बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनुदान व्यवस्थित गर्न प्रदेशमा नयाँ नीति स्वीकृत

सोमबार, १६ मङ्सिर २०७६, २१ : २२
सोमबार, १६ मङ्सिर २०७६

बुटवल । प्रदेश नं ५ को सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नीति ल्याएको छ । सरकारले वितरण गर्ने अनुदान कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ ल्याइएको हो ।

विभिन्न मन्त्रालयहरुले वितरण गरेको अनुदान व्यवस्थित नभएको गुनासो आएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ स्वीकृत गरेको हो । प्रदेश सरकारले वितरण गर्ने अनुदान व्यवस्थित र पारदर्शी बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

सरकारले वितरण गर्ने अनुदानको ठूलो हिस्सा दुरुपयोग र अनियमितता भएको पाइएपछि अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन तयार गरिएको उनको भनाइ छ । अनुदान दिँदासमेत मन्त्रालयका कर्मचारीले कमिसन माग गरेको भेटिएपछि अनुदान वितरणलाई पारदर्शी बनाउन मार्गदर्शन ल्याउनुपरेको सरकारका प्रवक्ता चौधरीले जानकारी गराए । 

प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाँडेको कृषि अनुदान दुरुपयोग भएको समाचार बाहिर आएको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रसारण नियमावली २०७६ स्वीकृत गरेको छ । 

यस्तै आज बसेको बैठकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्ट्रेमदुरा कम्युनिटी प्रान्तको क्यासेरेस सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापनाका लागि नेपाल सरकारसँग सिफारिस पठाउने निर्णय गरेको छ । 

सरकारले बुटवल बार एसोसिएसनको आयोजनामा बुटवलमा हुने देशभरका वकिलहरुको राष्ट्रिय बैठकका लागि रु पाँच लाख अनुदान दिने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप