बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु

आइतबार, १५ मङ्सिर २०७६, १४ : १७
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । सुनसरी, सिरहा, अर्घाखाँची, चितवन, उदयपुर र पाँचथरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका-७ हरीपुरचोकमा को.१ च ९३६४ नम्बरको एम्बुलेन्स र ना. २ ख ९०८२ नम्बरको ट्रक शनिबार बिहान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्स चालक उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने २८  वर्षीय राजेश कुमार दनुवारसहित  ६ जनाको घटनास्थमै मृत्यु भएको  छ । ट्रक र एम्बुलेन्स घटनास्थलमा रहेको तथा  फरार रहेका ट्रक चालकको खोजी कार्य भईरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-९ मुसहर्नियामा को. १० प ५४१, ज. ८ प ६९१६, स. १ प ३९७० र स. ४ प ४४७ नम्बरको समेत ४ वटा मोटरसाइकल शनिबार साँझ एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा स.१ प ३९७० नम्बरको मोटरसाइकल चालक गोलबजार नगरपालिका-८ बस्ने ३४ वर्षीय बिजेन्द्र साफीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका साफीलाई उपचारको लागि आरके मेडिसिटी अस्पताल मुसहर्निया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको छ ।  ४ वटै मोटरसाइकलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ रतलेमा लु.३ त १८१८ नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा शनिबार दिउँसो ठक्कर दिँदा भूमिकास्थान नगरपालिका जगता घर भई  हाल सन्धिखर्क डेरा गरी बस्ने गिता थापाको ७ वर्षीय छोरा गोकुल थापाको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका गोकुललाई जिल्ला अस्पताल सन्धिखर्क हुँदै  थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठइएकोमा उपचारको क्रममा  मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका-११ स्थित सडकमा ना.४ ख ४३२७ नम्बरको ट्रकले शनिबार राति ना. १९ प ४६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ शनिबारेमा को.११ प ६९६२ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ नमूनाचोक बस्ने ३५ वर्षीय दिपेन राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । 

पाँचथरको फिदिम नगरपालिका-१४ भालुखोपमा मे.१ त ५७८१ नम्बरको ट्याक्टर शनिबार राति अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-१४ लुङरुपा बस्ने १८ वर्षीय अविनाश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप