केन्द्रीय संस्करण
नीतिकथा

दुई भिक्षुको तीर्थयात्रा

person explore access_timeमंसिर १५, २०७६ chat_bubble_outline0

 

सहान प्रान्तको अमेइपहाडमा थुप्रै बौद्धबिहार थिए । ती बिहारमा थुप्रै बौद्धभिक्षुहरु बस्थे । ठूला बिहारमा बस्ने भिक्षु धनी थिए । साना बिहारमा गरिब थिए ।

एकदिन सानो बिहारमा बस्ने एकजना भिक्षुले दक्षिण चीनसागरबीच एउटा द्वीपमा रहेको सुन्दर पर्वतमालाको यात्रामा जाने निधो गर्‍यो । फुथ्वो नामको यो पर्वतमाला पुरानो चीनमा निकै प्रसिद्ध थियो । प्रसिद्ध पर्वतमालाको यात्रामा निस्कनुअघि सानो बिहारको भिक्षु बिदाइको नमस्कार गर्न ठूलो बिहारको भिक्षुकहाँ पुग्यो ।

फुथ्वो पर्वत र अमेइ पर्वतका बीच लगभग डेढ हजार किलोमिटरको दूरी थियो । थुप्रै –थुप्रै पहाड र नदीहरु पार गरेर मात्र त्यहाँ पुग्न सकिन्थ्यो । चीनसागरको एउटा ठूलो भङ्गालो पनि पार गर्नुपर्थ्यो । गरिब भिक्षुको यात्राको योजना सुनेर धनी भिक्षु हैरान भयो र सोध्यो, “तिमी केको आडभरोसामा यति टाढाको यात्रा शुरु गर्दैछौ ?”

गरिब भिक्षुले भन्यो, “मेरा लागि पानीको बोत्तल एउटा र एउटा कमण्डलु पर्याप्त छ । तिर्खा लाग्यो भने बोत्तलबाट पानी पिउँछु र भोक लाग्यो भने कमण्डलुमा भिक्षा माग्छु, खान्छु ।”

धनी भिक्षुले भन्यो, “म यसै यात्राको लागि वर्षौदेखि खर्चपर्च र सरसामान जुटाउँदै आएको छु । जति जुटाउँदा पनि एउटा न एउटा कुराको नपुग भइरहेको अवस्था छ । अहिलेसम्म व्यवस्था पूरा गरेर यात्रामा निस्कन सकेको छैन । यत्रो ठूलो यात्रालाई तिमी यति मामुली र सजिलो ठानी रहेका छौ

हैन ? गजब छ बा !!”

एक वर्षपछि गरिब भिक्षु सुन्दर पर्वतमालाको तीर्थयात्रा सकेर अमेइ पहाड फक्र्यो र खबर दिन सरासर धनी भिक्षुको विहारमा पुग्यो ।

ऊ फर्केर आएको देखेर कुचुक्क अनुहार पार्दै धनी भिक्षुले भन्यो, “ए, तिमी त फर्केर पनि आइसक्यौ ? म त अझै तयारीकै क्रममा छु ल !”

“तपार्ईंको तयारी गजब छ कुनै दिन त यात्रामा पनि निस्कनु होला कि ?”  गरिब भिक्षुले विनम्र आवाजमा भन्यो । यो सुनेर धनी भिक्षुको अनुहार लालीगुराँसको फूलजस्तै रातो भयो ।

यो रातो डाहा, इर्ष्या, रिस र लाजमध्ये जे पनि हुन सक्छ । आफू समयमा काम पूरा गर्न नसक्नेहरु अरुले गरेकामा डाहा गर्छन् । यो पुरानै चलन हो ।

Title photo master source: https://images.unsplash.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...