शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : उठेर बस्न र कुरा गर्न सक्ने भए प्रधानमन्त्री ओली, उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो

सोमबार, १६ मङ्सिर २०७६, १९ : ११
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न र कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षमा उपचाररत प्रधानमन्त्री ओलीले सन्देशमा आफूले आइतबार १३ औँ सागको उद्घाटन कार्यक्रम समेत हेरेको बताएका छन् । 
प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरुले गत शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको बताएका थिए । त्यसैगरी डाक्टरहरुले प्रधानमन्त्रीको आत्मबल देखेर हामी आफै चकित भएको समेत बताएका थिए । 

स्वास्थ्यमा आएको सुधारबारे जानकारी दिन प्रधानमन्त्री आफैले सोमबार भिडियो सन्देश जारी गरेका हुन् । 

यता प्रधानमन्त्रीको अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी साता गर्ने भनेको चीन भ्रमण तत्काललाई स्थगित गरेका छन् । 

यसअघि नेकपाका झण्डै ५ दर्जन नेतासहित प्रचण्ड चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गरेका हुन् । 

उपनिर्वाचन नतिजा

शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् । नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ । 

प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी हुनुभयो । भने प्रदेश तर्फभने काँग्रेस र नेकपा उम्मेदवारले १–१ स्थान विजय हासिल गरे । यस्तै एक प्रदेशसभामा नेकपा समर्थित जनमार्चा उम्मेदवारले विजय हासिल गरे । 

भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।

यस्तै धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा उम्मेदवार विजयी भएको आयोगले जनाएको छ । 

भिडियोमा समाचार हेर्नुहोस्

उपनिर्वाचनपछि काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ०७४ को तुलनामा काँग्रेस र नेकपाका बीचको मतान्तर घटेको निष्कर्ष निकालेको छ । सोमबार उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै काँग्रेसले सो निष्कर्ष निकालेको हो ।  
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमार्फत प्राप्त जनादेशले एकातर्फ काँग्रेसको सांगठनिक आत्मबलमा अभिबृद्धि गराएको र अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदनाको झै ‘बाहिर गति र भित्र आत्मविश्वास बढाउन’ खुल्ला सन्देश पार्टीलाई प्राप्त भएको जनाएका छन् । 

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर काँग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएको निष्कर्ष निकालिएको छ ।


राज्य व्यवस्था समिति

सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले निजामति सेवा ऐनमा विचार नपु¥याए अवको १८ वर्षपछि कर्मचारीलाई पेन्सन दिन समेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताएका छन् । 

अहिलेको अवस्था, चुनौति र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन नल्याए सरकारले पेन्सन दिन पनि विदेशी अनुदान माग्नुपर्ने दिन आउने उनले बताए ।  राज्य व्यवस्था समितिमा मन्त्री त्रिपाठीले कर्मचारीको समायोजनामा देखिएका त्रुटिलाई समेत सच्याउनुपर्ने बताए । 

सीमा बिबाद 

बिबादित बनेको नेपाल भारत सीमा बारे छलफल गर्न कुटनैतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुले सुझाव दिएका छन् । 

काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानले गरेको छलफल कार्यक्रममा परराष्ट्रविदहरुले सीमा विवाद सुल्झाउन चरणबद्ध रुपमा कुटनैतिक तवरमा बार्ता गर्न सुझाव दिएका हुन् । छलफलमा परराष्ट्र मामिलाका प्राध्यापक डा खड्ग केसी र पुर्व सचिव ज्ञान चन्द्र आचार्यले अहिले वार्ता गर्ने उपयुक्त समय भएकोले नेपालले सचिव स्तरमा बार्ता थाल्न पहल गर्नु पर्ने बताए । 

यस्तै पुर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले राजनैतिक स्तरमा संवादको थालनी उच्चस्तरमा गरिए पनि औपचारिक रुपमा बार्ताको थालनी सचिव स्तरमा नै गर्न आग्रह  गरे । 

पुर्वसचिव मधुरमण आचार्यले भने सीमा सम्बन्धि बिबाद राजनैतिक रुपमा छलफल गरेर सहमति गरे पछि मात्र प्राविधिक र प्रसासनिक रुपमा बार्ता गर्नुपर्ने बताए । 

कुखुरा किसान

कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । 

नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार ब्यवस्थापन संघले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा किसानहरुले बजारमा मूल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् । नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको भाउ बढेको र तयारी कुखुराको भाउ घटेको गुनासो गरे । 

सागमा नेपाल

नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले १५ वटा स्वर्ण पदक जितेको छ । सोमबार साँझसम्म भएका खेलमा नेपालले १५ स्वर्ण, दुई रजत र ६ कास्य सहित जम्मा २५ पदक आफ्नो पोल्टामा पारिसकेको छ ।

त्यसैगरी, भारतले १ स्वर्ण, ४ रजत र ५ कास्य सहित १० पदक जितेको छ । पाकिस्तानले १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेको छ । श्रीलंकाले भने १ रतज र ४ कास्य सहित ५ पदक जितेको छ । बंगलादेशले ४ कास्य पदक जितेको छ । भुटान र माल्दिभ्सले भने अहिले सम्म एक पदक पनि जित्न सकेको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप