शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ दुर्घटना : प्रहरीको अडानले जोगिएका ती ८ भाग्यमानी

१४ जनाको ज्यान गयो, एक अझै बेपत्ता
मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : १९
मङ्गलबार, १७ मङ्सिर २०७६

मङ्गलबार बिहान गुल्मीको इश्मा गाउँपालिका–४ पैयाँपाटास्थित कार्की परिवार हतारमा थियो । किनकी उनको परिवार बुधबार हुने कुल पूजामा सहभागी हुन आजै बागलुङको निसिखोला वडा नम्बर २ जाँदै थियो ।

परिवारले बिहान घरमा गर्नुपर्ने नित्य कर्म सक्यो र रिजर्भ गरिएको ग १ ख ५२१९ जिपमा चढेर गन्तव्यतिर लाग्यो । जिपको भित्र अट्नेजति बसे । बाँकी जिपको छतमा पनि चढे । जिपभित्र र छतमा गरी जम्मा २६ यात्रु पुगे ।

चालक रेशम थापाले चलाएको जिप जब बढीगाड गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी नजिक पुग्यो । प्रहरीले जिपभित्र र छतमा खचाखच यात्रु देखेपछि रोकेर सोधपुछ गर्न थाल्यो । चालक थापा र सहचालक कर्णबहादुर हिकामले आफूहरु जिप रिजर्भ गरेर आएको र पूजाका लागि जाँदै गरेको जानकारी गराए । सोही बीचमा यात्रुले पनि जानकारी प्रहरीलाई आफूहरुलाई छाडिदिन अनुरोध गरे । तर, प्रहरीले मान्दै मानेन र जिपको छतमा रहेका ८ जनालाई अर्को व्यवस्था गरेर मात्रै जान भन्यो । प्रहरीले जान नदिएपछि जिपबाट ८ जना वैकल्पिक यातायातको प्रवन्ध गरेर गन्तन्यतर्फ जाने तरखर गर्न थाले । 

आठ जना अर्को यातायातका साधनमा जाने तय भएसँगै सो प्रहरी चौकीबाट १८ जना भने त्यही जिप गन्तव्यतर्फ लागे । तर, दुर्भाग्य !  बडीगाउँ गाउँपालिका वडा नम्बर ७ स्थित भोपर्नामा सोही १८ जना सवार गाडी दुर्घटनाग्रस्त हुन पुग्यो ।

प्रहरी चौकीबाट करीब १५–२० मिनेटको यात्रापछि घटनास्थल पुगिन्छ । जिल्ला समन्वय परिषद् गुल्मीका संयोजक लक्ष्मण पराजुलीका अनुसार जिप निकै पुरानो थियो भने बेलाबेलामा ‘ब्रेक लक’ हुने समस्या थियो । उनले दुर्घटना भएको स्थान केही घुम्तीजस्तो भएपनि सडकको अवस्था राम्रो भएको बताए । जिप सडकबाट करीब डेढ सय मिटर तल खोलामा ढुङ्गामा बज्रिन पुगेको थियो ।

इलाका प्रहरी कार्यालय भीमबिखेका सई रिनबहादुर बैदवारका अनुसार गाडी तीब्र गतिमा चलाएको देखिन्छ । ‘जिप ओभरलोड भएको र तीव्र गतिमा चलाएको देखिन्छ ’, उनले भने, ‘घटनास्थलको सडकमा समस्या छैन, सामान्य घुम्तीचाहिँ छ ।

स्थानीयका अनुसार कूल पूजाको लागि भनेरै भारतमा बस्दै आएका महेन्द्र कार्की २० वर्षपछि घर आएका थिए । तर उनको सोही दुर्घटनामा मृत्यु भयो । उनका दुई भाइलाई प्रहरीले बीचबाटोमा झारिदिएका कारण बचे । मृतकका भाइ डम्बर कार्कीले आफूसहित ८ जना अर्को गाडीमा जानुपर्दा बाँचेपनि दाइलगायत अरुलाई गुमाउनु परेको भावुक हुँदै बताए ।

घटनाको खबरपछि अहिले आफन्तहरु घटनास्थल पुगेका छन् । घटनास्थल पुगेकी आफन्त खिमकली कार्कीले भगवानको पूजा गर्न जाँदा पनि यस्तो विपत आइलागेको भन्दै भावविह्वल देखिन्थिन् ।

अहिले मृतक १४ जनाको शवको पोस्टमार्टम गर्न थालिएको छ भने एक जना खोलाले बगाएर वेपत्ता रहेका छन् । यसैबीच घाइते ३ जनालाई हेलिकप्तरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइतेको उद्धारका लागि पूर्वमन्त्री तथा नेकपा नेता गोकर्ण विष्ट घटनास्थल पुगेका थिए ।

दुर्घटनामा मृत्यु हुनेहरु 

अन्दाजी वर्ष २६ की सूचना कार्की

अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की

अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की

इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा

नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की

बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी

इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की

इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,

इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की

इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की

अन्दाजी वर्ष ४५ का भूमि कार्की

अन्न्दाजी वर्ष २५ की मीना बस्नेत

अन्दाजी वर्ष ३० की तुलसी कार्की

चालक इश्मा गाउँपालिका वडा नम्बरका रेशम थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप