शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ जिप दुर्घटना : १२ जनाको सामुहिक दाहसंस्कार

बुधबार, १८ मङ्सिर २०७६, ०९ : ४३
बुधबार, १८ मङ्सिर २०७६

मङ्गलबार विहान १०ः३० बजेको समयमा बागलुङको बडीगाड गाउँपालिका –७ अल्छीबाङ्गको घोपर्ना कोप्चेमा भएको ग १ ख ५२१९ नम्बरको जिप दुर्घटनाको दृश्य दर्दनाक थियो ।

बडीगाड खोला किनारमा छरपस्ट छरिएको शवहरुको विभत्स दृश्यले अकल्पनीय पीडा र दर्द उत्पन्न हुनु स्वाभाविक थियो । ‘यस्तो दुखद दुर्घटना कहिँ कतै नहोस्, कहिँ कसैले देख्न नपरोस्’ भन्दै मलिन अनुहारमा कुरा गर्दै थिए घाइतेहरुलाई लिन दुर्घटनास्थल पुगेका पूर्वमन्त्री गोकर्ण विष्ट ।

जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश गुल्मी इस्माका थिए । जिप दुर्घटनामा १४ जनाको ज्यान गयो । गुल्मी इस्माका धनबहादुर कार्की अझै बेपत्ता छन् ।

निसीखोला गाउँपालिका–२ बायँखोलामा कार्कीहरुको कुलपूजा थियो । यसै शुभकार्यमा सरिक हुन गुल्मी इस्माबाट जाँदै थिए उनीहरु ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको इस्मा गाउँपालिका–५ को हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा इस्मा गाउँपालिका ४ र ५ का १२ जना कार्की परिवारले ज्यान गुमाएका छन् ।

त्यसमध्ये वडा नम्बर–४ पैयापाटाका मात्रै १० जना दुर्घटनामा परेका थिए । बाँकी २ जनाको परिवारले शव बुझेर छुट्टै दाहसंस्कार गर्ने भएका छन् । दुर्घटनामा १४ जनाको मृत्यु भएका थियो ।


घाइतेलाई काठमाडौँ ल्याइयो

गम्भीर रुपमा घाईते हुनेहरु गुल्मी इस्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका छोरा ४ वर्षीय हिमाल कार्की, सोही वडाका २४ वर्षीया निमा केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनीहरुलाई काठमाडौँ शिक्षण अस्पताल रिफर गरिएको छ । हेलिकप्टरमा सांसद एवं पूर्वमन्त्री विष्ट पनि बुर्तिवाङ गएका थिए ।

दुर्घटना हुनुमा चालकको गल्ती थियो वा जिपमा क्षमता भन्दा बढी यात्रु कोचाकोच गरेका कारण दुर्घटना भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘बागलुङ जिप दुर्घटना के कारणले भयो छानविनको विषय बन्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप