शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोराछोरीले नेपाल फर्काएका नकुलको ‘हाई प्रोफाइल’ व्यवसाय

मङ्गलबार, १७ मङ्सिर २०७६, १५ : ०१
मङ्गलबार, १७ मङ्सिर २०७६

नकुल शेरचन, अध्यक्ष तथा सञ्चालक एलिस रेस्टुरेन्ट

काठमाडौँ गैरीधारास्थित नकुल शेरचनको कार्यालय पुग्दा उनी भन्दै थिए– अलि इन्फर्मल छ मेरो अफिस ।

हुन पनि एलिस रिसेप्सन्स्मा रहेको उनको कार्यालय अलि फरक नै थियो । उनको कुर्सीको ठीकमाथि दायाँतर्फ सानो मन्दिर राखिएको थियो । मन्दिरमा कुनै भगवानको मूर्ति वा फोटो होइन, नकुलका हजुरबुबा, हजुरआमा अनि आमा–बुबाको तस्बिर थियो । सँगै थियो फूलका थुँगा अनि जल भरिएको अङ्खोरा ।

यो देखेर मैले सोधेँ– धेरैले प्रायः आफ्नो कार्यकक्षमा अझ आफ्नो टेबलमा भगवानको मूर्ति राख्ने गरेको देखेको छु, यहाँ अलि फरक लाग्यो । तपाईंले त पितृको फोटो राखेको देखेँ ।

उनी मुस्कुराउँदै भन्दै थिए– मेरो हजुरबुबा, हजुरआमा अनि मेरा आमाबाउ भगवानको प्रतिमूर्ति हुनुहुन्छ ।

बुबालाई उनी ‘बाउ’ भनेर बोलाउँदा रहेछन् । आफ्ना भगवानका बारेमा भनिरहँदा उनको आँखामा भिन्न चमक देखिन्थ्यो । ‘मैले मेरो बाउको दुःख देखेको छु नि । अनि मेरी आमाको हात खुट्टा फाटेको देखेको छु । अब अन्त भगवान खोज्दै कता जाऊँ ?’ आफूले पुज्ने भगवानका बारेमा खुलाउँदै उनले भने । ‘सृष्टिकर्ता हाम्रा पितृ हुन्, त्यसैले म उहाँहरुको पूजा गर्छु ।’

रेस्टुरेन्ट तथा ब्याङ्केट व्यवसायमा जम्दै गरेका युवा व्यवसायी हुन् नकुल शेरचन । उनी बिहान कार्यालय पुग्नासाथ पितृका लागि आङ्खोरामा राखेको जल फेर्छन्, फूल चढाउँछन्, धुप बाल्छन् अनि सुरुवात हुन्छ दिनको कर्म ।

सायद बाउआमा जिउँदा हुँदा हुन् त छोराको रजगज देखेर निकै खुसी हुन्थे । छोराको पौरखमा छाती फुलाएर बाउले भन्थे होलान्– धनीप्रसाद शेरचनको छोरो पो त !

१९ वर्षअघि नकुलका बुबा धनीप्रसाद शेरचनको निधन भयो । आमाले भने छोराको पौरख केही नियाल्ने मौका पाइन् ।

गत वर्ष मात्रै आमा गुमाएका नकुललाई आमा बाउको आशीर्वादभन्दा ठूलो दक्षिणा केही पनि लाग्दैन । सायद त्यही आशीर्वाद आज उनको सफलताको कसी बनेको छ, जसलाई कहाँसम्म तन्काउनेबारे नकुल खाका कोर्दै छन् ।

‘पितृ देवो भव !’ लाई जीवनको मन्त्र बनाएका नकुलको जन्म बुबा धनीप्रसाद शेरचन र आमा जलकुमारी शेरचनको कोखबाट बागलुङको बुर्तिबाङमा भएको थियो ।

एलिस रेस्टुरेन्ट तथा एलिस रिसेप्सन्सका सञ्चालक तथा अध्यक्ष नकुलको एसएलसीसम्मको शिक्षा बुर्तिबाङमै भयो । एसएलसीपछि नकुलले २०५२ मा काठमाडौँको पिपुल्स क्याम्पसबाट आईकम गरे । आईकम सकेलगत्तै जागिरको खोजीमा १९ वर्षको उमेरमै उनी जापान हानिए । दाजुु–भाउजू जापानमै भएकाले उनलाई जापान जाने बाटो खुलेको थियो ।

नेपालमा जागिरको खोजीमा रहेका नकुलले जापानमा राम्रो कमाइ हुने थाहा पाएर उतै जाने निर्णय गरेका थिए । त्यो बेला लगभग एक लाख बराबरको रकम बचत हुने भएपछि उनी जापानतिर लागेको बताउँछन् । १४ वर्षको जापान बसाइलाई टुङ्ग्याउँदै नकुल सपरिवार सात वर्ष अगाडि नेपाल फर्किए ।

व्यावसायिक पारिवारिक माहौल

बुर्तिबाङस्थित घरबाट एक दिन हिँडेपछि बल्ल गाडी देख्न पाइन्थ्यो । बस चढ्न कि रिडी, तम्घास कि त बागलुङ बजार नै पुग्नुपर्ने । तर अहिले बुर्तिबाङसम्मै मोटर बाटो पुगेको छ ।

गाउँतिर आफैले गाडी लिएर जाँदा कम्ती रमाइलो लाग्दैन नकुललाई । गाउँतिर पनि केही व्यवसाय गर्न मन छ उनलाई । गाउँका उत्पादनलाई बजारसम्म ल्याउन सकेमा नेपाली उत्पादनले ठाउँ पाउने उनी बताउँछन् ।

उतिबेला बुर्तिबाङमा बाटोको सुविधा थिएन । नुन तेलका लागि बुटवल झर्नुपथ्र्यो । एक दिन पूरा हिँडेर सामान किन्न जानुपर्ने ।

नकुल जन्मनुभन्दा २० वर्ष अगाडिबाटै हो उनका बुवाले बुर्तीबाङमा कपडा व्यवसाय सुरु गरेको । खाद्यान्न, नुन, तेल, चिनीलगायत सरसामानका लागि गाउँलेहरुले निकै दुःख पाएको देखेर उनका बुबाले कपडासँगै खाद्यान्न पनि गाउँमै उपलब्ध गराउन थालेका थिए ।

बुटवलबाट सामान बोकाएर पूरा दिन हिँड्दा पनि बुर्तिबाङ पुग्न नसकिने । निकै कष्टकर थियो त्योबेला गाउँको जीवन । बुबाको व्यापार देखेका कलिला नकुलको मस्तिष्कले व्यवसायको परिकल्पना गरिसकेको थियो ।

जापान गएपछि उनले रेस्टुरेन्टमा भाँडा माझ्नेदेखि म्यानेजर लेभलसम्मको काम गरे । रेस्टुरेन्ट व्यवसायका लागि मनग्य अनुभव सँगाले ।  आठ वर्षको अनुभवलाई रेस्टुरेन्ट व्यवसायमै परिणत गरे सन् २००६ मा ।

जापानमा राम्रैसँग व्यवसाय विस्तार गर्दै गरेका नकुल आफ्नो सीप र उद्यमलाई स्वदेशमै प्रयोग गर्ने सोचसहित नेपाल फर्किएका थिए ।

बच्चाकै कारण जापान छाड्नुपर्यो

श्रीमान्–श्रीमती एउटै व्यवसायमा । जापानमा व्यवसायले राम्रो पिकअप लिँदै थियो । छोराछोरी पनि हुर्किंदै थिए । सबै अभिभावकको जस्तै उनीहरुको पनि चाहना थियो कि आफ्ना सन्तान संस्कारी हुन्, आफ्नै भाषा बोलून्, आफ्नो माटोको माया गरून् । स्वदेशमै बसून् र आफ्नै कलासंस्कृति र संस्कारको अनुशरण गरून् ।

नकुलले जापान गएको केही वर्षमै पुष्पा शेरचनसँग विवाह गरेका थिए । दुवै जना रेस्टुरेन्ट व्यवसायी । दुई सन्तानलाई जन्म दिएपछि जिम्मेवारी थपिँदै गयो । उनीहरुले व्यवसाय पनि बढाउँदै गए । दुई सन्तानको पालन पोषण अनि शिक्षामा विशेष ध्यान दिए उनीहरुले । 

तर छोराछोरीले नेपाली संस्कार नै जान्न नपाउने भए भन्ने खड्कियो । हुन त जापानमा नेपालीहरु प्रशस्त छन् । घरमा नेपाली नै माहौल छ तर बच्चाहरुलाई उल्लेख्य समय दिन नभ्याउँदा उनीहरु नेपाली कम, जापानी धेरै भए ।

भाषामा समस्या हुने भएपछि बच्चाहरुलाई नेपाली संस्कार सिकाउनकै लागि भए पनि नेपाल फर्कनु उत्तम ठानी नेपाल फर्किए शेरचन दम्पत्ती ।

लगभग १४ वर्षको जापान बसाई अन्त्य गर्दै ७ वर्ष अगाडि नेपाल आएका नकुलले व्यावसायिक जीवनलाई  निरन्तरता दिए ।

एलिसको जन्म

एलिस नकुलकी छोरी हुन् । जापानमै २००८ मा उनको जन्म भएको थियो ।

जापानबाट फर्किएपछि गर्ने के ? आफ्नो हातमा भएको सीप हो रेस्टुरेन्ट व्यवसाय । श्रीमान–श्रीमती दुवै एउटै व्यवसायमा अब्बल । निर्णय गरे– यही रेस्टुरेस्ट व्यवसाय गर्ने ।

उनले केही समय काठमाडौँबासीको चाहना र यहाँको ट्रेन्डबारे रिसर्च गरे । नेपालमा चलेका रेस्टुरेन्टभन्दा केही फरक र पारिवारिक वातावरणको रेस्टुरेन्ट सञ्चालनका लागि शान्त र फराकिलो स्थान छनौट गर्दै गर्दा काठमाडौँकै सेन्टर गैरीधारा रोजे उनले ।

छोरीको नाम निकै मन पर्छ उनलाई । लाग्यो व्यवसाय पनि छोरीकै नामबाट सुरु गरूँ । र, २०१३ मा जन्मियो ‘एलिस रेस्टुरेन्ट’ । हुन पनि छोरीको नामबाट सञ्चालनमा आएको रेस्टुरेन्टले छोटो समयमै उल्लेख्य सफलता हात पार्दै गयो ।

फराकिलो स्थान, पारिवारिक वातावरण, बालबालिकाका लागि खेल्ने ठाउँ (किड जोन), शान्त र इन्टेरियरले पनि ग्राहकलाई सजिलै आकर्षित गर्न सफल एलिसले सञ्चालनको छोटो समयमै अर्को शाखा खोल्यो काठमाडौँकै पर्यटकीय तथा व्यावसायिक स्थान दरबारमार्गमा ।

छोटो समयमै एलिसले आफ्ना ग्राहकको माया बटुल्यो । तर, यसबाट नकुल मात्तिएका छैनन् । यसलाई थप कसरी व्यवस्थित गर्ने र अन्य स्थानमा पनि शाखा विस्तार गर्ने मनस्थिति बनाएका छन् ।

अलि महँगो, उच्च, मध्यम वर्गको जमघट हुने स्थान, अझ भन्नुपर्दा युवा पुस्ताको पहिलो रोजाइको स्थान हो दरबारमार्ग । त्यहीँ एलिसको दोस्रो शाखा सञ्चालनमा ल्याए । तर उनले आफ्नो रेस्टुरेन्टको मेनु र मूल्यमा भने केही पनि परिवर्तन गरेनन् । भन्छन्– एलिसका जति शाखा खुल्छन्, खानाको मेनु र मूल्य एउटै हुनेछ ।

छोटो समयमा ब्रान्ड बनेको एलिसको शाखा ललितपुर र भक्तपुरमा विस्तार गर्ने मनस्थिति बनाएका छन् उनले । विस्तारै उपत्यका बाहिर पनि यसलाई विस्तार गर्दै लैजाने योजना रहेको सुनाए ।

आफै तयार पार्छन् रेस्टुरेन्टको मेनु

विदेशमा रेस्टुरेन्ट कल्चर ज्यादा भए पनि नेपालमा रेस्टुरेन्ट विस्तारै विकास हुँदै आएको छ । नेपालीहरु हरेक दिन रेस्टुरेन्ट गएर खान सक्ने अवस्थामा अझै छैनन् । तर हप्तामा एक दुई दिन मात्रै भए पनि परिवारका साथ घर बाहिर खाना खाने कल्चर भने विकास भएको छ ।

जापानमा रहँदा रेस्टुरेन्ट कल्चरबारे सिकेका नकुलले जापानी शैलीमै खोलिएको एलिसमा जापानी, कन्टिनेन्टसँगै नेपाली थकाली खानालाई समावेश गराए ।

मानिस रेस्टुरेन्टमा गएर खाने भनेको घरमा बन्नेभन्दा फरक खाना हो । त्यसैले नेपाली तर फरक तरिकाका खानालाई एलिसले पस्केको नकुल बताउँछन् । उनी अझ नेपाली खानालाई फ्युजन गर्न चाहन्छन् । उनी भन्छन्, ‘विदेशी खानाको स्वाद पनि पाइने अनि नेपाली उत्पादन र नेपाली खाना खान पनि पाइने ।’

नेपाली खानाजस्तो स्वस्थकर खाना विश्वमै नभएको उनी बताउँछन् । ‘नेपाली खानामा सबै तत्व पाइन्छ । जस्तो, दाल, भात, रोटी, तरकारी, साग, अचार, दही अथवा मही, घिउलगायत खाना एकैसाथ खाइने भएकाले यो स्वस्थ्यकर पनि छ,’ उनले भने । सबै तत्व एकै साथ पाइने भएकाले नै नेपाली खाना विश्वकै उत्कृष्ट भएको नकुल बताउँछन् ।

बालबालिकालाई खेल्ने स्थान अनि परिवारका हरेक सदस्य ढुक्कसँग बस्न सक्ने वातावरण भएको एलिसको सञ्चालक भएर पनि खानाका मेनु नकुल आफै तयार पार्छन् । जापानमा रहँदा व्यवस्थापन र ग्राहक सर्भिसबारे राम्रोसँग सिक्ने अवसर पाएका नकुलले नेपालका रेस्टुरेन्टमा एउटै प्रकारको खानाको ट्रेन्डलाई परिवर्तन गर्ने कोसिस गरेको बताउँछन् ।

नकुल भन्छन्, ‘आजसम्म ग्राहकबाट खराब प्रतिक्रिया आएको छैन, यसको कारण हो स्वस्थकर खाना । हामी स्वस्थ्यकर खानालाई बढी प्राथमिकता दिएका छौँ । साथै नेपाली मौलिक खानालाई पस्किएका छौँ ।’

सामान्यतया मैदाको पिठोबाट बन्ने ममलाई एलिसले फापर, आँटा, कोदो लगायतको पिठोबाट बनाउने गरेको छ । मैदाभन्दा आँटा, फापर अनि कोदो स्वास्थ्यको हिसाबले निकै उत्तम मानिन्छ ।

त्यसैगरी, बन्दा, हरियो सागसब्जीको आदिको मम बन्छ एलिसमा । रेस्टुरेन्टका सेफहरुसँगै बसेर नकुलले मेनु बनाउने, आइडिया सेयर गर्ने गर्छन्, जसको सकारात्मक परिणाम ग्राहकको सन्तुष्टिमार्फत झल्किन्छ ।

सबै वर्गले अफोर्ड गर्न सक्ने फाइभ स्टार क्वालिटीको ब्याङ्केट (पार्टी भेन्यु)

पहिले हरेक इभेन्ट घर अथवा टोलमा गर्ने चलन थियो । तर अहिले समय बदलिएको छ । साना–साना इभेन्टदेखि ठूला इभेन्ट पनि पार्टी भेन्युमा गर्ने प्रचलन बढेको छ । यसै क्रममा च्याउसरी खुलेका पार्टी भेन्युहरुको भीडमा आकर्षक र फरक शैलीमा एलिस उभिएको छ ।

हुन त, पार्टी भेन्यु प्रतिष्ठासँग जोडिन थालेको छ आजभोलि । सकि–नसकी, देखाउनकै लागि पनि फाइभस्टारमै पार्टी दिनु पर्ने, विभिन्न सङ्घसंस्थाहरुका कार्यक्रम पनि प्रतिष्ठित ठाउँमा गर्नुपर्ने कल्चर देखेका नकुलको मनलाई सबै वर्गलाई मिल्ने गरी पार्टी भेन्युको खाँचो महसुस भयो ।

रेस्टुरेन्ट व्यवसायमा जम्दै गरेका नकुल प्रशस्त पार्किङ स्पेस भएको, राम्रो इन्टेरियर अनि स्वस्थ्यकर खानासहितको पार्टी भेन्यु सञ्चालनका लागि ठाउँ खोज्न थाले ।

प्रशस्त पार्किङ स्पेस, साना–ठूला जमघट गर्न सकिने ठाउँ बालुवाटार र गैरीधाराको बीचमा भेटियो । उक्त स्थललाई सुन्दर तरिकाले सिँगारे, र सुरु भयो ‘एलिस रिसेप्सन्स् ।’

एलिस रिसेप्सन्स्लाई नकुल फाइभ स्टार क्वालिटीको ब्याङ्केट भन्न रुचाउँछन् । व्याङ्केटले दिने सेवा सुविधा फाइभस्टार क्वालिटीको छ । अब फाइभ स्टारमा गएर महँगो मूल्य तिर्नुपर्ने बाध्यता हटेको उनी बताउँछन् । न्यूनतम मूल्यमै फाइभ स्टार सुविधा दिएको एलिस सबै वर्गको रोजाइमा पर्न पनि थालेको छ ।

‘एलिस रिसेप्सन्स्’ आकर्षक मात्रै होइन, खानाको लागि पनि चर्चित हुन थालेको छ । विवाह, ब्रतवन्ध, जन्मदिन, पारिवारिक कर्मदेखि सभा सम्मेलनका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।

एलिसमा एकै पटक दुईवटा कार्यक्रम गर्न मिल्ने गरी दुईवटा हल छ । ठूला कार्यक्रम पनि गर्न मिल्ने गरी निर्माण गरिएको पार्टी भेन्युमा प्रशस्त पार्किङ, उत्कृष्ट सेवा, आकर्षक र पारिवारिक वातावरण, आकर्षक इन्टेरियर र एक्टेरियर, स्वस्थकर खानाका लागि चर्चित बनेको छ । सँगसँगै भीआईपी र भीभीआईपी कक्षको निर्माण पनि एलिसले गरेको छ । एलिसले एकै पटक १५ सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता राखेको छ ।

एलिसका सञ्चालक नकुल शेरचन भन्छन्, ‘अब आम नेपाली, अझ भन्नुपर्दा उपत्यकाबासीले फाइभ स्टारमा महँगो मूल्य तिरेर पार्टी, सभा सम्मेलन गर्नुपर्ने बाध्यता हटेको छ । न्यूनतम मूल्यमै एलिसले स्टार सेवा दिएको छ ।’

हस्पिटालिटीलाई हाई प्रोफाइल बिजनेस भन्न रुचाउने नकुल हाइजिन र सर्भिसमा कहिल्यै कम्प्रमाइज नगर्ने प्रण गर्छन् ।

स्वदेशमा रोजगारी सिर्जना

स्वदेशमै केही गर्ने रहर पालेर नेपाल फर्किएका नकुलले थुप्रै रोजगारी सिर्जना गरेका छन् । हस्पिटालिटीको क्षेत्रमा भविष्य देख्ने उनी नेपालमा यो व्यवसाय फस्टाउनेमा आशावादी छन् ।

नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तन, आयआर्जनमा वृद्धि आदिले हस्पिटालिटी क्षेत्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । जीवनशैलीमा परिवर्तन, आयआर्जनमा वृद्धि अनि ग्लोबल कल्चरको प्रभावले मानिसहरुलाई सौखिन बनाएको छ । व्यस्त जीवनशैलीबाट आराम पाउन मानिस होटल रेस्टुरेन्ट वा फरक ठाउँ (स्वाद)को खोजीमा छ । यसका लागि उक्त थलो हो होटल, रिसोर्ट अनि रेस्टुरेन्ट ।

आज लाखौँ युवा विदेशी भूमिमा श्रम गर्न बाध्य छन् । नेपाललाई स्वरोजगारीका लागि विकास गर्न थुप्रै सम्भावना नभएका होइनन् । यदि राज्यले स्वरोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने र राज्यका तर्फबाट पनि रोजगारीको ढोका खुलाउने हो भने कोही पनि विदेशिन नपर्ने नकुलको तर्क छ ।

उनले आफूले सुरु गरेको व्यवसायबाट थुप्रैलाई रोजगारी दिएका छन् । लगभग एक करोडको लगानीमा सुरु भएको एलिसले लगभग २२ करोड भन्दा माथिको लगानी विस्तार गरिसकेको छ ।

एलिसले एक सय ३० जनालाई स्थायी रूपमै रोजगारी दिएको छ भने ४० भन्दा बढीले अस्थायी रूपमा रोजगारी पाएका छन् । रेस्टुरेन्ट, व्याङ्केट हुँदै रिसोर्टको परिकल्पना गर्न थालेका नकुल युवालाई यहीँ थमाउन चाहन्छन् ।

धेरैभन्दा धेरै युवाहरुलाई रोजगारी दिन सके विदेशी भूमिमा रगत पसिना बगाउन जाने युवाको सङ्ख्यामा अलिकति भए पनि कमी आउने थियो कि नकुल आशावादी हुन्छन् । हामी आशा गरौँ– उनको आशा निराशामा परिणत नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप