शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुल पूजाको सपना शोकमा परिणत भएपछि...

बुधबार, १८ मङ्सिर २०७६, १७ : १२
बुधबार, १८ मङ्सिर २०७६

बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली पैयाँपाटा टोलका कार्की परिवारमा मङ्गलबार साँझदेखि बिहानसम्म सधैँभन्दा फरक र रमझममय थियो । 

त्यही गाउँकी अन्दाजी २७ वर्षीया सूचना कार्की बुहारीका हैसियतले मिर्मिरे उज्यालो नहुँदै घर दलान लिपपोत सकेर सिँगारपटारमा व्यस्त थिइन् ।

ससुरा धनबहादुर नुवाइधुवाइ सकेर  कुल पूजाको पाठो तयार पार्ने, मूल खाँबो पुज्ने  लगायतका पुण्यका काममा व्यस्त थिए । घरको विधिविधान सकेर कुल पूजाका लागि मूल घर बागलुङको निसीखोला गाउँपालिका–२, बायखोला जाने तयारी परिवारको थियो । त्यसैले सूचना कार्कीले अन्दाजी ४ वर्षीय छोरा हिमस कार्कीलाई पनि सरसफाइ गरेर तयार पार्नुथियो । चकचके छोरा हिमसलाई पनि फकाउँदै र सुुमसुम्याउँदै कपडा लगाइदिँदै थिइन् । दाजुभाइमध्येकी छिमेकी सीता कार्की पनि त्यही तयारीमा थिइन् । सीताकी अन्दाजी दुई वर्षीया छोरी अनुष्काले आमाको काख छाड्न नचाहेर घरायसी काम र हिँड्ने तयारीमा अवरोध पुर्याउन खोज्दैथिइन् ।

छिमेकी हुला गाउँका अन्दाजी २५ वर्षीय चालक रेशम थापासँग जिप रिजर्भ गरेर तयारी राखिएको थियो ।  वर्षौं अघिदेखि बागलुङ निसी बयखोलाबाट बसाइँसराइ गरेर दोहली पैयाँपाटा बसाइँ आएका कार्की परिवारका सन्तती बढेर पन्ध्र सोह्र घरधुरी भइसकेका थिए । त्यहाँबाट कञ्चनपुर पुगेका अन्दाजी ५५ वर्षीय धनबहादुर कार्की पनि  कुल पूजाका लागि त्यहाँ आएका थिए । उनले पनि त्यसै दुर्घटनामा ज्यान गुमाएका छन् ।

यता नवलवसारीको बर्दघाट नगरपालिका–२ चिसापानीबाट अन्दाजी ६ वर्षीया भुमा कार्कीको पनि ज्यान गएको छ । पैयाँपाटा गाउँका एकै परिवारका तीन जनामध्ये बुहारी सूचनाको ज्यान गयो । ससुरा धनबहादुर कार्की बडिगाड खोलामा बिहानसम्म बेपत्ता थिए । अहिले उनको शव  करिब दुई किलो मिटर तल भीमगिठे नजिकै फेला परेको बुर्तिबाङ इलाका प्रहरी प्रमुख प्रहरी निरीक्ष सुरज खड्काले जानकारी दिए । योसहित दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

क्षमताभन्दा बढी यात्रु 
प्रत्येक घरबाट  एकजना कुल घरमा जानै पर्ने थियो । कुल पूजा एउटा पर्व भएकाले बालबालिका र महिलामा पनि जाने उत्सुकता हुने नै भयो । एकघरबाट तीन जनासम्म गएका थिए । जसले गर्दा चौध पन्ध्र सिट क्षमताको जिपमा २५ जना पुगे ।

अट्ने जति सिटमा बसे, नअटेका बालबालिका काखमा बसे भने कोही छतमा त कोही झुडिएर यात्रा गर्दै तल निस्तेखोला झरे । निस्तेखोलाबाट बाङ्गेको उकालो हुँदै माथि पौदी अमराईबाट तल बाग्लुङको खारा पुगे । खारा अर्थात बडिगाड गाउँपालिका  वडा नम्बर ६ मा पुगेर केही बेर गाडी रोके । त्यहाँबाट सोही गाउँपालिका वडा नम्बर ५ मा रहेकी कार्की परिवारकी चेली अन्दाजी ५५ वर्षकी लक्ष्मी केसीलाई पनि कुल पूजामा लैजाने योजना थियो ।

यी हुन् ८ जनाका भाग्यदाता
कोचाकोच अनि छतमा पनि खाँदिएर आएका यात्रु रहेको जिपमा खारा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक लालमणि भट्टराईको नजर पर्छ  र गाडी रोक्छन् । क्षमताभन्दा बढी मानिस चढेको देखेपछि भट्टराईले जिप रोकेर डाइभर (रेशम थापा) लाई सम्झाउदै बिलबुक र लाइसेन्स माग्छन् तर उनले कुल पूजामा जान रिजर्भ गरिएको गाडी भनेर छुटकारा दिन माग गरे । जिपभित्रबाट अरूको पनि त्यही भनाई आयो ।

तर भट्टराईले पछाडि झुण्डिएका सहचालकसहित ८ जनालाई झारेरै छोडे ।  ‘सानो गाडीमा धेरै सङ्ख्यामा नजानुस्, दुर्घटना हुनसक्छ, बरू अर्को गाडी खोजेर पठाउन सकिन्छ’ भट्टराईको सल्लाह थियो ।
सोही अनुसार केही समयपछि भट्टराईले अर्को भ्यानमा राखेर झरेका आठ जनालाई पठाए । रिजर्व जिप पहिले नै गइसकेको र आठजना पछि भ्यानमा गए । भ्यानमा चढेकाहरू पछिपछि जाँदा अगाडिको जिप खोलामा खसेको देखेर उद्धारमा लागे । जुन स्थान खाराबाट करिब १० मिनेटमा पुगिन्छ । अन्ततः बडिगाडबाट छुटेको करिब १० मिनेट नवित्दै सबैको ज्यान गयो  ।

संयोग खारा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भट्टराईको घर पनि गुल्मीकै मदानेगाउँपालिका वडा नम्बर २ बाँझकटेरी रहेको छ । उनलाई बडिगाड गाउँपालिकाले सम्मान गर्ने भएको छ र उनको सङ्गठन र राष्ट्रले पनि  सम्मान गर्नुपर्ने सुझाव बडिगाड गाउँपालिका प्रमुख मेयर सिंह पाइजाले दिए ।

भगवान बनेर आए ती पुलिस
इस्मा–४ हुला गाउँका कर्णबहादुर हितान जिपका सह चालक हुन् ।  उनले भने, ‘म पछाडि झुण्डिएको थिए । खारामा आईपुग्दा पुलिसले रोकेर हामी ८ जनालाई जबरजस्ती झारे । म त खलासी हुँँ, जिपमै जान्छु भनेर अड्डी लिइरहेको थिएँ । तर ती पुलिसले नमानेर भ्यानमा चढाए । उनकै कारणले हामी ८ जना बाँच्यौँ ।’ उनले त्यसरी झार्ने पुलिसलाई भगवानको संज्ञा दिए । ‘त्यो गुन कहिल्यै बिर्सन सक्दैनौँ र अबदेखि पुलिस र ट्राफिकले भनेको  कुरामा कहिल्यै अटेरी गर्दैनौ’ उनले स्मरण गरे ।

८ जनामध्येका  पैयाँपाटा गाउँका डम्बरबहादुर कार्कीका तीन भाइ पनि कुल पूजाका लागि हिँडेका थिए । तीन भाइमध्ये ४० वर्षीय दाजु महेन्द्र कार्की जिपमै बसे । उनी झण्डै २० वर्ष पछि कुल पूजा गर्न एक हप्ताअघि मात्र घर आएका थिए । उनका भाइ डम्बरबहादुर र अर्का भाइ हरि कार्कीलाई जिपबाट ओरालेर भ्यानमा खारा प्रहरी चौकीका प्रमुख भट्टराईले चढाएका थिए ।

दुर्घटन स्थलमा दाजुको शव नियाल्दै डाको छाडेर रोइरहेका भाइ डम्बरबहादुर भन्दै थिए–‘तीन भाइ हर्ष उल्लासका साथ खारासम्म सँगै आएका थियौँ । दाइ धेरै वर्षपछि इन्डियाबाट कुल पूजा गर्न आएकाले यसपालि भव्य तयारी थियो तर यस्तो हालत भयो । 

दुर्घटनालगत्तै घटना स्थल पुग्ने पहिलो व्यक्ति गुल्मी यातायात व्यवसायी सङ्घ भीमगिठे काउन्टरका प्रमुख  दीपक केसी हुन् । केसीले भने– ‘मलाई काउन्टरमा जानकारी आउन साथ घटना स्थलमा  पुगँे । कोही भीरमा आमा र बाबै गर्दै थिए, कोही छोरा र छोरी पुकार्दै थिए ।   कसैको सास मात्रै थियो । एउटी महिला श्रीमान छोरा छोरा पुकार्दै बेहोस भएको देखेँ । 

उनले भने उद्धारका क्रममा एक युवा, एक महिला र एक बालकलाई उद्धार गरी गाडीमा राखेर अस्पतालतिर पठायौँ । पछि गाडी झर्दै गरेको देख्ने भाइरू पनि आए  । उनीहरूले भन्दै थिए, गाडी केहीबेर रूखमा गएर अड्किएको थियो । तर रुख भाँचियो र गाडी तल खोला किनारमा गएर बज्रियो ।  

पिल्लर गाडाइमा झारा टराइ
मध्य पाहडी लोक मार्ग डबल लेनको हो । त्यहाँ सडक सुरक्षाका लागि सडकका किनारमा  गाडिएको डिटिनेटर (पिल्लर) झारा टर्ने मात्र देखियो । पिच गरेको छेउमा गिटी बालुवको गेग्रेटो छ । जसका कारण त्यस छेउमा ब्रेक लगाए नलगाएको देख्न सकिन्छ । त्यति फराकिलो र बीचबाटो बाट छेउसम्म पुग्दासमेत ब्रेक लगाएको देखिन्न ।  

गाडी छेउँमा पुगेर पहिलो पिलर पल्टिएको देखिन्छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो पिल्लर  ढलाउँदै गाडी सालको रूखमाथि बज्रेको थियो । त्यो रूख ढलेपछि तल बडिगाड खोलाको ढुङ्गैढुङ्ग भएको ठाउँमा पुगेर गाडी धुजाधुजा भयो । जिल्ला समन्वय समिति गुल्मीका  प्रमुख लक्ष्मण पराजुलीले उक्त जिपमा ब्रेक लक हुने समस्या भएको बताए । भीमगिठे प्रहरी चौकी प्रमुख सई रिनबहादुर बैदवारले सिट क्षमताभन्दा बढी मानिस चढेका र अनिन्यन्त्रित गतिमा चलाइएकाले दुर्घटना भएको हुन सक्ने बताउँछन ।  

दुघर्टना स्थलमा पुगेका ढोरपाटन नगरपालिका  मेयर देवकुमार नेपाली, गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्ट, बडिगाड गाउँपालिका प्रमुख मेयर सिंह पाइजा लगायतका जनप्रतिनिधिले शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पुर्याउँदा परिवारमाथि थप पीडा  हुने हुँदा  डाक्टर नै घटनास्थलमा बोलाएर हिजो साँझ पोस्टमार्टम गराएर परिवारको जिम्मा लगाएका थिए ।      
घटनास्थलको दर्दनाक अवस्था
स्थानीय प्रत्यक्षदर्शीको रूवावासीले घटना स्थलमा सन्नाटा छाएको थियो । दुर्घटना भएको थाह पाएपछि दोहली गाउाबाट पुगेका मृतकका परिवारजनमध्येकी उमाकला कार्की डाको छाड्दै मेरो श्रीमानलाई तलबाट बचाएर ल्याई देउ भन्दै थिइन् । बेपत्ता भएका धनबहादुर कार्की मेरा श्रीमान्, एउटी बुहारी (सूचना कार्की) र  घाइते भएको बालक मेरो नाति हो र अरू जेठाजु, जेठानी, देउरानी पनि परे भनेर रुवाबासी  गर्दै थिइन् । अन्य आफन्तको पनि हालत उस्तै थियो । 

साँझपखको खोलाबाट शव बोकेर ल्याइयो ।  बडिगाड गाउँपालिकाकी लक्ष्मी केसीको शव जिपमा राखेर त्यतै अन्त्येष्टि गर्न लगियो । अरू १३ जनाको शव छल्दीको हुलाकेतर्फ लगियो । चालक रेशम थापको शव बाबु भारतमा  भएको र बाटोमा आउँदै गरेकाले आज (बुधबार) गर्ने तयारी छ । अरू १२ जनाको शव भने मङ्गलबार राति नै हुलाकेमा सामूहिक  अन्त्येष्टि गरिएको थियो ।

बडिगाड गाउँपालिका मेयर सिंह पाइजाका अनुसार मध्य पाहडी लोकमार्ग बनेको करिव १४ वर्ष पछि २०७४ सालमा पनि जलजला भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । अहिलेको दुर्घटना अहिलेसम्मकै ठूलो र दर्दनाक हो । यस दुःखद् घटनाले इस्मा गाउँपालिकाले आज शोक बिदा दिएको छ । यस घटनापछिे पाहडी लोकमार्गका सडक किनारका पिलरको गुणस्तर छनविन  गरी कारबाही गर्न माग गरेकाछन् । साथै पिल्लरको सट्टामा  स्टिल बार लगाउनुपर्ने धेरैको राय छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप