शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीजका पक्षमा वकालत गरिएको होइन

आइतबार, ०४ भदौ २०७४, १२ : १२
आइतबार, ०४ भदौ २०७४

लीला लुइटेल

केही समययता प्रगतिशील विचार राख्नेहरूले विरोध र व्यङ्ग्यको तारोचाहिँ तीज र दसैँलाई बनाएको पाइन्छ । त्यसमा पनि तीजको दर खाने खुवाउनेका विरुद्ध अनेक प्रकारका व्यङ्ग्यमूलक प्रस्तुतिले पत्रपत्रिका एवं सामाजिक सञ्जाल रङ्गिएका छन् । हरितालिकाको अगिल्लो दिन चेलिबेटीलाई बोलाएर दर खानेखुवाउने प्रचलन नेपाली समाजमा परापूर्व कालदेखि चल्दै आएको हो । छोटै समयका लागि भए पनि बुहार्तनबाट मुक्त भई स्वच्छन्द ढङ्गले दिदीबहिनीहरू एकआपसमा मनोरञ्जन गरुन्, मिठोमसिनो खाउन्, सुखदुख साट्न सकुन् भन्ने उद्देश्यबाट प्रेरित भई यसरी माइतीले बोलाएर दर खुवाउने चलनको विकास भएको हुनुपर्छ । 
सहनशील एवं इमानदार नोकर तथा जिउँदोजाग्दो, विवेकशाली र संवेदनायुक्त मेसिनका रूपमा हेरिने नेपाली बुहारीहरूले भोग्नुपर्ने बुहार्तन समाजबाट पूर्ण रूपमा हटिसकेको नभए पनि केही समययता परिस्थिति कछुवाकै चालमा भए पनि क्रमशः परिवर्तन हुँदैछ । समयले नेपाली नारीहरूलाई घरबाहिर निस्केर पुरुषसरह प्रतियोगितामा भिडी आर्थिक रूपले सबल हुने मौका आंशिक रूपमा भए पनि प्रदान गरेको छ । अर्काेतिर माइती पक्षले छोरीको कमाइ खान नहुने भन्ने सङ्कुचित विचार पनि अब क्रमशः परिवर्तन हुँदैछ । तीजको दरखाने दिन आफन्तजतिलाई बोलाएर एकै ठाउँमा भेला हुन सबैलाई समय नमिल्न पनि सक्छ । अनि घरबाट बाहिर निस्केका कामकाजी महिलाका लागि उपयुक्त समय मिलाउन पनि निकै कठिन छ । अर्काे कुरा अब चेलीले मात्र माइत गएर खानुपर्छ भन्ने छैन, सक्षम चेलीबेटीले पनि आफ्ना आमा, दिदीबहिनी, काकी, फुपू, माइजू, भाउजूबुहारी, भदाभदैलाई बोलाएर खुवाउन र उपहार दिन सक्छन् । त्यसैले सबै आफन्तसँग सल्लाह गरी कुन दिन कसकहाँ भेला हुने भनी योजना बनाउनु पर्ने कारणबाट समय लम्बिएको हुनुपर्छ । यसरी आर्थिक रूपले सबल हुँदै गएका महिलाहरूले आफन्तसँग भेटघाट गर्ने चाँजो मिलाउँदा विकृति कसरी भित्रिन्छ ? यसरी योजनाबद्ध ढङ्गले चेलीमाइती पालैपालो एक ठाउँमा भेटघाट गर्न हुन्छ कि हुँदैन ?  
तीजको विरोध गर्दा खानेखुवाइने कुराको विरोध पनि प्रशस्तै सुनिन्छन् । नेपालका कतिपय जातिमा प्रचलित धार्मिक एवं सांस्कृतिक पर्वमा मद्यमांसको प्रयोग अनिवार्य हुन्छ । कतिपय जातिमा एक हप्तासम्म हुने जात्राका लागि जात्राको सुरुकै दिन पकाएर राखिएका परिकार जात्रा नसिद्धिएसम्म घरमा बोलाइने पाहुनापासालाई बासी नै खुवाउनु पर्ने प्रचलन रहेको कुरा मैले सम्बद्ध क्षेत्रकै साथीहरूबाट जानकारी पाएकी हु“ । तीजको दरमा सामान्यतया मद्यमांसको प्रयोग गरेको मैले त्यति देखेको छैन । हाम्रा समाजमा प्रचलित कतिपय धार्मिक एवं सांस्कृतिक पर्वमा मासु र रमरमे पदार्थको प्रयोग अनिवार्य मानिन्छ । अझ हाम्रा कतिपय चाडपर्वहरूमा त ईश्वरका नाममा पशुबलि दिनुपर्ने प्रचलन पनि छ । आफ्ना कलिला लालाबालाको मुख मोसी अन्न कुहाएर तयार पारिएको मादक पदार्थ विभिन्न चाडपर्वमा सगुन एवं ईश्वरको प्रसादका निहुँमा प्रयोग गर्ने प्रचलन हाम्रै समाजमा छ । यसले व्यक्तिको स्वास्थ्यमा हानि गर्छ भन्ने कुरा कसैलाई भनिरहनु पर्ला र ? यसले कतिपय पारिवारिक एवं सामाजिक सम्बन्धमा पनि धमिरा लगाएको हाम्रै आँखाअगाडि छ । यसरी चाडबाडका निहुँमा शरीर र चेतनाले नै थेग्न नसकी आपूmलाई सम्हाल्न नसक्दा पारिवारिक एवं सामाजिक सम्बन्ध त कहाँ पुग्छ कहाँ, यसको प्रभावले दुर्घटना एवं झैझगडा भई व्यक्तिको ज्यानै गएको घटना हामीले देखेसुनेका र भोगेका छैनौँ र ? अझ अर्काे कुरा यस्ता रमरमे पदार्थ बनाउन अचेल त झन् युरिया मलको प्रयोग हुने कुरा पनि हामीले सुनेकै हो । एक्काईसौँ शताब्दीको विद्युतीय युगमा आइपुग्दा पनि जानीजानी व्यक्ति समाज एवं देशलाई नै हानि गर्ने मादक पदार्थको प्रयोग ईश्वरको प्रसाद एवं सगुनका निहुँमा प्रयोग गर्नु अनि बासीतासी खुवाउनुचाहिँ संस्कृतिको संरक्षण हुने अनि वर्ष दिनमा एकपटक चेलीबेटीहरू बोलाएर आफ्नो गच्छेअनुसार एक छाक खानुखुवाउनुचाहिँ विकृति हुने किन ? 
तीजको दर तारे होटलमा खाए रे, असीमित खर्च गरे रे, यसले सामाजिक विभेद सिर्जना ग¥यो रे भनी यसको आलोचना गरेको सुनिन्छ । तीजमा दिदीबहिनी जम्मा भएर रमाइलो गर्ने आफ्नो स्तरका सँग हो । सम्पत्ति हुनेले त दैनिक नै तारे होटेलबाट नै मगाएर खाएका छन् त । त्यस्तालाई त तीजको दर पर्खनै पर्छ र ? अनि अलिअलि हुनेखाने पुरुषले क्यासिनो, बार तथा रेडलाइट एरियामा गएर पैतृक सम्पत्ति नै स्वाहा पारेको हामीले सदासर्वदा देखिरहेकै छौँ त । पास्नी, जन्मदिन, गुन्युचोलोे, ब्रतबन्ध, विवाह, वैवाहिक वर्षगाँठजस्ता सामाजिक संस्कार एवं क्रियाकलापमा वातावरण नै प्रदूषित हुने गरी धुवाँ उडाई बार्बिक्यु गर्नुपर्ने र बिजुली पानीको खोलो बगाउनुपर्ने अनिवार्य भइसकेको स्थिति हामीले देखिभोगिरहेकै छौँ । अझ अहिले त हिन्दी सिरियलका प्रभावमा परेर हाम्रो परम्परामै नभएका मेहन्दी, हल्दी, सङ्गीतजस्ता कार्यक्रमहरू विवाहका अवसरमा समावेश गरिनु अनि ‘ड्रेसकोड’ समेत तोकेर आफन्तलाई समेत तनाव एवं बोझ दिनु तथा गोडा धुँदा प्रयोग हुने चाँदीका करुवा तथा खड्कुलो पनि हामीले देखेका छैनौँ र ? यस्ता अनेकौँ ढोँगी एवं देखावटी क्रियाकलापले हाम्रो समाजमा केही असर गरेकै छैन त ? हाम्रा मिथ एवं किंवदन्तीलाई रुढिवाद भनेर खिल्ली उडाउँदै क्रिसमसताका गरिने स्यान्टाक्लजलगायतका अन्य कतिपय मिथ हाम्रा केटाकेटीको दिमाग थोपरेर हामी आधुनिक एवं प्रगतिशील भएकै हौँ त ? 
