शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको पानी काठमाडौँ आउन अझै एक वर्ष लाग्ने, सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको काम धमाधम (भिडियोसहित)

बिहीबार, १९ मङ्सिर २०७६, १८ : ५१
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आइपुग्न अझै एक वर्ष लाग्ने भएको छ । अघिल्लो वर्ष पुसमा इटालियन ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजना छोडेपछि बाँकी काम पूरा गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएको र काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने देखिएको खानेपानी मन्त्रालयले जनाएको छ । सो कम्पनीसँग गत असोजमा १५ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।  

खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाको बाँकी काम गरिरहेको कम्पनी सिनो हाइड्रोसँग गरेको सम्झौता अनुसार काम भइरहेको बताउँदै मन्त्रालयले नियमित रुपमा अवलोकन गरिरहेको जानकारी दिइन् ।

खानेपानी सचिव माधव बेल्वासेले एक वर्षभित्रमा मेलम्चीको बाँकी काम सकी काठमाडौँबासीलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको उल्लेख गरे । 

सो कम्पनीलाई १ वर्षभित्र सुरुङ र १५ महिनामा हेडवक्र्स सम्पन्न जिम्मेवारी दिइएको हो । आयोजनाको मुख्य काममा रुपमा रहेको हेडवक्र्स भनेको खोलामा बाँध बाधेर  सुरुङभित्र पानी ल्याउने काम हो । 

सो कम्पनीलाई ८५ करोड १ लाख लागतमा सुरुङको काम र १ अर्ब २ करोड ८२ लाख रुपैयाँमा हेडवक्र्स बनाउने जिम्मा दिइएको हो ।  टनेल अडिट मार्ग तथा ३ वटा भेन्टिलेटर राख्ने काम बाँकी छ । 
मेलम्चीबाट ल्याइने दैनिक १७ करोड लिटर पानीले काठमाडौं उपत्यकाका झन्डै १ लाख ५८ हजार परिवारलाई अर्थात १३ लाख बासिन्दाका लागि वितरण गरिनेछ ।  

आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध–चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ । 

मेलम्ची नजिकै रहेका याङ्ग्री र लार्के खोलाको पानी ल्याउन एसियाली विकास बैंकले सहयोग गर्ने बताएको छ भने त्यसका लागि पहिला मेलम्चीको पानी काठमाडौंमा वितरण भइसक्नुपर्ने उसको सर्त छ । मेलम्चीको पानी ल्याउने ठाउदेखि लार्के खोलासम्म  ११ किलोमिटर सुरुङ बनाउनुपर्नेछ । 

याङ्ग्री र लार्के खोला आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) इटलीको परामर्शदाता कम्पनी इप्टिसाले तयार पारिसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

यी दुई खोलाबाठ पानी ल्याउनका लागि ३ सय ६० रोपनीभन्दा जमिन अधिग्रहण गर्नुपर्ने र यसका लागि १६ करोड रूपैयाँ मुआब्जा निर्धारण गरिएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । 

सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको काम धमाधम
यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भाग आउँदो पुसभित्र निर्माण सम्पन्न हुने भएको छ । खानेपानी मगर, मन्त्रालयका सचिव माधव वेल्वासे, मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्री लगायतको टोलीले आयोजनास्थल अवलोकन गरेको हो । 

पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो । 

बिहीबार आयोजनास्थलको अवलोकनका क्रममा खानेपानी मगरले पानी प्रशोधन केन्द्रको दोश्रो खण्डका रुपमा रहेको साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम द्रुत गतिमा अघि बढेको बताउँदै छिट्टै परिणाम दिने उल्लेख गरिन् । 

काठमाडौ उपत्यका खानेपानी लिमिटेड मार्फत बागमति सुन्दरीजलको पानी काठमाडौंमा वितरण गरिने मुहान नजिकै अवलोकन गरेको बताउँदै मन्त्री मगरले पानीको मुहानको अवस्था, पानीको स्रोत संरक्षण, व्यवस्थापनका बारेमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको जानकारी दिइन् । मन्त्री सँगै केयूकेलका पदाधिकारी पनि अवलोकनका लागि सो स्थानमा पुगेका थिए । 

मन्त्री मगरले पानी प्रशोधन प्रणालीको अवलोकन गर्नुका साथै मेलम्चीबाट पानी आउने सुरुङमार्ग भित्र भएको कामको पनि अवलोकन गरेकी थिइन् । 

मेलम्चीबाट काठमाडौं पानी आइपुग्दा दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउने खानेपानी सचिव माधव बेल्वासेले जानकारी दिए । 

पानी प्रशोधन केन्द्रमा दैनिक २ सय २५ किलोवाट बिद्युत उत्पादन प्लान्ट समेत राखिएको छ । 

मेलम्ची २ आयोजना अन्तर्गत काठमाडौंमा पानी प्रशोधन र वितरण गर्नका लागि भौतिक संरना र पाइपलाइन बिस्तारको काम गरिएको छ । 

उपत्यकाका १० स्थानमा ७ करोड ५० लाख लिटर क्षमताका १० वटा ट्यांकी निर्माण गरिएको छ । ललितपुरको खुमलटारमा २ वटा, भक्तपुरको कटुन्जे, महांकाल, आरुबारी, बालाजु, बाँसबारी, भक्तपुरको टिगेनीमा पानी संकलन केन्द्र स्थापना गरिएको छ । 

यस्तै खानेपानीको पाइपलाइन बिछ्याउने, भल्भ चेम्बर, फायर हाइड्रेन्ट र घरघरमा धारा जडान गर्नेलगायतका काम पनि सम्पन्न गरेको छ ।

हेर्नुहोस् भिडियोः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप