शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, १३ : १०
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । काठमाडौं, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

काठमाडौंको महानगरपालिका-१४ कलंकी मकालु पम्प नजिक हाल नम्बर नखुलेको टिपरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

भक्तपुरको भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित सडकमा बा.३ ख २५३१ नमबरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री उदयपुर हडिया-५ घर भएका २७ वर्षीय समिर विकको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । दुर्घटना पश्चात फरार भएको टिपर र चालकलाई काठमाडौं तिनकुनेबाट प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।  

यसैगरी चितवनको खैरहनी नगरपालिका-१० बडागाउँस्थित भित्री सडकमा ना.५८ प ९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मदरा चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका-२९ खहरे पुल नजिक मुग्लिङ-नारायणगढ सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री बर्दिया बाँसगढी नगरपालिका-५ मगरागढी घर भएका ३३ वर्षीय सन्तराम थारुको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको सुवर्ण गाउँपालिका-८ स्थित हर्दिया चोकमा बिआर ०५ क्यू ९११३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २० वर्षीय बृज प्रशाद यादवलाई उपचारको लागि हेल्थ केयर वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

यसैगरी रुपन्देहीको बुटबल उपमहानगरपालिका-१२ कलुवास्थित पूर्व-पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सैनामैना नगरपालिका बस्ने २९ वर्षीय दिपक पन्थ र ३१ वर्षीय नविन कडेंलको घटनास्थलमै मृत्यु भएको छ ।  

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप