शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता

बुधबार, १८ मङ्सिर २०७६, १३ : ३२
बुधबार, १८ मङ्सिर २०७६

–करन ताम्राकार
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ । दुईघण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको  परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताए । 

उनले भने,‘मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।’  डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताए । 

परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उनले बताए । त्यो पनि घाम लागेको बेला स्काइफोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको उनले भने, ‘ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।’

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ ।  डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रुपमा बुझ्छन् । त्यहाँ सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो । डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।

परशुराम नगरपालिका–७ मलासवासीमा पनि हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ । कञ्चनपुर सीमा क्षेत्रमा रहेको मलासका स्थानीयवासीमा यस्तै समस्या रहेको छ । फोन गर्नेका लागि डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

यस्तै डडेल्धुरा जिल्लाको अर्को गाउँपालिका आलिताल गाउँपालिका–२  गांखेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताउनुभयो । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा पनि कुनै पनि फोन सेवा सञ्चालन छैन । 

उक्त क्षेत्रका बासिन्दाले फोन गर्नका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजार क्षेत्रमा पुगेर मात्र फोन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यस्तै नवदुर्गा गाउँपालिका–४ मा पर्ने चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि कतिखेरै नेटर्वक हुन्छ कतिखेरै हुँदैन । यस्तो समस्या रहेको नवदुर्गा गाउँपालिका–४ का स्थानीयवासी गणेश कैनीले बताए ।

यस्तै डडेल्धुरा जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन नेटवर्क नभएको अमरगढी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा राम्रोसँग टेलिफोन नेटवर्क नहँुदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।

अमरगढी नगरपालिकामै टेलिफोन छैन

डडेल्धुरा सदरमुकाम अमगरढी नगरपालिका डडेल्धुरासँग जोडिएका बजारलगायतका १९ वटा साविक गाविसका अन्य ठाउँका टेलिफोन लाइनसमेत १६ वर्ष बितिसक्दा पनि जोडिएका छैन । नेपाल टेलिकमले सुरक्षाको अवस्था देखाउँदै तत्कालीन माओवादी द्वन्द्वकालीन अवस्थामा बन्द गरिएका मार्च र भिएचएफ टेलिफोन लाइन हालसम्म सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ । 

डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका पोखरा बजार, अनारखोली बजार र आइतबजारमा सञ्चालनमा रहेका टेलिफोन लाइन हालसम्म सञ्चालनमा नरहेको नेपाल टेलिकम डडेल्धुरा शाखाले जनाएको छ । 

२०५८ सालमा द्वन्द्वकालीन अवस्थामा सुरक्षाको अवस्था देखाउँदै बन्द गरिएका टेलिफोन लाइन हालसम्म बन्द अवस्थामै छन् । नगरपालिकामा पहिले सदरमुकाममा टेलिफोन लाइन थिए र जनतालाई गाउँबाटै भए पनि टेलिफोन सेवाको पहुँचमा थिए तर लामो समय बितिसक्दा पनि टेलिफोन लाइन नजोडिएको अमरगढी नगरपालिका–७ का स्थानीय कमल साहुले बताए ।

अमरगढी नगरपालिका–७ पोखरा बजार र अनारखोली बजार क्षेत्रमा द्वन्द्वकालीन अवस्थामा बन्द गरिएको टेलिफोन लाइन सुचारु हुन नसकेको नेपाल टेलिकम डडेल्धुरा शाखाका निमित्त प्रमुख शिवराज बोहाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप