शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

सोमबार, १६ मङ्सिर २०७६, १५ : ३६
सोमबार, १६ मङ्सिर २०७६

कास्की । पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०।१ ओभरमा १६ रनमै समेटिएको थियो । सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोड्नुभयो । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त तीन रन दिएको थियो ।

जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फाल्नुभएकी माल्दिभ्सका बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन ।

दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिनुभएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भइन् । करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन् । उनले उनले एक मेडन राख्दै चार रन खर्चिएकी थिइन् । 

जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुआत गर्न सकेकामा खुशी लागेको सुनाइन् । यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताइन् । 

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखिन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरुले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताइन् । प्रतियोगिताअन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

एकै खेलमा चार कीर्तिमान

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिनुभयो । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गरे । 

त्यस्तै माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जीत हासिल गर्नु पनि अर्को कीर्तिमान भएको उनको दाबी छ । 

यसअघि नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दुवै टोलीका खेलाडीसँग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुलगायतले क्रिकेटका सम्बन्धमा बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप