केन्द्रीय संस्करण

व्यङ्ग्य : जय ओखती !  जय डाक्टर ! जय दबाई !

person explore access_timeमंसिर १७, २०७६ chat_bubble_outline0

संस्कृत भाषाको ‘औषधि’–कै तद्भव अनुहार रहेछ ‘ओखती’ । रोग निको पार्न प्रयोग गरिने वस्तु  वा साधन अर्थात् उपचारको उपायमा प्रयोग हुने विभिन्न जडीबुटी ओखती भनेर बुझिन्छ । ‘औषधि’ संस्कृतको तत्सम शब्द, जसले रोग निको पारेर शरीरलाई तन्दुरुस्त पार्छ ।

‘दबाई’ यो संस्कृत ‘द्रव’बाट हिन्दीमा दब हुँदै ‘आई’ प्रत्यय जोडिएर नेपालीमा आइपुगेको  हुनुपर्छ ।  व्यङ्ग्य आरनमा  मजस्ता लहडीराजले खलाँती चलाएर तताउँदा यी शब्दको चिरफार यसरी गरेँ । ‘ओहो ! खती’ ओखती, अर्थात् जसले शरीरलाई विस्मयपूर्वक हानि नोक्सानी वा खती पु¥याउँछ ।

त्यसैको नाम ओखती हुन गएको रहेछ । विस्मयभित्र हर्ष, आश्चर्य, अपशोच, शोक, घृणा आदि अन्तरभाव मुखर हुन्छन् । त्यसैले त कहिलेकाहीँ मुटुको ओखती खाँदा मिर्गौला, फोक्सो आदि अङ्गमा पार्ने पाश्र्व प्रभाव अर्थात् साइड इफेक्ट वा क्षति, अथवा नोक्सानीले  गम्भीर खती  पु¥याउन सक्ने भएकैले हाम्रा शब्दमर्मज्ञ पुर्खाहरुले कसरी काम पत्ता लगाएर नाम जुराएका रहेछन् ? बाफ रे बाफ ! बूढाहरु स्रष्टा मात्र नभएर द्रष्टा नै पो देखिए । त्यसै भएर त विचारक बेन्जामिन फ्रेकलिनले भनेका रहेछन्– सर्वश्रेष्ठ चिकित्सक त्यही हो जो अधिकांश औषधिलाई व्यर्थ सम्झन्छ, सर्वोत्तम औषधि त विश्राम र निराहार हो ।

अर्का पश्चिमी विचारक होम्सले यस्तोसम्म प्रतिक्रिया दिएका रहेछन् कि ‘मेरो विश्वास छ आजको सम्पूर्ण चिकित्साशास्त्र यदि समुद्रमा डुबाइदिने हो भने यो मानिसको परम सौभाग्य हुनेछ तर माछा लगायतका जलचरहरुको भने परम दुर्भाग्य !’ यसैबाट ‘ओखती’ शब्दको  ‘ओहो ! खती’ विग्रहको चुरो कुरो बुझिन्छ  । धेरै नभनूँ फेरि मेडिकल माफियाहरुले काफिया गाएर कबाफ बनाउलान् ? नाफाखोर कथित ओखती बिक्रेता सङ्घले जुलुस, धर्ना, बन्द र चक्का जाम गरेर थाल खाउँ कि भात खाउँ पार्लान् ।

हर प्रकारका रोगलाई केही समय मात्र दबाएर लुकाएर वा बन्दी बनाएर राख्ने तागत भएकैले यसको चरित्र हेरेर जानिफकारहरुले यसको अर्को नाम ‘दबाई’ राखेको हुनुपर्छ । ओखतीको अर्को पर्यायवाची शब्द भेषज, भैषज्य पनि हो । पहिलेको जस्तै भेष वा आकार दिन सक्ने भएर सायद शब्दशास्त्रीहरुले यो नाम जुराएकी ? अचेल यो संसारमा सबैभन्दा महँगो स्वास्थ्य र शिक्षा भएको छ । यसको मतलव सामान्य जनता यी दुवै सेवा लिन सक्ने थितिमा छैनन् ।

सेवाको ढोलक पिटेर व्यापारको ओलक गाउँने माफिया जमात यस्ता संस्थाहरुमा बिग्बिगी मच्चाइरहेका छन् । कतिपय डाक्टरहरुका सेवा पीडितहरुलाई पीडामाथि पीडा थप्ने बनिरहेका छन् । आन्द्राको शल्यक्रिया गर्दा फोक्सै ड्यामेज गर्ने, प्रसूतिको शल्यक्रिया गर्दा भुँडीभित्रै कैँची छोडेर सिइदिने डा. फुर्को झुण्डिएकाहरु हुस्सु पथिकहरुझैँ हुँदा औधी लापरबाही मिडियामा देख्नु, पढ्नु र सुनिरहनु हाम्रो नियति बनेको छ । ०७६ कात्तिक २ गतेको नागरिक दैनिकमा कमिसनको चक्करमा बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस गरेर यमराजका सहोदर भाइ बन्ने प्रयत्न गरेको समाचार ब्यानरन्युजमा भँगेरे टाउके अक्षरमा देखियो ।

औषधि व्यवस्था विभागले जफत गर्न खोज्दा डाक्टरले नै सिफारिस गरेको हस्ताक्षर देखाइदिए । बङ्गालादेश, भारत र अस्ट्रेलियामा प्रतिबन्धित भइसकेका ती ओखती तिनै मुलुकबाट नेपाल भित्र्याएर बिरामीको जीवनमा खेलबाड भएको भेटियो । हरे दैव ! हामी अनाथलाई संसारबाट बिदा गराउने खालका विषादि ख्वाएर अकालमै  जिब्रो टोक्न बाध्य पार्ने यी धर्मराजका छद्म अनुहारका पापराज वा संहारराजलाई चण्ड अचण्डका मित भन्नै पर्ने भएको छ । 

      आयुर्वेद सिद्धान्तमा सात्विकी, राजसी र तामसी तीन उपचारको उल्लेख गरिएको छ ।  जसलाई क्रमशः देव उपचार पद्धति, मनुष्य उपचार प्रणाली र राक्षस उपचार विधिका रूपमा पनि विश्लेषण गरिएको छ । प्रकृतिकै बलमा गरिने उपचारलाई देव उपचार, वनस्पतिमार्फत गरिने मनुष्य र चिरफार विधिबाट गरिन ओखती पद्धतिलार्ई राक्षस विधि भनिएको रहेछ । अहिले पनि यी सबैथरी उपचारहरु प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रचलनमा छन् ।

अविकसित देशहरुमा ओखतीको प्रयोगमा चरम लापरबाही भइरहेको छ । हरेक बिरामीका अङ्गउपाङ्गलाई पाठ्यसामग्री बनाएर प्रयोगात्मक अभ्यासमा कक्षा चलिरहेका छन् । अप्रेसन थिएटरमा भएका लापरबाही तथा त्रुटि सुन्दा बिरामी कुरुवा र आफन्तजनहरु आक्रोशित बन्न पुगेका हुन् । त्यसै भएर त समय समयमा चिकित्सालयमा नारा, जुलुस, तोडफोड र कतिपय निरपराधी डक्टरहरुसमेत बिरामीका आफन्तका भीडबाट प्रताडनाका शिकार भएका सुन्न देख्नै नसक्ने घटना घटित भएका । यसरी भौतिक एवं मानवीय पक्षहरुको हानि नोक्सानी हामीहरुले नै बेहोरेका छौँ ।  

उपचारको नाममा सामान्य रोगहरुमा पनि अनावश्यक अङ्गहरुको परीक्षण गराउन पर्ने कुरा देखाएर महँगो प्रयोगशाला शुल्क लिई पैसा कुम्ल्याउने निजी अस्पतालको लय साँच्चै भयकारी छ । नेपालकै सन्दर्भमा कतिपय स्वास्थ्यकर्मी डा.हरु मेडिकल बोर्डको इन्टरेन्सिभ परीक्षामा दर्जनौँ पटक फालिएर पास हुन भनी सोर्स फोर्सका लागि  शक्तिकेन्द्र धाउनेको  लर्को हेरिसाध्ये छैन । हे हरि, क्या बेथिति भो चिकित्सा क्षेत्रमा !  

त्यसैले त ‘ओहो, खती’  भनेरै ओखती नामको न्वारन भएको रहेछ । रोगलाई दबाउने  उस्तै परेमा बिरामीलाई सिल्टिमुर ख्वाउने भएरै यसलाई दबाई वा राक्षसी उपचार भनेर किटिएको रहेछ । बिरामीकै संवेदनशील अङ्ग चोरेर लाइसेन्सलाई ढाल बनाई काल बनेका रहेछन् कतिपय उपचारकर्मी नामका अधर्मी स्वाँठहरु ।

दोतिहाइ मात्र नभएर सर्वसम्मतिकै सरकार आए पनि घुसको जुस खान पल्केका सरकार नामधारीका पैसा सर्वस्व ठान्नेले जेजे बराजु सोही सोही सोही स्वाहा ! गर्ने गन्धे पाप खापाखाप हुने निश्चित छ । हामीजस्ता अविकसित देशका बासिन्दा सालिन्दा अकाल मृत्यु र अपाङ्ग बन्न बाध्य भएर पनि भयसहित भन्नै परेको छ– जय ओखती ! जय दबाई ! जय डाक्टर वा कविराज साप ! 
        


  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...