बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

आइतबार, ०४ भदौ २०७४, ११ : ०३
आइतबार, ०४ भदौ २०७४

दुई/दुईपटक काँग्रेस समानुपातिक उम्मेदवार उनी संविधान लेख्ने ठाउँसम्म पुग्न सकिनन् । उनलाई पनि जनप्रतिनिधि बन्दै त्यहाँसम्म पुग्ने उत्कट चाहना थियो । भनिन्, ‘कतिले त्यही पद सजिलै पाएका छन् । कतिलाई सबैले साथ दिँदा पनि सम्भव भएन ।’ 

०३६ सालको जनमतसंग्रहताका उनी नौ कक्षामा पढ्थिन् । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, काँग्रेस मोरङ जिल्ला पूर्वउपसभापति हुँदै नवौं महाधिवेशनदेखि महासमिति सदस्यको भूमिका निर्वाह गर्दै आएकी उनी दाङ कलेजकी पूर्वस्ववियु सचिव पनि हुन् । घर/माइत दुवैपट्टि काँग्रेस । १७ वर्ष प्राध्यापन गरेकी चुनौतीसँग सिंगौरी खेल्न रुचाउने ५२ वर्षीया काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
म ‘भेजिटेरियन’ हुँ । त्यसैले दाल, भात, तरकारी नै मन पर्छ । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । रेष्टुरेन्ट पुगिहाल्दा खान मन लाग्ने स्न्याक्स यही भन्ने छैन । पकाउने रुचि भए पनि भ्याइरहेकी छैन ।  

मेरो पोसाक
पोसाकमध्ये सारी असाध्यै मन पर्छ । महँगो पोसाक लगाउँदामात्रै राम्रो भइन्छ भन्ने लाग्दैन । पोसाकमा हुने वार्षिक खर्चको हिसाब÷किताब राख्ने गरेकी छैन । ‘ब्राइट कलर’ को पोसाक मन पर्छ । विशेषतः कपडा किनेरै सिलाउने गर्छु । काठमाडौंमा घर (बानियाँटार) नजिकै र विराटनगरमा पनि चिनेकै टेलरिङसम्म पुग्छु । सकेसम्म स्तरीय कपडा लगाऊँ भन्ने लाग्छ ।  

मेरो फिटनेस
योगाको विद्यार्थी हुँ । तसर्थ, योगा गर्छु । मर्निङवाक निस्कन्छु । राजनीतिकर्मी भएकाले  नियमित गर्न भ्याइरहेकी छैन । कहिले कहाँ पुग्नुपर्छ, कहिले कहाँ । शारीरिक अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ । कहिलेकाहीं त खानाको टुंगै हुँदैन । डाइटिङ गर्नै पर्दैन ।  

मेरो अध्ययन

महेन्द्र रत्न बहुमुखी क्याम्पस विराटनगरमा १७ वर्ष प्राध्यापन गरें । त्यहाँ संस्कृति पढाउँथें । त्यतिबेला पढाउनकै लागि पनि नपढी सुखै थिएन । हिजोआजचाहिँ पत्रपत्रिकामात्रै पढ्ने गरेकी छु । 

राजनीतिकर्मी सबै विषयका ज्ञाता हुनुपर्छ । तसर्थ, धेरैजसो इन्टरनेटमै पढ्ने बानी छ । राजनीतिमात्रै होइन, साहित्यमा पनि त्यत्तिकै सफल बीपी कोइराला प्रिय लाग्छ । लामो यात्राबाट काठमाडौं फर्केकी छ,ु अबचाहिँ केही लेख्ने सोच बनाएकी छु ।

श्रीमान् पूर्वाञ्चल विश्वविद्यालयका कन्ट्रोलर हुन् । हामी दुवै एउटै कलेज पढाउँथ्यौं । उहाँ अर्थशास्त्र पढाउनुहुन्थ्यो । घरमा किताबै किताब छन् । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नेपालका ७५ जिल्ला पुगिसकेकी छु । बेलायत, अस्ट्रेलिया र भारत पनि घुमेकी छु । घुमेकामध्ये नेपाल नै मन पर्यो । नेपालको पनि मनाङले लोभ्यायो । 

मेरो फुर्सद
फुर्सद छैन भन्दा हुन्छ । जति व्यस्त रहे पनि आराम गरौं भन्ने लाग्दैन । व्यस्त जीवनमै रमाइरहेकी छु । फुर्सद भइहाल्यो भने घरकै काममा रमाउँछु । घरपरिवारलाई समय दिएको छु । परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र फिल्म हेर्न जाने गरेको छैन । 

मेरो खेलकुद
खेलकुदप्रति त्यति जानकार छैन । 

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोगमा ल्याएकी छु । दुवै सामसुङका हुन् । हराए÷बिग्रेपछि मात्रै मोबाइल किन्ने बानी छ । आफूलाई चाहिनेजति मोबाइलका एप्लिकेसन प्रयोग गरेकी छु । मोबाइलमा गेम खेल्ने समय खै ? दुवै मोबाइल सेट महँगो होइन ।  

मेरो टीभी
टेलिभिजनमा समाचार, अन्तर्वार्ता र टक शो हेर्ने गरेकी छु । बानियाँटार घरमा रहेको टीभी ठूलै छ । 

मेरो चलचित्र
चलचित्र नहेरेको धेरै भयो । त्यतिबेला हलसम्म पुगेर चलचित्र हेर्थें । मेरो बिहे संवत् २०४० मा भएको हो । त्यतिबेला हेर्न मन लाग्थ्यो । राजनीतिमा लागेपछि छुट्यो । हेरेकामध्ये चलचित्रको सम्झना रहेन । करिना कपुर, सलमान खान र मनीषा कोइराला मन पर्छ । 

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएकी  छैन । गर्ने योजना बनाए पनि गरेको होइन । म ‘भेजिटेरियन’ भएकाले पनि स्वस्थ रहेकी हुँ कि ? 

मेरो भाषणशैली
आफूले गरेको भाषण रेकर्ड गरेर सुन्ने गरेकी छु । त्यसो गरियो भने भए÷गरेका कमीकमजोरी कम गर्दै लैजान सकिन्छ । परिस्थिति, जनताको स्तर हेरेर भाषण गर्ने गर्छु । भाषण गर्नअघि तयारी गर्नुपर्छ ।   

मेरो मापसे
मापसे गर्दै गर्दिनँ ।

मेरो संगीत
गीत/संगीत सुन्छु । गीत/संगीतले यात्रामा बाटो कटाउन सहज बनाउँछ । सबै गायक÷गायिकाप्रति उत्तिकै सम्मान छ । नआए पनि कहिलेकाहीं गुनगुनाउँछु ।

मेरो भूल
मानिस हो, जानअन्जानमा भूल गरिन्छ । तर, पश्चाताप लाग्नेगरी भूल गरेकी छैन । बाल्यकालमा चकचक गर्ने, भनेको नमान्दा बुवाआमाले सजाय दिनु अस्वाभाविक होइन । भूल नगरी पनि सजाय पाइन्छ कहिलेकाहीं । 

मेरो घर
अहिले बस्दै आएको घर आफ्नै कमाइले बनाएका हौं । घरको ‘डिजाइन’ सामान्य छ । घरका मुली श्रीमान् नै हुनुहुन्छ । घर बनाउँदा लागेको हिसाब÷किताब उहाँलाई नै थाहा छ । 

मेरो राशी
मेरा राशी कर्कट हो । कर्कटलाई कडा राशी भनिन्छ । धार्मिक भए पनि ग्रहदशा, ग्रहशान्तिमा त्यति विश्वास गर्दिनँ । कर्ममा विश्वास गर्छु । 

मेरो सौन्दर्यचेत
कपालमा केही लगाउँदिनँ । एक÷दुई महिनामा फेसियल गर्छु । अनुहारमा क्रिम लगाउँछु । पफ्र्युमचाहिँ प्रयोग गर्दिनँ ।

मेरो प्रेम
सानैमा बिहे गरेकी हुँ । चिनजानपछि बिहे गर्यौं । 

मेरो सपना
राजनीति गर्नेसँग ‘भिजन’ र ‘मिसन’ हुनुपर्छ । मुलुक प्राकृतिक स्रोत साधनसम्पन्न छ । यसलाई मात्रै सही व्यवस्थापन गर्न सके अन्य केही गर्नै पर्दैन । यसलाई व्यवस्थापन गर्न सर्वप्रथम सडक सञ्जाल विस्तार गर्नपर्छ ।

मुलुकलाई समृद्ध बनाउन उद्योगधन्दा, कलकारखानालाई प्राथमिकतामा दिनुपर्छ । यहाँको पानीमात्रै व्यवस्थापन गर्न सके युवापुस्ता वैदेशिक रोजगारीका लागि अरब जानै पर्दैन । यसलाई ध्यान दिनुपर्छ । सीपमूलक शिक्षा कार्यान्वयन गर्नुपर्छ । यत्तिमात्रै गर्न सकियो भने मुलुकलाई सम्पन्न बनाउन सकिन्छ ।   

आफूमात्रै बनेर पुग्दैन । सबैलाई बनाउनुपर्छ भन्ने मान्यता राखेकी छु । केही गर्न सक्छु भन्नेमा विश्वस्त छु । 

मेरो मृत्यु
मृत्यु शाश्वत सत्य हो । मृत्युदेखि डर लाग्दैन । बाँचुन्जेल हाँसीखुसी बाँच्नुपर्छ । ‘भिजन’ र ‘मिसन’ सहित बाँच्नुपर्छ । 

यो जीवनकथा पनि पढ्नुहोस्

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप