बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन पंकजको जीवन संघर्ष : कसरी बने वकिल ?

बिहीबार, १९ मङ्सिर २०७६, १३ : ०७
बिहीबार, १९ मङ्सिर २०७६

नयाँदिल्ली । ‘दृष्टिकोण नै जीवनको सबै कुरा हो, यदि तपाईं आफूभित्रको कमीलाई हेरिरहनु हुन्छ भने प्रयास कहिले गर्नुहुन्छ ? मानिसहरुले हामीप्रति सहानुभूति जगाउनुभन्दा आफ्नो आँखाबाट पर्दा हटाएर हाम्रो हौसलालाई हेर्नुपर्छ ।’

यी शब्द दृष्टिविहीन हुनका बाबजुद आफ्नो हौसला र हिम्मतका बलमा वकालतको दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाउन सफल पंकज सिन्हाको हो । उनी भारतको झारखण्ड राज्यको रामगढ निवासी हुन् ।

उनको प्रारम्भिक जीवन निकै कठिन रह्यो । दृष्टिविहीन भएकै कारण उनले पाइला पाइलामा चुनौती सामना गरे । तर जुझारु स्वभावका उनले हरेक चुनौती पार गर्दै कानुनको क्षेत्रमा समाजका कमजोर समुदायको आवाज बनेर एउटा उचाई हासिल गरेका छन् ।

दिल्ली उच्च अदालतमा उनको च्याम्बर छ । च्याम्बरको ढोकामा उनको ‘नेम प्लेट’ छ, जहाँ उनको नाम अंग्रेजी, हिन्दी भाषाका अतिरिक्त ब्रेल लिपीमा पनि लेखिएको छ ।

माटोबाट बनाइएको अक्षर छोएर पढाइ
३८ वर्षीय पंकजको परिवारमा कानुन विषय पढेका कोही थिएनन् । उनका पिता अजित सिन्हा रेलवेमा काम गर्दथे भने आमा उषादेवी सरकारी विद्यालयमा पढाउँथिन् । सन् २०१६ मा पंकजको पिताको निधन भयो ।

जन्मजात दृष्टिहीन भएका कारण उनका आमाबुवालाई ७ सन्तानमध्ये उनकै बढी चिन्ता हुन्थ्यो । उनका आमाबुवाले उपचारको प्रयास नगरेका पनि होइनन् । उनलाई सुरुमा राँचीको सरकारी अस्पताल लगियो । त्यसपछि पञ्जाव र अन्तिममा दिल्लीको एम्स अस्पताल पनि लगियो । तर, कुनै पनि प्रयासले पंकजको आँखामा रोशनी ल्याउन सकेन ।

परिवारजन उनलाई ‘बिचरा’को उपमा दिएर सहानुभूति दिइरहेका हुन्थे । यद्यपि सानै उमेरमा उनी आफ्नो भविष्यका लागि सपना बुनिरहन्थे ।

सन् १९९६ तिर फर्कदैँ पंकज भन्छन्, ‘त्यतिबेला म ८ कक्षामा पढ्थेँ, त्यतिबेला बलिउड फिल्ममा वकिलहरुका कुरा सुनेर म यो पेशामा आकर्षित भएँ ।’

घरमा उनकालागि सबैले चिन्ता गर्ने भए पनि उनको लाचारीबारे खुलेर कसैले केही भन्दैनथे । ‘मेरो लाचारीबारे मेरैसामु कसैले केही भन्दैनथे,’ उनले भने, ‘तर मेरा पछाडि उनीहरु दुःखी हुन्थे, तर मेरो सोच्ने र बुझ्ने तरिका अलग हुन्थ्यो ।’

उनले दृष्टिविहीनहरुका लागि खुलेको विद्यालयमा अध्ययन गरे । उनका भाइहरुलाई हजुरबुवाले माटोबाट ‘क’ ‘ख’ ‘ग’ जस्ता अक्षरका आकार तयार पार्न लगाउनुहुन्थ्यो । उनी त्यसलाई छोएर अक्षर चिन्ने गर्थे ।

पिताबाट ५ हजार रुपैयाँको लालच
उनी १२ कक्षामा पढ्दा वकालत गर्ने आफ्नो इच्छा प्रकट गरे । घरमा सबैजना उनका विरुद्ध उभिए ।

बुवाले उनको ध्यान अन्यत्र मोड्न उनलाई एक प्रकारको चुनौती दिए । दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफेन्स कलेजमा भर्ना भएमा उनलाई ५ हजार रुपैयाँ दिने प्रस्तावसहितको चुनौती बुवाबाट आयो ।

बुवाले उनलाई कुनै कलेजमा प्रोफेसर वा शिक्षक बनाउन चाहन्थे । परिवारले उनका लागि त्यो नै सुरक्षित करिअर हुने ठानेको थियो । त्यसैले उनलाई सेन्ट स्टिफेन्स कलेजमा हिन्दी विषयमा ग्रेजुएसन गराउन बुवाले ५ हजार रुपैयाँको लालचसहित भर्नाका लागि प्रेरित गरिरहेका थिए ।

पैसाको लालचमा पंकजले तयारी थाले । मेहनतको फल मिठो हुन्छ भनेझैं उनी सेन्ट स्टिफेन्स कलेजमा भर्ना भए । त्यहाँबाट उनले इतिहास विषयमा डिग्री हासिल गरे । तर पनि उनको मनमा कालो कोट नै झुल्किरहन्थ्यो । उनले आफ्ना आमाबुवालाई जसोतसो मनाएर दिल्लीकै क्याम्पस ल सेन्टरमा पढाइ गरे ।

कसरी पढे कानुनका किताब ?
पंकजका अनुसार कलेजमा उनका शिक्षकले किताबका सफ्ट कपी दिन्थे जो अडियो फरम्याटमा हुन्थ्यो । उनलाई सहपाठीहरुले पनि निकै साथ दिन्थे । उनीहरु किताब पढेर पंकजलाई सुनाउँथे वा कुनै निजी कम्पनीमा ब्रेल लिपीमा पुस्तक छपाइदिन्थे । ब्रेल लिपीमा किताब छपाउन निकै महँगो पर्ने भएकाले अत्यावश्यक किताबमात्र उनले छपाउन दिन्थे ।

अन्ततः उनले यो चुनौतीलाई पार गरिछाडे । अध्ययन सकेर उनले वकालत थाले । प्रारम्भमा उनले एक एनजिओ र एक सिनियर वकिल (दृष्टिबाधित)सँग काम गरेपछि निजी वकालत सुरु गरे । ‘सुरुमा मानिसहरु मसँग आउन संकोच मान्थे,’ उनले भने, ‘तर वकालतमा राम्रो पकड भएका कारण एक वा दुई बैठकमै उनीहरु आफ्ना मुद्दा मलाई मुद्दा दिन्थे ।’

कुनै मुद्दामा काम सुरु गर्दा उनीमाथि एउटा चुनौती थपिन्छ– मुद्दा कसरी तयार गर्ने भन्ने । पंकज भन्छन्, ‘उच्च अदालत होस् या सर्वोच्च अदालत, भारतको कुनै पनि अदालतमा दृष्टिबाधित वकिलका लागि सहुलियतका लागि सोचिएको छैन ।’ दृष्टि नभएकाहरुका लागि सहुलियतको नाममा बाटोमा ‘¥याम्प’ बनाउने र लिफ्टको सुविधाबाहेक अरु केही नरहेको उनको भनाइ छ । वकिलको लाइब्रेरीमा केही पुस्तकलाई छाडेर अरु महत्वपूर्ण पुस्तकहरु ब्रेल लिपीमा उपलब्ध नरहेको उनले बताए ।

‘लाइब्रेरीमा सायदै कुनै कम्प्युटर होला जसमा दृष्टिबाधित मानिसका लागि सफ्टवेयर होस्,’ उनले भने । यद्यपि पंकज हताश हुँदैनन् । कुनै न कुनै प्रकारले उनी चुनौती सामना गर्दछन्, चुनौती सामना गर्ने सन्दर्भमा समाधानका बाटो पनि आइहाल्छ ।

उनी मुद्दाका लागि आफैं ब्रेल लिपीमा लेखेर नोट बनाउँछन् । विपक्षी वकिलका दस्तावेजलाई पनि उनी आफैँ टिप्छन् । त्यसमा उनले जुनियर वकिललाई रिसर्चको जिम्मेवारी दिन्छन् ।

पंकज सिन्हा त्यही वकिल हुन् जसले सन् २०११ मा श्रवणशक्ति नभएका मानिसले पनि ड्राइभिङ लाइसेन्स पाउनुपर्छ भनेर मुद्दा लडेका थिए र उनले त्यो मुद्दा जिते । यो मुद्दा धेरै चर्चित भयो ।

पंकजको प्रेमकथा
उनको विवाह रेखा रानीसँग भयो । रेखा भने दृष्टिबाधित होइनन् । आखिर के देखेर पंकजसँग विवाह गर्न रेखा राजी भइन् ? रेखा भन्छिन्, ‘पंकजको इमादारी, वकालतमा राम्रो पकडजस्ता कुराले नै म आकर्षित भएँ ।’
उनीहरुको भेट एउटा गैरसरकारी संगठनमा भएको थियो । उनीहरु नजिकिँदै गए । सुरुमा रेखाका परिवार यो सम्बन्धमा राजी थिएनन् । रेखा भन्छिन्, ‘आमाले मलाई आफ्नो निर्णय पुनर्विचार गर्न भन्नु भएको थियो ।’

दृष्टिविहीनसँग विवाह गर्दा आफूमा समेत कुनै खोट भएको सन्देश समाजमा जाने भन्दै उनलाई परिवारले रोक्न धेरै प्रयास गरेको थियो । पंकज दृष्टिविहीन हुनुको तुलनामा उनको क्षमता निकै अग्लो महसुस गर्दै रेखाले जीवनसाथीका रुपमा रोजिन् । अन्ततः सन् २०१२ मा उनीहरुको विवाह भयो ।

पंकज र रेखा हाल एउटा गैरसरकारी संस्था पनि चलाउँछन् । उनीहरुको एक छोरा छन् । –बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप