केन्द्रीय संस्करण
कथा गीतको

यस्तो छ छोरीभन्दा आमा तरुनीको कथा...

लोकगायक कुमार बस्नेतका दस गीतका दस किस्सा

person explore access_timeमंसिर १४, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली लोकगीत सङ्गीतमा कुमार बस्नेतको योगदान धेरै छ । लोकगीत सङ्गीतमा ६ दशकअघि नै स्थापित बस्नेत नाटक हुँदै सङ्गीतको दुनियामा प्रवेश गरेका हुन् । उनी अहिले पनि सक्रिय रूपमा सङ्गीत बजार मूल्याङ्कन गर्छन् ।

आफ्नो जीवन नेपाली लोकगीत सङ्गीत सङ्कलन र गायनमा बिताएका बस्नेतको ५ दशक अगाडि आएका गीतसङ्गीत अहिले पनि हिट छन् । समाजका विकृति, विसङ्गति लगायत धेरै पक्ष लोकगीतमार्फत मिठासपूर्ण तरिकाले पस्किन माहिर बस्नेत एउटा कालखण्डका आधुनिक पात्रका रूपमा स्थापित छन् ।

लोकगीतका कारण उनका लागि कैयौँ युवती मरिहत्ते गर्थे । उनले गाएको गीतसङ्गीतका कारण कतिपयले उनलाई सेक्सी गायकसमेत भने । उमेर ७ दशक नाघिसक्दा पनि जीवनलाई ठाँटले बिताउने बस्नेतका थुप्रै चर्चित गीत छन् । तीमध्ये बस्नेतका १० गीत उनकै शब्दमा ।

छोरीभन्दा आमा तरुनी

लिपस्टिक पाउडरले

लान्छ क्यारे घुमाउन

झिल्के ड्राइभरले

विसं २०४८ को गीत हो यो । सो समय मेरो मलेखुमा माछा मार्ने बानी थियो । एक दिन चरौदीमा माछा मारेर बेनिघाटमा एक चिनाजनको मानिसको घर छ फर्कंदै थिएँ । केही अगाडि बढेपछि एउटा पन्चेबाजा बजाएको विवाह देखेँ ।

मलाई पनि पन्चेबाजा मनपर्ने भएकाले त्यो विवाहका समूह नजिक पुगेर मोटसाइल रोकेर बसेको थिएँ । त्यतिकैमा एक जन्तीभाइले एक जना तरुनी देखेर मुखबाट शब्द निकाल्यो ‘हेर्न छोरीभन्दा आमा तरुनी भएर आएकी ।’ त्यो शब्द सुन्दा निकै मलाई निकै चाख लाग्यो । के भनेको होला भनेर धेरै बेर सोचेँ । जसले यो शब्द मुखबाट निकालेका थिए ती भाइले मलाई कुमार बस्नेत भनेर चिने । अनि मैले ती भाइलाई ‘छोरीभन्दा आमा तरुनी’ भनेको हो । यसको शब्द कलेक्सन गरेर म कुनै दिन आउँछु भनेर हिँडेँ ।

एक दिन रातको ३ बजे सुतिरहेको समय यो शब्दले झस्कायो । ‘छोरीभन्दा आमा तरुनी’ के कारणले हुन्छन् त भनेर उठेर सोच्न थालेँ । शब्द खोतल्दै गए । शृङ्गारतिर मेरो ध्यान गयो । शृङ्गारका अनेक शब्द  जोड्दै जाँदा गीत बन्यो ।

शुभबहादुर सुनाम दाइले गीत कम्पोज गर्नुभयो । मैले गाए । यो गीत बजारमा आएपछि विरोधमा सुर्खेतमा महिलाको जुलस निस्कियो भनेको पनि सुनेको थिएँ । मैले यो गीत जति ठाउँमा गएर सुनाएँ । ती सबै ठाउँमा केटीहरु नै धेरै नाच्थे ।

ओई नाना, ओई नाना

२०१२/१३ सालतिरको कुरो हो । म भैरव नृत्यदलको सिनियर डान्सर थिएँ । नृत्यको क्रममा देशका धेरै स्थानदेखि आसाम घुमेँ । एक दिन बुबाले पढाइ छोडीछोडी बिग्रिएर नाच्न हिँडिस् भनेर गाली गर्नुभयो । त्यसपछि बुबाको डरले त्यो दिन घर नगएर कोकिल गुरुङ भन्ने एकजना साथी थियो । उसको घर जाने सिलसिलामा रातको ११ बजे ज्ञानेश्वरको ओरालो कोकिल र म झर्दै थियौँ ।

एउटा भर्खर मुद्दा हारेका लप्टन थोत्रो कपडा ओझेर चिसो भुइँमा बसेर फलामको थाल ट्वाङ ट्वाङ बजाएर ओई नाना, ओई नाना भनेर गीत गाइरहेको देखेँ । उनको त्यो अवस्था देख्दा माया लाग्यो । छेवैमा एउटा पसल खोलेको रहेछ । पसलबाट एक कप चिया र बिस्कुट ल्याएर खान दिए । उनको बारेमा सबै जानकारी लिएँ ।

तपाईंले भर्खर गाएको गीत निकै राम्रो लाग्यो, फेरि गाउनुस् भने । उनले आफ्नै सुरले गीत गाए । मैले त्यसको शब्द टिपेँ । त्यहाँबाट कोकिलको घरतिर लाग्यौँ । कोकिल सुत्यो । म भने कलम झिकेर त्यो बुढाले गाएको गीत सम्झिँदै शब्द मिलाउन थालेँ ।

रातभरमा गीत बन्यो । सो समय नाचघरमा महिनाभरि गीत गाएर तीन सय पनि कमाउँथे । नाचघरमा यो गीत मैले गाउँदै थिए । गङ्गा राना भन्ने धेरै सिनियर गायिका दिदी हुनुहुन्थ्यो । उहाँले मरो गीत सुनेर म गुरुङले गाउने गीत त बस्नेत भएर गाउने भन्नुभयो । मैले तत्कालै तपाईं नि गाउने हो भनेर यो गीत बनाएँ ।

यो गीतले सो समय हामीले नाचघर थर्काउने मात्र होइन रेडियो नेपालमा पनि धेरै पटक बज्थ्यो । यही गीतका कारण सीपी लोहनी र माला सिंहको विवाह भयो भनेर पनि सुनियो ।

डल्ली मगरनी हो सुन माया

बोल्न मन लाग्दैन हो

पीर परेसी

०४८ गीततिर रेकर्ड भएको यो गीत मलाई जङ्गबहादुर गन्धर्वले सिकाएको यो दाङको गीत हो । यो गीत दाङका मगर्नी डल्ली भएर बनेको भने होइन । त्यति बेला हाम्रो समाजमा डल्ली, पुड्की, भुन्टी भनेर माया गरेर बोलाउने चलन थियो । त्यही माया गरेर मगर थरकी एक महिलालाई डल्ली भनेर फकाएर बोलाएको गीत हो यो ।

गीतको कम्पोज शुभबहादुर सुनामले नै गर्नुभएको हो । यो गीत गाउनुभन्दा अगाडि मैले १० जनाभन्दा बढी मगर व्यक्तिसँग मिटिङ गरेर गीत गाउँदा राम्रो हुन्छ भनेर गाएको थिएँ । गीत आएपछि यसमा राजनीतिकरण भयो । विवादसमेत निकालियो । त्यो त्यसै हरायो पनि ।

लब्सीको गेडा चुसेर

ज्यामिर निबुवा साँधेर

चट्ट चट्टी जिब्रो पड्काउँदै

२०२२ तिर होला । म लाङटाङबाट हिँडेर काठमाडौँतिर आउँदै थिएँ, बाटोमा रात परेकाले एउटा गाउँको गाईगोठमा सुतेको थिएँ । गाईले लाती हल्लाएर पत्कर बजाएका कारणले निदाउन सकेको थिइनँ । सोही समय ‘लब्सीको गेडा चुसेर’ गीत मेरो कानमा पर्यो ।

यो गीत त्यही गाउँका एक भाइले गाएका थिए । त्यो शब्द छिटोछिटो गरेर टिपे । गीतको कन्सेफ्ट के भनेर बुझेँ । गीत गाउने भाइले मलाई गीतको कन्सेफ्ट बच्चा जन्माउने बेला महिलाले लब्सी, ज्यामिर लगायत अमिलो साँधेर खाने प्रसङ्ग सम्झाएर बुझाए । मैले पनि यही कन्सेफमा गीत बनाएँ । स्वर्गीय राजा वीरेन्द्र शाहको सो समय भर्खर विवाह भएको थियो । उहाँको अगाडि मलाई यो गीत गाउन लगाइयो । मैले गाएँ । गीत सुनेर वीरेन्द्रका बुढाबुढी लाजले भुतुक्कै भए ।

यो ल्याउने र उल्याउने थाहा छैन

एउटा स्वास्नी नल्याई नि भा छैन

सल्लाई हो लाने कल्लाई हो

२०२४ तिर रेकर्ड भएको हो यो गीत । म त्यतिबेला धेरै चर्चित थिए । सो समय धादिङका एक माननीय हरिबहादुर गुरुङ भन्ने थिए । उक्त समय चुनाव प्रचारको बेला पनि थियो । म कर्मचारी सञ्चय कोषको हाकिम थिएँ ।

एक दिन कमलपोखरीमा डा. भेषबहादुर थापासँग भेट भयो । उहाँले म दमौली जान लागेको त पनि आइज भन्नुभयो । सो समय उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो ।

अर्थमन्त्रीले भनेपछि जानै पर्यो । चुनाव प्रचारका लागि उहाँसँगै दमौली गएँ । सो समय बसिबियाँलोमै सांसद हरिबहादुरले ‘यो ल्याउने र ऊ ल्याउने थाहा छैन, एउटा स्वास्नी नल्याई नि भा छैन’ भनेर गीत सुनाए । मैले यो गीत पूरा कण्ठ गरेँ । दमौलीमा चुनाव प्रचारको समय मैले धेरै गीत गाएँ ।

काठमाडौँ फर्किएपछि यो गीत मैले मिस्टर थापाको नाममा राखेको थिएँ । एक दिन एक भाइले यो गीत गाउँछु । मलाई दिनुस् दाइभन्नुभयो । सो समय रामथापा बिमारी थिए । मैले त्यो गीत ती भाइलाई दिएर ऊबाट लिएको पैसाले रामथापाको उपचार गरेँ ।

लैबरी लै, लैबरी लै

गाउँका केटी सबैलाई

शनिश्चरको दशाले समाउँदा

हेलामा गर्छन् हामीलाई

हाम्रो देश सानो छ । तर कलासंस्कृतिले धनी छ । एउटै गीत पनि देशको ठाउँअनुसार फरक भेटिन्छ । म चाहिँ गाउँको गीत सिनियर व्यक्तिसँग टिपेर गाउँथे । यो हाम्रो बाजेको पालको गीत हो । यो भाकामा मैले पहिलो गीत दोलखामा सुनेको थिएँ । त्यसपछि सिन्धुपाल्चोकमा पनि सुने ।

एउटै गीत केही ठाउँमा सुनेपछि मेरो आँखा पर्यो । मैले दुवै ठाउँमा घुमेर गीत तयार पारेँ । यो गीतमा अर्ती र सुझाव पनि छ ।  छोरीबेटी बिगार्यो भनेर दोष लगाउनुभन्दा राम्रोसँग छोरी सम्हालेर राख भनेर भनिएको छ । २०२३ सालमा रेकर्ड भएको यो गीत बुझ्यो भने पूरै शिक्षामूलक गीत हो ।

तिम्रो बाउलाई सलाम छ

आमालाई नमस्ते

अरूलाई सोध्याछ भन्दिनु

फुर्सदमा म धादिङको गल्छी घुम्न गहिरहन्थेँ । एक पटक घुम्न जाँदा यो गीत मादल बझाउँदै बच्चादेखि बुढासम्मले ठाउँठाउँमा गाएको सुनेको थिएँ । गीत सुन्दा पहिला अचम्म लाग्यो । गीतले के भनेको होला भनेर सोच्दै जाँदा ‘तिम्रो छोरी तरुनी छ । म पनि लायक छु । कान्छो ज्वाइँ हुन्छु’ भनेको बुझियो ।

भाका राम्रा भएकाले मन पर्यो । अनि अन्य शब्द खोज्न थालेँ । गीत पूरै तयार भयो । यो गीतको शब्द राम्रा तथा अनौठो किसिमले मिलेका छन् । यो गाउँले गोठालाको लोक रहेछ । यो गीत जब मैले बाहिर ल्याए । छिट्टै हिट भयो । कतिले यो गीत गाएर तरुनी फकाएको पनि सुनियो ।

हेर्दा राम्रो माछापुच्छ्रे

मारी राम्रो माछा

बैगुनीलाई गुनले मार्छु

खोजी ल्याइदेऊ कहाँ छ

पोखरमा चन्द्रसिंह घले भन्ने एक गाउँपञ्चायतको अध्यक्ष थिए । उनी मिनभवनको एक कार्यक्रममा आएका थिए । सो कार्यक्रममा उनले यो गीत गाए । के अचम्मको गीत गाएको होला भन्ने लाग्यो । मैले उनलाई सोधेँ गजबको गीत रहेछ । कहाँबाट बनाउनुभयो भनेर सोधेँ । यो पोखराको गीत हो भनेर उनले त्यति मात्रै भने ।

त्यसपछि २०१६ सालमा जापानबाट एनएचके टेलिभिजनको एक टोली नेपालको कलासंस्कृति अध्ययन गर्न भनेर आएका थिए । मलाई उनीहरुसँग पोखरा जाने अवसर मिल्यो । सो समय पोखराका धेरै गाइने म चिन्दथेँ । उनीहरुलाई जापानबाट केही व्यक्ति नेपाली संस्कृति खोज्न आएका छन् । तिमीहरुले सारङ्गी बजाएर केही गीत गाओ न । पैसा पनि दिन्छन् भनेर बोलाएँ ।

यो समय बुद्धि परियारले यो गीत गाएका थिए । सोही गीत मैले पनि गाएँ । यो गीतमा एउटा अनमोल कुरा छ ।

त्यो कसैले पनि बुझेका छैनन् र गाउन पनि सक्दैनन् । त्यो के हो भने गीतको बीच बीचमा हिच्की छ । म भन्छु नेपालमा बनेको यो अहिलेसम्मकै गाह्रो गीत । यो गीत गाउँदा पूरै आन्द्रा बाहिर निस्किएला जस्तो हुन्छ । यो गीत जापानीजले जापानामा पनि बनाएको रहेछन् । यो गीत धेरै ठाउँमाबाट बन्यो । धेरै बिक्यो । तर मैले ४ पैसा पाइनँ ।

सुर्खेतमा सालिना बुलबुले ताल

मन तरुनो सालिना ज्यान बुढो यो साल

०३१/३२ को कुरो हो । तत्कालीन राजा वीरेन्द्र पहिलो पटक सुर्खेत गएका थिए । सो समय नेपाली कलाकार पनि लगिएको थियो । म गणेश रसिक, प्रेमदेव गिरीलगायत धेरै स्रष्टा गएका थियौँ । सो समय सुर्खेतमा पानी थिएन ।

पानी नभएपछि प्रेमदेव गिरीले ‘सुर्खेतमा सालिन बुलबुले ताल, मन तरुनो सालिना ज्यान बुढ्यो यो साल’ भनेर गीत सिकाए । यो गीत मलाई राम्रो लाग्यो । केही उनीबाट सिकेँ । केही शब्द आफैले मिलाएँ । गीत पूरै तयार पारेर काठमाडौँ फर्किएपछि गीत रेकर्ड गराएँ । यो गीत पनि छिट्टै हिट भयो । त्यो वर्षको मेला महोत्सव लगायत सबै कार्यक्रममा मैले यो गीत घन्काएँ ।

कलियुगको बेलामा जोसमा हुन्न होस

उनकै छोरी तरुनी हामीलाई केको दोष

एक पटक गुठी संस्थानमा म तिरो तिर्न गएको थिएँ । सो समय मलाई सबैले चिन्दथे । त्यहाँका एक कर्मचारीले कुमारदाइ गुठीका पैसा बुझाउने केही समयपछि रैकर हुन्छ । त्यो समय सस्तो पर्न आउँछ भने । म त्यसै फर्किएर लगेको पैसा राख्न श्रीमतीलाई दिएँ ।

गुठीमा रैकर खुल्यो । राख्न दिएको पैसा श्रीमतीले मासिछिन् । तत्काल पैसा पनि भएन । बिजी पनि भएकाले होला समय तिरो तिर्न पाइन्छ । पछि पैसा तिर्छु भनेर जाँदा पहिलेको भन्दा धेरै नसोचेको तिर्नुपर्ने देखियो ।

 त्यहाँका एक कर्मचारीले -हामीले त पहिले नै भनेका थियौँ नि ‘उनकै छोरी, तरुनी हामीलाई के कोे दोष’ भनेर भने । यो सुन्दा मलाई अचम्म लाग्यो । मैले फेरि सोधेँ । उनले केही भनेनन् ।

समयमा तिरेको भए ४-५ हजारले हुने रैकर मैले ६४ लाख तिर्नुपर्यो । त्यहीँबाट रन्थनिएर म दिक्क मान्दै घरमा फर्किएँ । घर फर्किएपछि ती व्यक्तिले भनेको शब्द मनमा खेल्न थाल्यो । शब्द सोच्दै र खेलाउँदै गर्दा गीतको एक लाइन ‘कलियुगको बेलामा जोसमा हुन्न होस, उनकै छोरी तरुनी हामीलाई केको दोष’ भनेर गीतको एक लाइन बनाएँ । यो शब्द साथीभाइसँगको भेटघाटमा सुनाउँदै जाँदा थपिँदै भयो । गीत पूरा भयो । यो गीत जब रेकर्ड भयो । हङ्गामा भयो । धेरै चल्यो । अहिलेसम्म पनि यो गीत हिट छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...