बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा : बाल मनोविज्ञान

शनिबार, १४ मङ्सिर २०७६, ११ : १९
शनिबार, १४ मङ्सिर २०७६

-रश्मी श्रेष्ठ

एक अबोध बालक, अँध्यारो कोठामा बिहानैको चिसो भात मुछेर खाँदै छ । उता आमा सुक्क सुक्क गर्दैछिन्  । उसलाई थाहा छैन के भइरहेको छ । बस् अहिले त्यो चिसो भातले भए पनि पेट भर्नु छ उसलाई । त्यसैले त्यो सुँक्क सुँक्क आवाजलाई खासै वास्ता गरेजस्तो देखिएन । फेरि त्यो सुक्क सुक्क आवाज नयाँ पनि थिएन । यो त दिनहुँ सुन्दै, हेर्दै, देख्दै आएको छ उसले । त्यसैले होला उसलाई उसको आमाको सुँक्क सुँक्क सामान्य लाग्न थालिसक्यो ।
उसलाई थाहा छैन, उसको बाउ कहाँ छ ? घर आउँदा त देखेको छ तर घर किन सधैँ आउदैन थाहा छैन उसलाई । 
एक दिन सुन्छ कि उसको बाउले त उसका लागि नयाँ आमा ल्याइदिएका छन् रे । उसले भन्यो किन मेरी आमा छैनन् र ? मलाई किन नयाँ आमा चाहियो र ? मलाई चाहिँदैन । 
केही समयमा फेरि सुन्छ, उसका लागि नयाँ आमाले नयाँ भाइ पाइदिएको छ रे । “किन चाहियो मलाई नयाँ भाइ ? मेरो आफ्नो भाइ छैन र ?”

दिन बित्यो, हप्ता, महिना र वर्ष पनि । 
सबैका लागि दिन सामान्य बन्दै गयो । सायद उसकी आमाका लागि पनि तर उसका लागि त उसको बालापन अझै असामान्य नै थियो । किन ? जवाफको थुप्रो छ... ।
खोई मेरो खुट्टामा जुत्ता ?
खोई मेरो आङमा सफा कपडा ?
खोई मेरो दशैँको खसी ?
खोई मेरो मीठो माम ?
खोई मेरो किताब र कापी ?
खोई मेरो स्कुलको फी ?
खोई मेरो बाउ ?
स्कुल जान्छ ऊ तर पढ्न सक्दैन । कसरी पढोस् ...कक्षामा टिचरले पढाउने बेलामा न अकाउन्टको सरले बोलाएर अहिले पनि पैसा तिरेन भने परीक्षामा सहभागी हुन पाउँदैनस भन्ने हुन् कि, टिचरले फी नतिरेको निहुँमा कक्षाबाहिर उभ्यााएर राखिदिने हुन कि भन्ने डर... ।
टिचरले कक्षाको पाठ पढेर सुनाऊ भन्दा घोसे मुन्टो लाएर आँसु पुछ्नुको विकल्प थिएन उसको । किनकि ऊसँग पाठ पढ्न पुस्तक नै थिएन ।
टिफिन टाइममा सबै साथीहरुले खाजा खान र खेल्न निस्कँदा मलाई भोक छैन भनी ऊ कक्षामै किन नबस्नु त ? त्यो टाइममा साथीको पुस्तकबाट होमवर्कको सबै पाठ सारेर घर पनि त लानु छ नि । अनि टिफिन टाइममा खेल्नु कि खानु उसले ?
विचरी आमा छोरोलाई बिहानको तातो भात पनि खुवाउन भ्याउँदिन । छोरो पनि मलाई भोक छैन भनी स्कुलको समयभन्दा ३ घण्टा पहिले नै घरबाट निस्कन्छ । फेरि त्यो नयाँ आमा र भाइ ल्याउने बाउको अफिसमा भेट्न गएर मेरो स्कुलको फी तिरिदेऊ न बा भनी बिन्ती चढाउन भ्याउनु पनि छ उसले, परीक्षा जो आइसक्यो । 
आज परीक्षाको दिन, यता फेरि फी नै तिरको छैन, रैनछ । टिचरले जाँचमा बस्नुपर्दैन भनी  साथीहरुकै अगाडि भन्ने हुन कि भन्ने डरले भुतुक्कै । धन्न सरले छुटै कोठामा बोलाएर भन्नुभयो र सरसँग एक दुई दिनसम्मको म्याद मागी जाँचमा बस्ने मौका मिल्यो । जाँच पनि सकियो । रिजल्ट पनि आयो । सबैमा बल्ल बल्ल पास । रिपोर्ट हेर्दै बाउ कराउँछ, “खोई त तैँले पढेको यही हो ? यस्तो नपढ्ने बच्चाको के फी तिर्नु ?”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप