बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवादास्पद खेलमा आर्सनल स्तब्ध, युनाइटेडको गोल वर्षा जारी

आइतबार, ०४ भदौ २०७४, ०९ : ३५
आइतबार, ०४ भदौ २०७४

लण्डन । निकै विवादास्पद बनेको खेलमा आर्सनल स्टोक सिटीसँग १–० गोलअन्तरले स्तब्ध बनेको छ । रियल म्याड्रिडका पूर्व विंगर जेसेको एक मात्र गोलको मद्दतले आर्सनललाई स्टोकले हराएको हो ।

पेरिस सेन्ट जर्मेनबाट बुधबार मात्र स्टोक भित्रिएका जेसेले खेलको ४७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

आर्सनलका प्रशिक्षक आर्सन वेंगरले भने टोलीको पराजयपछि रेफ्रीको आलोचना गरेका छन् । आर्सनलको एक गोल रद्द गरिएको थियो भने एउटा पेनाल्टीको अपिल खारेज गरिएको थियो ।

पहिलो हाफमा हेक्टर बेलेरिनलाई मामे बिराम डियोफले लडाए पनि आर्सनले पेनाल्टी पाएन । त्यस्तै, अलेक्सान्ड्रे लाकाजेटले बराबरी गोल गरे पनि झिनो अन्तरले अफसाइड करार गरिएको थियो ।

आर्सनलले सन् २००३–०४ सिजनपछिकै सर्वाधिक ७७.३ प्रतिशत खेलमा नियन्त्रण राखे पनि पराजय टार्न सकेन । हुनतः स्टोकले आफ्नो घरेलु मैदान आर्सनलविरुद्ध खेलिएका पछिल्ला ८ खेलमा एकमा मात्र पराजय बेहोरेको छ । 

उता, गोलको वर्षा गर्दै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा विजयी यात्रा जारी राखेको छ ।

स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ४–० गोलअन्तरले विजयी भएको हो । आफ्नो पहिलो खेलमा पनि युनाइटेडले समान अन्तरको जीत निकालेको थियो ।

खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरे पनि पहिलो हाफ सकिन लाग्दा एरिक बेलीले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसपछि युनाइटेडले खेलको अन्त्यतिर ४ मिनेटको अन्तरालमा ३ गोल गरेको थियो ।

जसमा रोमेलु लुकाकु, पाउल पोग्बा र एन्थोनी मार्सियालले एक–एक गोल गरे ।

११० वर्षमा युनाइटेडले लिगको शुरुवाती दुई खेलमा ४ वा सोभन्दा बढी गोल गरेको यो पहिलो पटक हो । यसअघि यो सफलता चेल्सीले सन् २०१०–११ को सिजनमा हात पारेको थियो ।

युनाइटेडले लगातार तेस्रो सिजन आफ्ना शुरुवाती दुई खेल जितेको छ । तर, यसअघिका दुई सिजन नै युनाइटेड शीर्ष चारभन्दा बाहिर रहनुपरेको थियो ।

हिजै भएको अन्य खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।

खेलको दोस्रो हाफमा साडियो मानेको एक मात्र गोलको मद्दतले लिभरपुल विजयी भएको हो । 

लिभरपुलले खेलमा पूर्ण नियन्त्रण राखे पनि क्रिस्टल प्यालेसको डिफेन्सलाई चिर्न निकै मिहिनेत गर्नुपरेको थियो ।

अन्य खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–० गोलअन्तरले हरायो भने वार्टफर्डले बोर्नेमाउथलाई समान गोलअन्तरले पराजित गर्यो ।

वेस्टब्रोम आल्बियनले बर्नलीलाई १–० ले हराउँदै साउथ ह्याम्पटन वेस्ट ह्यामविरुद्ध ३–२ गोलअन्तरले विजयी बन्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप