शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्द गरियोस् भीभीआईपीको सुरक्षाको नाममा गरिने थोत्रो नौटङ्की

बुधबार, १८ मङ्सिर २०७६, १५ : ०९
बुधबार, १८ मङ्सिर २०७६

उपराष्ट्रपति नन्दकिशोर पुन साफ खेलअन्तर्गतको महिला भलिबल खेल हेर्न गएकै कारण टिकट काटेर सो खेल हेर्न गएका दर्शकहरुले प्रवेश नपाएको र गेटमै रोकिनुपरेको खबर सार्वजनिक भएको छ । उपराष्ट्रपति ‘सवारी’ भएकै नाममा जनताका छोराछोरीले त्यो स्थिति भोग्न बाध्य हुनु अत्यन्तै विस्मयकारी छ ।

निश्चय पनि उनीहरुलाई उपराष्ट्रपति अर्थात् भीभीआईपीको सुरक्षाको नाममा त्यसरी गेटैमा रोकिएको हुनुपर्छ । त्यसो त यसरी भीभीआईपीको सुरक्षाको नाममा जनताका छोराछोरीलाई कडाइ गर्ने, कुनै क्षेत्रमा हिँड्डुल, आवातजावात गर्न रोक लगाउने यस्तो काम कुनै नयाँ नौलो होइन र विगतमा पनि यो पटक पटक हुँदै आएको छ । खासगरी, उपराष्ट्रपति सहभागी हुने औपचारिक कार्यक्रमहरुमा सुरक्षा व्यवस्थाको नाममा अत्यन्तै कडाइ गरिने र कतिसम्म भने राज्यको चौथो अंग प्रेसलाई समेत अंकुशपूर्ण नियन्त्रणमा मात्रै फोटो खिच्न दिने गरिएको घटना विगतमा देख्दै, भोग्दै र महसूस गरिँदै आएकै कुुरा हो । र, ठीक यस्तै खालका परिस्थिति अन्य भीभीआईपीहरुको हकमा पनि चल्दै आएको कुरा हो ।

*****

नन्दकिशोर पुन जनयुद्धको बलिदानी भट्टीबाट खारिएर निस्किएका जननेता पासाङ हुन्, जसले शासकहरुलाई जनताभन्दा भिन्न, महान् र विशिष्ट दर्जाको नागरिकको रुपमा स्थापित गर्ने शासन व्यवस्थाका विरुद्ध लडेका र जनताको सर्वोच्चता स्थापित हुने गणतन्त्र ल्याउनका लागि महान् संघर्षको नेतृत्व गरेका थिए । अहिले उनको सुरक्षाको  नाममा जनताबाट पर हुत्याउँदै उनका वरिपरि खडा गरिएको शासकीय नौटङ्कीले उनको त्यो गौरवमय छविमा कालो पोतिरहेको कुराको हेक्का उनले अनि उनका सचिवालयले राख्नै पर्छ । 

*****

भीभीआईपीको सुरक्षा व्यवस्था गरिनु हुन्न भन्दैनौं हामी । पदीय मर्यादाअनुकूलको सुरक्षा व्यवस्थाको बन्दोबस्त गरिनु पर्छ । तर, त्यस्तो सुरक्षा व्यवस्थाले प्रतिकूल जनभावना जन्मने वातावरण सिर्जना गर्दै गएको छ भने त्यसमा समयानुकूल परिमार्जन र परिर्वतन गरिनु जरुरी छ ।

जनताले नै चुनेर शासन सत्तामा स्थापित गराएका नेताहरुको सुरक्षाको नाममा गरिने तामझाम र बन्दोबस्तहरुमा जब आमजनताले हिजोको हुकुमी शासनकै छायाँ छवि देख्न थाल्छ र जब त्यो कुरा जनताका लागि कष्टकर र अपाच्य हुन थाल्छ, तब त्यस्ता सुरक्षा व्यवस्थाको औचित्य र मर्मको बारेमा प्रश्न गरिनै पर्छ ।

*****

गणतन्त्रका शासकहरु भनेका हिजोको निरंकुश हुकुमी शासक होइनन्, उनीहरु त जनमतको बलमा शासन सत्तामा स्थापित जनताका सेवक हुन् । जनताले उनीहरुलाई आफ्नो प्रतिनिधिको रुपमा छान्नुको अर्थ आफ्नो टाउकोमा गिर खेल्न दिएर उनीहरुलाई नयाँ रुप र शैलीमा नवसम्भ्रान्त वर्गमा परिणत होउन् भनेर पटक्कै होइन ।

*****

सर्वविदितै तथ्य हो ः नन्दकिशोर पुन वर्तमान गणतान्त्रिक शासन व्यवस्थामा उपराष्ट्रपतिको पदमा आसीन हुनुहुन्छ । तर, भुल्नै नहुने तथ्य के पनि हो भने नन्दकिशोर पुनले धारण गरेको पद भनेको जनमतको बलमा नै सिर्जित पद हो, जुन पद हिजोको शाहीकालमा जस्तो जन्मसिद्ध दैवी अधिकारको नाममा फौजी बलको आधारमा भयदोहन गरेर स्थापित पद होइन ।

हिजो जन्मसिद्ध दैवी अधिकारको नाममा जनतामाथि हुकुमी शासन गर्नेहरु निश्चय पनि जनताबाट अनुमोदित थिएनन्, उनीहरुलाई जनताबाट असुरक्षाको आशंका र भय थियो, जसको कारण उनीहरु सुरक्षा तामझामको नाममा आफूलाई सकेसम्म जनताबाट टाढा र अछुतो राख्न चाहन्थे । त्यो मनोविज्ञानको आधारमा हिजोको कथित सुरक्षा तामझामलाई तत्कालीन विशिष्ट परिस्थितिको उपजको रुपमा बुझ्न सकिन्छ । तर, अहिलेका उपराष्ट्रपति पदमा आसीन नन्दकिशोर पुन त्यो भयको लघुताभाषयुक्त मनोविज्ञानले ग्रसित भएर जनताबाट डराउनुपर्ने, पर पर भाग्नुपर्ने पात्र निश्चय पनि होइनन् ।

नन्दकिशोर पुन जनयुद्धको बलिदानी भट्टीबाट खारिएर निस्किएका जननेता पासाङ हुन्, जसले शासकहरुलाई जनताभन्दा भिन्न, महान् र विशिष्ट दर्जाको नागरिकको रुपमा स्थापित गर्ने शासन व्यवस्थाका विरुद्ध लडेका र जनताको सर्वोच्चता स्थापित हुने गणतन्त्र ल्याउनका लागि महान् संघर्षको नेतृत्व गरेका थिए । अहिले उनको सुरक्षाको  नाममा जनताबाट पर हुत्याउँदै उनका वरिपरि खडा गरिएको शासकीय नौटङ्कीले उनको त्यो गौरवमय छविमा कालो पोतिरहेको कुराको हेक्का उनले अनि उनका सचिवालयले राख्नै पर्छ ।  त्यसैले हामीलाई यो भन्न रत्तिभर पनि संकोच छैन – अहिले उपराष्ट्रपतिको रुपमा स्थापित नन्दकिशोर पुन आफैंले पनि सुरक्षाको नाममा शासक र शासितहरुको विभेदकारी पर्खाल खडा गर्ने तथा जनतालाई तुच्छ र शासकहरुलाई हिजोको हुकुमी शासनमा जस्तै महान् र अलग्गै विशिष्ट प्राणीको रुपमा स्थापित गर्नेे शैलीको विरुद्धमा आवाज उठाउनु जरुरी भइसकेको छ ।

गणतन्त्रका शासकहरु भनेका हिजोको निरंकुश हुकुमी शासक होइनन्, उनीहरु त जनमतको बलमा शासन सत्तामा स्थापित जनताका सेवक हुन् । जनताले उनीहरुलाई आफ्नो प्रतिनिधिको रुपमा छान्नुको अर्थ आफ्नो टाउकोमा गिर खेल्न दिएर उनीहरुलाई नयाँ रुप र शैलीमा नवसम्भ्रान्त वर्गमा परिणत होउन् भनेर पटक्कै होइन । जनतासँग त ती र त्यस्ता व्यक्तिहरु मात्रै भयभीत हुनुपर्छ जसले जनविरोधी कार्य गरेका र त्यस्त कार्यलाई समर्थन गरेको होस् । अबको गणतन्त्र नेपालका शासन सत्तामा आसीनहरुले साँच्चै नै आफूलाई जनअनुमोदित ठान्छन् र आफूले जनविरोधी कार्य गरेको छैन भन्ने कुरामा ढुक्क छन् भने अब उनीहरुले भन्न सक्नुपर्छः हिजोको निरंकुश  शैलीमा जारी जनभावना प्रतिकूलको सुरक्षा तामझाम यथावत राखिनु ठीक छैन, यसलाई अविलम्ब परिवर्तन गरिनुपर्छ । उनीहरुले भन्न सक्नुपर्छ : जनताको ठूलो हिस्सालाई चिढ्याउने र जनताका सेवकको रुपमा शासनसत्तामा पुगेको शासकहरुलाई जनताबाट अलग थलग गराउने खालको सुरक्षा व्यवस्थालाई तुरुन्तै परिमार्जन गरिनुपर्छ । 

हामी आव्हान गर्छौं – जनयुद्धको गौरवमय परम्पराबाट नेतृत्वको रुपमा विकसित भएका नन्दकिशोर पुनबाट जनताको यो भावनालाई सम्मान गर्दै तदअनुकूलको सुधारको लागि आवश्यक निर्देशन दिने काम अविलम्ब गरियोस् । साथसाथै, हामी शासन सत्ताको बागडोर सम्हालेका ती तमाम् नेतृत्व वर्ग, जो आफूलाई सही अर्थमा जनताका शासक हैन सेवक ठान्छन्, लाई पनि हिजोको जनविरोधी प्रथा, प्रचलन र परम्परालाई शिरदेखि पाउसम्मै बोक्न अविलम्ब छाडेर जनताको आस्था विश्वास जित्न र मजबूत बनाउन अनुरोध गर्दछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप