मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विद्या भट्टराई : जितसँगै चुनौतीका चाङ !

सोमबार, १६ मङ्सिर २०७६, १२ : ३९
सोमबार, १६ मङ्सिर २०७६

‘ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी पनि पर्नुभयो रे !’ पोखरामा एकाएक हल्ला फिजियो, ‘जिवितै हुने सम्भावना त एकदमै कम छ ।’ 

गतवर्ष फाुगन १५ को कुरा थियो त्यो । घाम लागेको थिएन त्यो दिन । बाक्लो हुस्सु लागिरहेको थियो । बिहानदेखि सिममिम पानी पनि परिरहेको थियो । 

अनलाइन, टेलिभिजन, फेसबुकको भित्ता जताततै रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबरले भरिएका थिए । अनेक अड्कलवाजीपछि सिङ्गो देशलाई नै स्तब्ध पार्नेगरी खबर आयो, ‘ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भयो !’ दुर्घटनामा अधिकारीसँगै सात जनाको ज्यान गएको थियो । हेलिकप्टर दुर्घटनामा रवीन्द्र दिवंगत भए । 

त्यतिबेलाको कुरा हो, यस संवादतादासहितका अन्य सञ्चारकर्मी क्यामेरा बोकेर पोखरा महानगरपालिका–५ मालेपाटनमा रहेको उनको घरतर्फ लागियो । जहाँ रवीन्द्रका आमा, बुबा बस्नुहुन्थ्यो । हामी पुग्नु अघि नै भिड लागिसकेको थियो त्यहाँ । 

माहोल निकै भयावह लाग्थ्यो । रवीन्द्रको सम्झनामा सबैका आँखा रसाइरहेका थिए । सानो आवाजमा कसैले भनिरहेथ्यो, ‘कस्केली राजनीतिको सूर्य अस्तायो ।’ जुन अझै पनि मेरो स्मृतिमा छ । 

दुर्घटनाको पर्सिपल्ट, फागुन १७ मा उनको शव गृहनगर ल्याइयो । अन्त्येष्टि गरिनु अघि अधिकारीलाई श्रद्धाञ्जलि दिनका लागि शव प्रदर्शनी केन्द्रमा राखिएको थियो । रवीन्द्रलाई श्रद्धाञ्जलि दिन मानवसागर नै ओर्लिएको थियो प्रदर्शनी केन्द्रमा । 

छिमेकी जिल्लाबाट समेत रवीन्द्रलाई श्रद्धाञ्जलि दिन आएका थिए शुभेच्छुकहरु । यसरी, विद्यार्थी राजनीतिबाट उदाएका नेता रवीन्द्र पर्यटनमन्त्री हुँदै हेलिकप्टर दुर्घटनामा अस्ताएका थिए । रवीन्द्रलाई अन्त्येष्टिका लागि घाट पु-याउँदा पनि भिड कमी भएको थिएन । 
                       ०००
हो, त्यही श्रद्धाञ्जलि सभामा यस संवाददाताले विद्यालाई पहिलो पटक देखेको थियो । जो आइतबार मात्र कास्की–२ को उपचुनावबाट विजयी घोेषित भइन् । 

त्यसबेलादेखि नै लागेको थियो– विद्या ‘अ पावर वुमन’ । 

सबैका आँखा रसाइरहँदा विद्या आफूलाई सम्हालिरहेकी थिइन् । श्रीमानको राजनीतिको गोरेटो चकल्याउन घरव्यवहारमा लागेकी विद्या पुनः राजनीतिमा पुनरागमन गरेकी छिन् । 
त्यसपछिका केही कार्यक्रममा विद्यालाई सुन्ने अवसर मिल्यो । 

नेकपाले विद्यालाई उम्मेद्वारको रुपमा टुंगो लगाइसकेपछि फोनमा सम्वाद भएको थियो विद्यासँग । आफ्नो परिचय दिई सकेपछि अन्तर्वार्ताका लागि समय मागेँ । 

त्यतिबेला विद्या काठमाडौंमा थिइन् । काठमाडौंबाट फर्किसकेपछि अन्तर्वार्ताका लागि समय दिन राजी भइन् । पोखरा फर्किसकेपछि पहिलो फोनकल गर्ने बाचासमेत गरेकी थिइन् । 
नभन्दै, पोखरा आएर उनले फोन गरिन् । अन्तर्वार्ताका लागि भेन्यू तय भयो । अन्तर्वार्ता लिइयो ।

उनले चुनावी अभियान योजनाबद्ध थियो । उनै विद्याले आइतबार बेलुकी कास्की–२ बाट विजय हासिल बनिन् । ८ हजार ५ सय ४६ मतान्तरसहित उनले चुनाव जितिन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो जितलाई रवीन्द्रको सम्मानको रुपमा लिइन् विद्याले । नेकपाले आइतबार बेलुकी नै विजय ¥याली पनि निकाल्यो । कास्की–२ विजय उत्सव मनाउन मस्त थियो ।

विद्याले २४ हजार ३ सय ९४ मत ल्याएर चुनाव जितिन् । उनका प्रतिस्पर्धी खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएर दोस्रो बने । यसअघि, काँग्रेसका खेमराज पनि बलिया सुनिन्थे । २५ सय÷३ हजार मतान्तरको जित आँकलन गरिएको थियो कास्की २ मा । तर, ८ हजार ५ सय ४५ बढी मतान्तरले विद्याले चुनाव जितिन् ।

चुनाव अघि विद्या भन्थिन्, ‘रवीन्द्रको सपना पुरा गर्न चुनावी प्रतिस्पर्धामा छुँ ।’ नभन्दै, कास्की–२ ले उनलाई रवीन्द्रको ठाउँमा उभ्याइ छाड्यो । यसबीचमा केही आलोचना पनि भए । वशंवादको राजनीतिदेखि वाइडबडी भ्रष्टाचार र पतिको काजकिरिया नगरेर संस्कृति बिगारेकोसम्मका आलोचना भए । तर, उनले प्रतिवाद गरिनन् । 

समाजशास्त्र पढेकी विद्या प्राध्यापन पेशामा थिइन् । कक्षा ७ देखि नै राजनीतिमा सक्रिय विद्या अखिल नेपाल स्वत्रन्त्र विद्यार्थी युनियन हुँदै अखिल नेपाल महिला संघको नेतृ बनिन् । विद्या ०५५ मा विवाह गरेपछि घरव्यवहारमा लागेकी हुन् । विद्या पुन: २० वर्षपछि राजनीतिमा फर्किएकी छिन् । 

विद्या भन्छिन्, ‘परिस्थितिले मलाई राजनीतिमा ल्याएर छाड्यो ।’ परिस्थितिले राजनीतिमा फर्किएकी विद्याको अघि कास्की–२ को मतको सदुपयोग गर्ने जिम्मेवारी त छँदैछ । उनका पति रवीन्द्रमाथि लागेको अभियोगको पनि चिरफार गर्न बाँकी नै छ । 

अन्तर्वार्तामा विद्यालाई मैले सोधेको पनि थिएँ, ‘रवीन्द्र अधिकारीमाथि लागेको अभियोग के हो ? तपाईंले उहाँमाथिको आरोप मेटाउन प्रयास गर्नुहुन्छ ?’ विद्याले ती सबै अभियोग निराधार साबित गर्न आफ्नो तर्पmबाट पहल गर्ने बताएकी थिइन् । 

अब उनी त्यो भ्रमलाई चिर्न सक्ने ठाउँमा पुगेकी छन् । जनताका भ्रम चिर्नु उनको कर्तव्य पनि हो । 

ती सबै अभियोगलाई चिर्नुस् । तपाईंलाई कास्की–२ लेमात्र होइन, इतिहासले सम्झने छ । जितसँगै तपाईंको अघि थुप्रै चुनौतीका चाङ पनि छन् । 

माननीय विद्या भट्टरार्ई, जितको शुभकामना ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप