बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
१६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस

गाउँघरका ‘नर्स’-जसले बचाएका छन् गर्भवती र नवजात शिशुको ज्यान

बिहीबार, १९ मङ्सिर २०७६, १५ : २८
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका महिला स्वयं सेविकाहरूको सम्मानमा आज १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइँदैछ । यसपटक ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका’ भन्ने मूल नारा रहेको छ ।  
 
नेपालमा आर्थिक वर्ष  २०४५/४६ देखि महिला स्वास्थ्य स्वयं सेविकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवाको उपयोग तथा महिला सशक्तीकरणको सुधारका क्षेत्रमा विशेष योगदान गर्दै आएको छ ।  

त्यसो त नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान निर्वाह गर्ने महिला स्वयं सेविकाको आवश्यकता नै नेपालमा रहे नरहेको बारेमा बहस चलने गरेको छ । खासगरी, स्वास्थ्य क्षेत्रमा भएको विकास र परिवर्तनपछि अब महिला स्वयं सेविकालाई एक तह स्तरोन्नतीकरण गर्ने र यो भूमिकालाई बन्द गर्ने भन्नेबारेमा पनि निकै चर्चा चलेको थियो । यद्यपि यसबारेमा अझै ठोस निर्णय भने भइसकेको छैन ।

स्वास्थ्य सुविधा राम्ररी पुगिनसकेको गाउँघरतिर नर्सकै भूमिकामा प्रस्तुत हुने गर्छन् स्वास्थ्य स्वयं सेविका । स्वास्थ्यसम्बन्धी उनीहरूको ज्ञानकै कारण गाउँघरतिर धेरैले विशेषतः गर्भवती र नवजात शिशुले अकालमा ज्यान गुमाउनबाट जोगिएका छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुइतुईका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयं सेविकाले गाउँ गाउँमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् । उनीहरूले समुदाय स्तरमा मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष योगदान पुर्याइरहेका छन् ।

स्थानीय समाज, संस्कृति र समुदाय बुझेका स्वयं सेविकाले स्वास्थ्य आमा समूहको परिचालन र स्थानीय स्वास्थ्य संस्थासँग आबद्ध भई अन्य काम पनि गरिरहेका छन् । 

महिला स्वास्थ्य स्वंय सेविकाले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधन, गर्भवती र सुत्केरीपश्चात आइरन चक्की वितरणसँगै स्वास्थ्यको बारेमा सन्देश फैलाउँदै आएका छन् ।

बाल स्वास्थ्यअन्तर्गत भिटामिन ‘ए’, झाडापखाला लागेका बच्चालाई जीवनजल तथा जिङ्क चक्की र जुकाको औषधि वितरण लगायत स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्दै आएका छन् । 

स्वयं सेविका दिवसकै अवसरमा महाशाखाले ‘महिला स्वास्थ्य स्वयं सेविकाको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अनुभव आदान प्रदानसहित नयाँ प्रविधिको प्रयोगमार्फत् सूचना र समसामयिक विषयमा ज्ञान र सीप अभिवृद्धिका लागि हुँदै आएका प्रयासलाई आगामी दिनमा निरन्तरता दिइने’ जनाएको छ ।  

‘महिला स्वास्थ्य स्वयं सेविकाको सेवालाई सङ्घीय संरचना अनुकूल बनाउन तथा सेवा प्रवाहमा समयसापेक्ष परिमार्जन गर्न हाल महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका रणनीति परिमार्जनको अन्तिम तयारीमा रहेको’ निर्देशक तुइतुईले बताइन् । 

नेपालको सहरीभन्दा पनि ग्रामीण क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविकाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सबैले उनीहरूको सम्मान गर्नुपर्ने सरकारको भनाइ छ ।
 
वर्षमा झण्डै एक लाख सुत्केरीलाई सेवा 
महिला स्वास्थ्य स्वयं सेविकाले घरमै प्रसूति सहायता समेत प्रदान गर्दै आएका छन् ।   आ.व. २०७४÷७५ मा महिला स्वास्थ्य स्वयं सेविकाले ९७ हजार ५ सय ५० सुत्केरीलाई ‘मायाको अँगालो’ तथा सेवा प्रदान गरेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको भनाइ छ । साथै ९३ हजार ४ सय ७७ लाई नाभी मलम लगाउन सघाए भने २३ हजार ३ सय २० जनालाई सुत्केरीपश्चात रक्तश्राव रोक्न मिसोप्रोस्टल चक्की वितरण गरेका छन् ।  
२०७४/७५ मा महिला स्वास्थ्य स्वयं सेविकाले  प्रदान गरेको प्रसूति सेवा

१ लाख २६ हजार ३ सय २९ सङ्क्रमित बच्चाको कोट्रिममार्फत उपचार
महिला स्वास्थ्य स्वयं सेविकाले आर्थिक वर्ष २०७४/७५ मा १ लाख २६ हजार ३ सय २९ सङ्क्रमित बच्चालाई कोट्रिममार्फत उपचार गरेको सरकारको भनाइ छ । महिला स्वास्थ्य स्वयं सेविकाले राष्ट्रिय खोप दिवसको अवसरमा ५ वर्षमुनिका बालबालिकालाई पोलियो खोप लगाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

त्यस्तै श्वासप्रश्वास सङ्क्रमण, झाडापखाला, पोषण र अन्य जनस्वास्थ्यका गतिविधिमा समुदायमा आधारित व्यवस्थापन र उपचार सेवा प्रदान गर्नेमा महिला स्वयं सेविकाको महत्त्वपूर्ण भूमिका रहेको छ । 
महिला स्वास्थ्य स्वयं सेविकाले प्रदान गरेको सेवा  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप