शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपचुनावले राजपा नेपाल र समाजवादी पार्टीबीच दुरी बढ्यो कि घट्यो ?

बिहीबार, १९ मङ्सिर २०७६, ०९ : २०
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका लागि लामो समयसम्म कुरा चले पनि हाल सेलाएको छ ।

समाजवादी पार्टीले सरकार नछाड्ने निर्णय गरेपछि राजपा नेपालले एकीकरणको पहलमा पूर्णविराम लगाएको छ । समाजवादी पार्टीले सरकार नछाड्ने र सरकार नछाडेसम्म राजपा नेपालले एकीकरण नगर्ने भएपछि एकीकरणको चहलपहल पनि सेलाएको हो ।

हालै सम्पन्न उपनिर्वाचनमा आएको परिणामले दुईटै दललाई निराश बनाएको छ । ती दलहरुले गरेको अपेक्षाभन्दा कम सीट आइदिएपछि दुवै दलका नेताहरु निराश देखिएका छन् । यद्यपी उपचुनावको परिणामले दुई दललाई एक हुने सन्देश दिएको स्वयम् नेताहरु बताउन थालेका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले तालमेल गरेर निर्वाचनमा भाग लिए पनि स्थानीय तहको चुनावमा दुवै दलका बीच तालमेल भएको थिएन ।

समाजवादी पार्टीले स्थानीय तहको चुनावमा देशैभरि भाग लिएको थियो भने राजपा नेपालले दुई नम्बर प्रदेशमा मात्र भाग लिएको थियो । प्रदेश २ मा मात्र समाजवादी पार्टीले २६ वटा स्थानीय जितेको थियो भने राजपा नेपालले २५ वटामा जित हात पारेको थियो ।

यता, प्रतिनिधिसभाको चुनावमासमाजवादी पार्टीले पाँच लाख २७ हजार ९२४ मत ल्याएर १० समानुपातिक र ६ समानुपातिक सदस्यसहित १६ सीट हात पारेको छ । त्यस्तै, प्रदेश २ मामात्र चुनावमा भाग लिएको राजपा नेपालले प्रतिनिधिसभा चुनावमा चारलाख ५८ हजार ४०९ मत ल्याएर प्रत्यक्षमा ११ र समानुपातिकमा ६ गरी १७ वटा सीट हात पारेको थियो । निर्वाचन परिणाम हेर्दा समाजवादी पार्टीले देशभरि संगठन रहेको दावी गरे पनि प्रदेश २ मामात्र संगठन रहेको प्रष्ट हुन्छ ।

यसपटको चुनावमा पनि समाजवादी पार्टीले प्रदेश २ मा मात्र चारवटा वडा जितेको छ भने राजपा नेपालले प्रदेश २ मा दुई र प्रदेश ५ मा एक गरी तीनवटा वडामा जितेको छ । राजपा नेपाल यसपटक एउटा सीट पाँच नम्बर प्रदेशको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० को वडाअध्यक्ष पनि जितेको छ ।

नेताहरु भन्छन्, यो उपचुनावले एउटा प्रष्ट सन्देश दिएको छ– मधेश केन्द्रीत दलहरुबीच गठबन्धन गर । राजपा नेपालका महासचिव एवम् प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले भने, ‘उपचुनावले दिएको सन्देश भनेको गठबन्धन गर भन्ने नै हो ।’

नेपाली राजनीतिमा गठबन्धनको संस्कार राम्रो देखिएको र त्यही अनुसार समाजवादी पार्टी र राजपा नेपालबीच गठबन्धन हुनुपर्ने सन्देश यो उपचुनावले दिएको उनको भनाइ छ । तर गठबन्धनमा इमान्दारीता र विश्वास कायम राख्न आवश्यक रहेको उनले बताए । ‘महोत्तरीको दुईटा वडामा यी दुई दलबीच तालमेल थियो तर समाजवादी पार्टीले एउटा वडा जित्यो र राजपा नेपाल अर्को वडामा हा¥यो, त्यो किन भयो खोजी हुनुपर्ने हो,’ उनले भने, ‘हामीले गठबन्धन गरेको भए महोत्तरीको पिपरा, रौतहटको वडा लगायत ठाउँहरुमा जित्थ्यौँ तर त्यसो हुन सकेन ।’

उनले भने, ‘यो उपचुनावले गठबन्धनको सन्देश दिएको छ, एकताको होइन ।’ उनले अगामी चुनावका लागि अहिलेदेखि दुई दलको बीचमा गठबन्धनका लागि गृहकार्य र तयारी गर्न आवश्यक देखिएको बताए ।

चुनाव र उपचुनावको परिणाम हेर्दा दुवै दलको संघर्ष प्रदेश २ मा मात्र हुने देखिएको छ । त्यसैले दुवै दल मिल्नुपर्छ भन्ने दबाब पनि परिरहेको छ । तर, दुवै दलको आ–आफ्नो शर्तका कारण एक वर्षभन्दा बढी समयदेखि एकताका लागि भइरहेको प्रयास जस्ताको त्यस्तै छ ।

समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव भन्छिन्, ‘प्रदेश २ मा जुन परिणाम देखिएको छ, त्यसले दुवै दललाई एक हुने दवाव नै हो तर राजपा नेपालका कारण एकीकरणमा समस्या भएको छ ।’ उपचुनावमा पनि दुवै दल तालमेल गरेको भए प्रदेश २ को सबै परिणाम हात पर्न सकिने थिाये भन्ने उनको विश्लेषण छ । तर, दुवै दलका नेताहरुको आ–आफ्नै स्वार्थ, खासगरि राजपा नेपालका नेताहरु बीचको खिचातानीका कारणले तालमेल नभएको उपाध्यक्ष यादवको तर्क छ । उपचुनावमा आएको परिणामले दुवै दलबीचको दुरी घट्नुपर्ने हो तर हालसम्म त्यसको लक्षण नदेखिएको उनले बताइन् ।

राजपा नेपालले उपचुनावमा समाजवादी पार्टीसँग तालमेल गर्ने भनेर निर्णय नै गरेको थियो । यदि तालमेल गरेको भए महोत्तरीको पिपराको सीट गुम्ने थिएन भन्ने बुझाई राजपा नेपालका नेताहरुको छ । यसअघि, पिपरा गाउँपालिकामा राजपा नेपालले अध्यक्ष पद जितेको थियो तर उपचुनावमा नेकपाले बाजी मार्यो । यदि समाजवादी पार्टीसँग तालमेल भएको भए राजपा नेपालले जित्ने निश्चित नै थियो । तर समाजवादी दलले जानीजानी राजपा नेपालसँग तालमेल नगरेको राजपा नेपालका एक नेताले गुनासो गरे ।

राजनीतिक विश्लेषक जयनिशान्त भन्छन्, ‘यदि राजपा नेपाल र समाजवादी पार्टी साँच्चै एकीकरणका लागि तयार छन् भने यो चुनावमा तालमेल गरेर एउटा सन्देश दिनुपथ्र्यो तर उनीहरु त्यसमा चुकेका छन् ।’ दुवै पार्टीबीच एकीकरण हुँदैछ भनि धेरै पहिलादेखि कुराकानी हुँदै आइरहेको थियो तर चुनावमा त्यसको प्रमाण दिन नसकेको उनले बताए ।

रणनीतिक रुपमा दुवै पार्टीबीच चुनावी तालमेल हुँदा नै राम्रो हुने उनको भनाइ छ । यदि एकीकरण नै गर्ने हो भने आन्तरिक लोकतन्त्रको सम्मान गर्दै, मधेशको स्वार्थलाई प्राथमिकतामा राखेर पार्टीको लोकतान्त्रिक पद्धति अनुसार हुनुपर्ने उनले बताए । यद्यपी यो उपचुनावले मात्र दुई दलबीचको सम्बन्धलाई विश्लेषण गर्न नसकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप