब्यान्ड खोल्न के–के चाहिन्छ भनेर थोरै ज्ञान पनि थियो । कसैले उनलाई कलकत्तामा साङ्गीतिक उपकरण निकै सस्तो हुने, गितारहरु पनि तत्काल बनाइदिने जानकारी दिए । यसबारे ब्यान्डका सदस्यसँग पनि छलफल भयो । सबै कलेजका विद्यार्थी, सुको कमाइ थिएन । घरमा कुरा गर्ने निधो भयो । उनले यसबारे बुबालाई जानकारी दिए । बुबाले कुनै दोहोरो प्रश्न नगरी निमेषभरमै कलकत्तासम्म आउजाउ गर्ने भाडासहित सामान किन्न पैसा दिए । उनीबाहेक ब्यान्डका अन्य दुईजना सदस्यले पनि पैसा ल्याए । गोजीभरी पैसा नभए पनि मनभरी उत्साह बोकेर उनी कलकत्ता हानिए ।  एम्प्लिफायर, स्पिकरलगायत ब्यान्डलाई चाहिने सामग्री बोकेर उनी नेपाल फर्किए । 


बुबाको सङ्गीतमा फुल सपोर्ट । उनले बुबालाई आफ्नो सङ्गीतको टेस्टबारे जानकारी दिन्थे । बुबालाई यस्तो गीत मनपर्छ, गितार बजाउन मनपर्छ भन्थे । बुबाले ‘हो’ भनेर सोध्थे । बुबाको ‘त्यसो भए बजा न त’ प्रोत्साहन दिने शब्दले उनमा अझै राम्रो गर्ने जोस जागृत हुन्थ्यो । घरमा भोज भतेर हुँदा, पाहुना जमघट हुँदा उनी गितार बजाएर गीत गाउँथे । सबै आफन्त रमाउँथे । आफन्तभन्दा बढी कुनामा बसेर कान्छो छोराको प्रस्तुति हेरिरहेका उनको बुबाको छाती गौरवले फुल्थ्यो, आँखामा खुसीका आँसु छल्कन्थे । 

आमाको पनि समर्थन त थियो तर उनलाई मुक्तिले नपढेको र खाना समयमा नखाइदिएकोमा आपत्ति थियो । ‘आख ब्वनी म्वा ला (पढ्नु पर्दैन) ? सधैँ सधैँ के हो यो ? पढ्नुसढ्नु छैन । सधैँ त्यही झ्याङ् झ्याङ गरेको छ । छिटो भात खान आउने कि नआउने ?’ आमाले लट्ठी लिएर गरेको गाली उनलाई हिजोजस्तो लाग्छ ।  

गितार बजाउ, गीत गाउँ, रमाइलो गर
हुन त उनले अहिले जुन उचाइ हासिल गरेका छन्, त्यहाँ पुगौँला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन् । सुरुमा उनको एउटै ध्येय थियो, ‘गितार बजाउ, गीत गाउ, रमाइलो गर’ । सङ्गीतप्रति उनको रुचि दिन प्रतिदिन बढ्दै गयो । जति यसमा डुबे, त्यति नै हराउन थाले, त्यति नै रमाउन थाले । कलेजसम्म पुग्दा त उनी निकै राम्रो बजाउने भइसकेका थिए । ब्यान्ड नै खोलेर अगाडि बढ्ने आत्मविश्वास उनमा पलाइसकेको थियो । त्यसैले त खोलिहाले रेडियम ब्यान्ड । सुरुवाती दिनमा सबै कच्चा त्यसैले ब्यान्ड पक्का हुन सकेन । दुई वर्षपछि ब्यान्ड कता गयो, उनी अनभिज्ञ छन् ।  

त्यसताका कलेजमा विभिन्न कार्यक्रम भइरहन्थे । नयाँ विद्यार्थीलाई स्वागत गर्न, पुरानालाई बिदाइ गर्ने  कार्यक्रमको आयोजना भइरहन्थे । त्यस्ता कार्यक्रममा आफ्नो प्रस्तुति दिने हुटहुटी उनमा जागृत भयो । त्यसका लागि ब्यान्ड चाहियो र अर्को ब्यान्ड खोले एलिगेन्स । ब्यान्डको एउटै मात्रै उद्देश्य थियो कलेजतिर बजाएर ‘साथीभाइसँग मिलेर रमाइलो गर्ने’ । तर रमाइलो पनि व्यवस्थित तरिकाले गरौँ भन्ने उनले सोचे । त्यसपछि नै उनले सङ्गीतमा नै लाग्ने निधो गरे । अनि मात्रै आफ्नो रकस्टार बन्नेतिर ध्यान गएको उनले बताए । 

एलिगेन्स ब्यान्ड सुरु गर्दा उनी २३, २४ वर्षका लक्का जवान । त्यति नै बेला स्पेनिस युवतीसँग प्रेममा परे । विवाह गरे । त्यसपछि गए स्पेन । दुई छोरा भए । उनलाई लाग्यो ‘लाइफ सेटल भयो’ । त्यसपछि सन् १९९२ मा सधैँका लागि सपरिवार नेपाल फर्किए । 

नेपाल फर्र्किएको एक वर्षपछि सन् १९९३ मा सङ्गीतमा पुनः सक्रिय हुने उद्देश्यसहित रिभाइल ब्यान्डको सुरुवात गरे । त्यसताका नेपाली साङ्गीतिक क्षेत्रको उदय भइसकेको थियो । सन् १९९६ सम्म रिभाइल ब्यान्डमार्फत् विभिन्न स्थानमा कभर गीतहरु गाए । पूरै रक एन्ड रोल स्पिरिट थियो । रक एन्ड रोल उनले पाश्चात्य सङ्गीतबाट सिकेका थिए तर दिल त नेपाली गीत सङ्गीतमा नै बसेको थियो । सन् १९८७ देखि नै उनले नेपाली गीत लेख्न गाउन थालिसकेका थिए । तर त्यतिबेला मानिसहरुले नेपाली गीत गाएको मन पराउँदैनथे । उनी भन्छन्, ‘त्यतिबेला नेपाली गीत गाउँदा हामीलाई  ‘ह्या, जिमी हेनरिक्स बजाउँ’ भन्थे । मेरो करियरको सुरुदेखि नै म नेपाली गीतहरु लेख्ने गाउने गर्थेँ । कभर गीत गाउँदा गाउँदै पनि जबर्जस्ती दुई तीनवटा नेपाली गीत गाउँथे । गाली गरे पनि जे गरे पनि ‘लौ सुन्नुहोस्’ भनेर गाउँथ्यौँ हामी ।’


तर कभर गीत गाएर मात्रै उनी सन्तुष्ट थिएनन् । ब्यान्डको आफ्नै नेपाली मौलिक गीत हुनुपर्छ भन्ने मान्यतामा उनी थिए । त्यो सङ्गीतका लागि सही समय थियो । त्यसपछि चाहिँ उनले ब्यान्डसँग छलफल गरेर आइन्दा आफ्नै गीत गाउने, अङ्ग्रेजी गीतहरु नबजाउने र यसरी नै आफ्नो करियर अघि बढाउने निर्क्यौल गरे । ब्यान्डका अन्य सदस्यले पनि मुन्टोको शानले कुरा सकारे । तर ब्यान्डका सदस्यको मुन्टोको शानमा मात्रै उनको चित्त बुझेन । उनले आफ्नो स्वभावबारे विस्तृत जानकारी दिँदै भने, ‘म चाहिँ अलिकति कडा छु । किनभने तपाईं जेसुकै हुन चाहनुहोस्, त्यसका लागि व्यवस्थित त हुनुपर्छ । यु ह्याभ टु स्पेन्ड लट्स अफ टाइम । मलाई पर्याप्त समय चाहिन्छ भनेँ ।’

सङ्गीतमा नै लागेर जीविकोपार्जन गर्छु भनेर अहिले त धेरैले आँट गर्न नसकेको अवस्थामा दुई दशक अघि यस्तो आँट मुक्तिले त गरे तर उनका ब्यान्डका अन्य सदस्यले गर्न सकेनन् । जुन कुराले आफ्नो  दैनिक आवश्यकता परिपूर्ति गर्दथ्यो त्यसलाई ब्यान्डका अन्य सदस्यले छोड्न सकेनन् तसर्थ ब्यान्ड छोडिदिए । 

अनि जन्मियो ‘मुक्ति एन्ड रिभाइभल’
रिभाइभलका धेरै साथीहरुले हात उठाएपछि मुक्तिले नयाँ साथीसहित सन् १९९६ मा मुक्ति एन्ड रिभाइभल ब्यान्डको स्थापना गरे । ब्यान्डमा आफ्नो नाम जोड्नुको पछाडि निकै रोचक कहानी भएको उनले बताए । 
ड्यानियल कार्थक रिभाइभल ब्यान्डका बेसिस्ट थिए । नेपाली सङ्गीत क्षेत्रमा उनी चिरपरिचित व्यक्तित्व हुन् । योगेश्वर अमात्यद्वारा स्वरबद्ध ‘लोग्ने मान्छे भएर रुनु हुन्न रे’ भन्ने गीतका लेखक ड्यानियल अहिले अमेरिकामा छन् । उनले नै मुक्तिलाई ब्यान्डमा आफ्नो नाम राख्न सल्लाह दिए । त्यतिबेला ड्यानियलले भनेको कुरा सम्झँदै मुक्तिले भने, ‘तिमीले यति लामो समयदेखि सङ्गीत कर्म गर्दै आएका छौ, तिमीले गीत पनि लेख्छौ, बजाउँछौ, गाउँछौ सबै कुरा गर्छौ । तिम्रो रेडियम भन्ने ब्यान्ड थियो, एलिगेन्स थियो त्यसपछि रिभाइभल, के अब फेरि नयाँ नाम राख्ने ? यु नेभर नो रिभाइभलका अन्य साथीहरुले पनि छोडेर जान सक्छन् । यो नयाँ ब्यान्डमा चाहिँ तिम्रो नाम राख ।’


ड्यानियलले यस्तो भनेपछि मुक्तिले जुक्ति पाए र आफ्नो ब्यान्डको नाम राखे ‘मुक्ति एन्ड रिभाइभल’ । 

मुक्ति रक एन्ड रोल सङ्गीतलाई लिएर जीवन गुजारा गर्न निकै गाह्रो भएको स्विकार्छन् । ‘ब्यान्डमा मानिसहरु आउने जाने क्रम चलिरहन्छ । कि त पप स्टार हुनुपर्‍यो, कि सोलो स्टार हुनुपर्‍यो । नढाँटिकन भन्ने हो भने ब्यान्डको रूपमा बाँच्न निकै गाह्रो छ । मुक्ति एन्ड रिभाइभल स्थापना भइसकेपछि पनि दुई जना सदस्यले आफ्नो व्यवसाय छोड्न सकेनन् तसर्थ ब्यान्डलाई अलबिदा भने,’ उनले कुरोको चुरो निकाले । 

कहिले हार मानेनन्
मुक्ति एन्ड रिभाइभल उनको चौथो ब्यान्ड हो । यो यात्रामा उनले अनेकौँ आरोह अवरोह सामना गरे   । सुरुमा उनलाई गितार बजाउने शोख । पहिला बेस गितार बजाउँथेँ पछि लिड गरे । ब्यान्डमा कहिले लिड गितारिस्ट नहुने, कहिले फ्रन्टम्यान नै गइदिने । उनीहरुको परिपूर्ति मुक्ति आफैले गर्न थाले । खासमा उनको ब्लुज सङ्गीतप्रति लगाव छ । त्यसैले पनि उनलाई गितार बजाउँदै गीत गाउनु खासै नौलो लाग्दैन ।

उनले भने, ‘ब्लुजमा एउटै मान्छेले गाउँछ, एउटै मान्छेले गितारमा एक्सप्रेसन दिन्छ । ब्लुजमा पाँचजना भए पनि, तीनजना भए पनि गायक र गितारिस्ट एउटै हुन्छ । मेरो ब्लुज दिमाग भएकाले त्यो रुट नै हो ।’
मुक्ति एन्ड रिभाइभलको जन्म भइसकेपछि गायनलाई उनी आफ्नो दायित्व ठान्छन् । ‘फ्रन्टम्यान भएपछि मैले जसरी पनि गाउनै पर्छ । यदि म गाउनमा खुसी र सहज छैन भने मैले राम्रो सङ्गीत बनाउनै सक्दिनँ नि । त्यसकारण मानिसहरु रमाउन सक्दैनन् । त्यसैले गीत गाउनमा आफ्नो ध्यान बढी केन्द्रित गरिरहेको छु । सुरुमा बाध्यतावश गरे पनि गर्दागर्दै मन पनि पर्‍यो र मलाई यसो गर्न निकै रमाइलो पनि लाग्छ,’ उज्यालो अनुहारसहित उनले भने ।   

गितार काइन्ड अफ म्युजिक
ब्लुज भन्ने जनरा थाहा नभईकनै उनले ब्लुज बजाउन थालिसकेका थिए । पछि थाहा भयो, युवावस्थामा उनले जे जति सुने, जे जति सिके ती सबै ब्लुज रहेछन् । सङ्गीत सिक्दाको सुरुवाती अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘जिमी हेनरिक्स, लेड जेपलिन, डिप पर्पल, एरिक क्ल्यापटनलागयतका रक ब्यान्डहरुलाई हामीले सुरु सुरुमा सुनेका हौँ । यी सबै गितार म्युजिक हुन् के । क्यासेट किन्यो, रिवाइन्ड गर्‍यो, हज्जारौँ पटक सुन्यो । त्यही नक्कल गर्‍यो । उनीहरुलाई अनुसरण गर्दा गर्दै हामीले  पनि गितार काइन्ड अफ म्युजिक नै गर्न थाल्यौँ । तर आफ्नै तरिकाले । त्यतिबेला हामीलाई ब्लुज भनेर थाहा थिएन । पछि थाहा भयो हामीले सुन्ने गरेका ती सबै ब्यान्ड ब्लुजबाटै रक ब्यान्डमा परिवर्तन भएका रहेछन् ।’


उनी ब्लुज सङ्गीलाई रक एन्ड रोलको जरा मान्छन् । कुराको पोयो तन्काउँदै उनले भने, ‘सबै रुट ब्लुजमा हुन्छ क्या । ब्लुजबाटै रक एन्ड रोल निस्किएको हो ।’
एलिगेन्स ब्यान्ड खोलेपछि उनलाई बल्ल थाहा भयो, ‘ए, मैले त ब्लुज सङ्गीत पो गरिरहेको रहेछु ।’ अघि बढ्दै जाँदा उनलाई आफैले सिकेको ब्लुज सङ्गीत अपर्याप्त लाग्न थाल्यो तसर्थ स्पेनमा गएर ब्लुजबारे आधारभूत कक्षा नै लिए । 

दुई वर्ष सङ्गीत छोडे
स्पेनबाट फर्किएपछि उनको आफ्नो छुट्टै परिवार भइसकेको थियो । श्रीमती, दुई छोराहरुको जिम्मेवारी थपिएको थियो । बुबाले ‘तँलाई पैसा कमाउन केको खाँचो’ भने पनि परिवारका लागि खाना र छानाको जोहो त गर्नैपर्छ भन्ने उनलाई बोध भयो । सङ्गीतप्रति नै जीवन समर्पण गरेका उनलाई सङ्गीतले आफू र परिवारलाई पाल्ने कुरामा उनी विश्वस्त हुन सकेनन् । तसर्थ, गाइडको तालिम लिने निधो गरे । स्पेनिस भाषामा दख्खल र घुम्न असाध्यै रुचि भएकाले पनि उनलाई यो पेसाले आकर्षित गर्‍यो । यो सन् १९९७ तिरको कुरा हो । तालिम लिने र आफूलाई सो पेसामा ढल्काउने चक्करमा उनले दुई वर्ष सङ्गीतकर्म त्यागे ।

पर्यटकलाई लिएर कतै बाहिर जाँदा ‘साथीभाइहरुले तिम्रो ब्यान्ड खोई, गर न भाइ गर’ भनेर सोधिरहन्थे । उनी पनि कहाँ टाढा हुन सके र ? गाइड पेसा र सङ्गीतलाई सँगसँगै लैजाने आँट गरे । १० वर्षसम्म टुर गाइडको पेसा छोडँे तर सङ्गीतकर्म अझै निरन्तर छ । 

जबसम्म म थाक्दिनँ...
ब्यान्ड जोडतोडका साथ अघि बढिरहेको मुक्ति बताउँछन् । भविष्यमा यही उत्साहलाई आत्मसाथ गरेर कसरी अघि बढ्ने भनेर उनी समय समयमा घोत्लिन्छन् । ब्यान्डले प्रत्येक पाँच वर्षमा एल्बम निकाल्नेछ । एल्बम निकालेपछि दुई तीन वर्षसम्म त्यही एल्बमका लागि टुर गर्नेछ । उनले भने, ‘जबसम्म म थाक्दिनँ तबसम्म यो निरन्तर चलिरहनेछ । आई एम मुक्ति शाक्य भनेर म घरमा बसेर हुँदैन । त्यसकारण म सङ्गीत बनाउँछु । भर्खरै एल्बम निकालेँ । भिडियो बनाउँछु, गीगहरु गर्छु । अमेरिका टुर गराइदेऊ न बा भनेर आग्रह गर्छु ।’

नयाँ पुस्ताका लागिः
आजकाल दुई किसिमका मानिसहरु सङ्गीतकर्ममा होमिने मुक्तिको बुझाइ छ । उनका अनुसार कोही पैसा कमाउने हेतुले यो क्षेत्रमा आउँछन् तर यो सम्भव भएको उनी बताउँछन् । ‘गीत नै गाएर गाडी चढेको मैले देखेको छु,’ उनले भने । 

अर्को एक जमात ब्यान्ड खोलेर सङ्गीतमा लाग्छु भन्ने तरिकाले आउँछन् । यी दुवै जमातमा प्रबल इच्छाशक्ति हुनुपर्ने मुक्ति बताउँछन् । ‘म यो बन्छु भनेर उसको उत्कट चाहना हुनुपर्छ । जस्तोसुकै परिस्थिति आए पनि निरन्तर अघि बढ्छु भन्ने दृढ सङ्कल्प हुन आवश्यक छ,’ उनको अनुभव बोल्यो ।  


कसैले पनि सिक्न चाहिँ छोड्नु हुँदैन । सिक्न धेरै समय लाग्छ । दुई तीन घण्टा दैनिक बजाउनुपर्‍यो । आफूले बजाएपछि ‘यु ह्याभ टु लुक फर अपरच्युनिटी’ । कलेज सोहरु भइरहन्छन् । सबैभन्दा पहिला आफूलाई निपुण बनाउनुहोस् । डिभोसन असाध्यै चाहिन्छ,’ उनले नयाँ पुस्तालाई सल्लाह दिए । 

यसका साथै परिवारको समर्थन पाउनका लागि राम्रो विद्यार्थी हुन पनि उनले आग्रह गरेका छन् । सङ्गीतको चक्करमा लागेर पढाइलाई कहिले पनि छोड्न नहुने उनको धारणा छ । ‘कलेजतिर पनि ध्यान दिने । सर्कल बनाउने अनि जतिसक्दो पर्फम गर्ने । सिक्ने बित्तिकै सुनाउने, घरमा सुनाउने कि, साथीलाई सुनाउने कि, कतै गएर बजाउने कि गर्नुपर्छ । त्यसपछि तपाईं आफै पनि सहज हुनुहुन्छ । इच्छा, जाँगर पलाउँछ, त्यसपछि तपाईंले धेरै कुरा सिक्नुहुन्छ ।’

भिडियो हेर्नुहोस्

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...