अर्काे कुरा तीजको दर अहिले पारिवारिक स्तरमा मात्र सीमित नभई विद्यालय, कलेज, सरकारी एवं गैरसरकारी संस्थामा आबद्ध दाजुभाइहरूले दिदीबहिनी रमाइलो गरुन् भनेर भेटघाटको परिवेश सिर्जना गरिदिनुलाई सकारात्मक रूपमा लिनुपर्छ । कुनै सङ्घसंस्थाले गर्ने कार्यक्रम कसैको घरमा गर्न सकिन्छ र ? एक आना, दुई आनामा घर बनाउने जमानामा कसको घरमा ठाउँ पुग्छ र ? त्यसैले पार्टीप्यालेसजस्ता ठाउँहरूमा कार्यक्रमको आयोजना गर्नुपरेको कुराचाहिँ यथार्थ हो । 
तीजको विरोधमा सुनिने अर्काे कुरा लुगागहनाको प्रदर्शनी पनि हो । अझ त्यसमा पनि छड्के तिलहरी मुख्य तारो बनेको छ । आजभोलि छड्के तिलहरी आधा तोला सुनमा पनि बन्छ । हाम्रा जातिगत पहिचान दिने कतिपय गरगहनाहरू घटीमा पनि आठनौ तोला नभई बन्दैनन् । विभिन्न जातिका महिलाहरूले अनेक खाले महँगा गहना पहिरेर हिँड्नुचाहिँ संस्कृतिको संरक्षण हुने तर परिमाणात्मक रूपमा अत्यन्त कम मूल्यको गहना लगाउनुचाहिँ देखावटी हुने ? हुनेखानेले लुगागहना प्रदर्शन गर्दा सामाजिक विभेद सिर्जना ग¥यो भन्नु आफ्नो विवेकै नभएको देखाउनु हो । अरूको देखासिकी गर्नु र अरूले घोडा चढे भनेर आपूm धुरी चढ्न खोज्नु त विवेकशील मान्छेको परिचय हो र ? 
एक महिना अगिदेखि मनाउने भन्दै समय र पैसाको दुरुपयोगका रूपमा तीजको खिल्ली उडाए पनि यसले घरपरिवारमा कुनै असर पारेको छैन । तीजमा भेटघाट गर्ने योजना बनाउँदा एउटी आमा आफ्ना बच्चालाई खुवाइपियाई तिनलाई विद्यालयमा पु¥याएर मात्र यस्ता कार्यक्रममा सहभागी हुन्छे अनि त्यस्ता कार्यक्रममा भेला भैसकेपछि पनि मेरो घरमा बुबाआमालाई (सासूससुरा) लाई खाजा खुवाउने बेला भयो, चिया खुवाउने बेला भयो, स्कुलमा बच्चा लिन जाने बेला भो भन्दै कार्यक्रम स्थल छोडेर गएको हामीले देखिरहेका छौँ । आफ्ना कर्तव्यहरू निर्वाह गर्दै एक क्षण दिदीबहिनी भेला भएका ठाउँमा उपस्थिति जनाएर केही बेर भए पनि रमाउनुलाई खिल्ली उडाउँदै नकारात्मक दृष्टिले हेर्नुपर्ने किन ? 
लोग्नेका दीर्घायुको नाममा व्रत बस्ने भनेर चाड भनेर पनि तीजलाई उडाउने गरिएको छ । व्रत बस्दा अरूलाई नभएर त्यसको सकारात्मक–नकारात्मक परिणामको प्रभाव व्यक्ति स्वयंले भोग्ने हो । मिथमा भएका कुरा अलग हुन्, संसारका अनेक जातजातिमा अनेकथरीका मिथ एवं किंवदन्ती पाइन्छन् । लौकिक सम्पदाका रूपमा रहेका त्यस्ता मिथ एवं किंवदन्ती के कति वैज्ञानिक एवं जीवनोपयोगी छन्, अनि तिनलाई कतिसम्म व्यवहारमा उतार्ने भन्ने कुरा विवेकशील व्यक्तिले देशकाल परिस्थिति हेरेर स्वयं निर्धारण गर्ने हो । कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागतिर दौडिने हाम्रो मानसिकता रहेको छ । उदाहरणका रूपमा नेपालमा पचासको दशकपछि फस्टाएको साउनमा हरियो चुरा लगाए सौभाग्य अटल हुन्छ भनेर शास्त्रमा लेखिएको पाइन्छ भन्ने हौवालाई लिन सकिन्छ । कुनै पनि शास्त्रमा साउनमा हरियो चुरा लगाए सौभाग्य अटल हुन्छ भनेर लेखिएको पाइँदैन । यो त विभिन्न सञ्चार माध्यमका सम्वाददाता उपबुज्रुग भई फुँदा जोडिदिएर प्रचार गरेको मात्र हो । यसैले तीजको व्रतका सन्दर्भमा प्रचलित मिथ जेजस्ता भए पनि अहिलेका अधिकांश महिलाहरू व्रत बस्न वा नबस्न स्वतन्त्र छन्, परिवारका कोही सदस्यले व्रतका लागि उनीहरूलाई बाध्य पार्ने चलन बिस्तारै हराउँदै गएको छ । 
लोग्नेका नाममा व्रत किन बस्ने भनेर महिला अधिकारको कुरा पनि उठाइएको पाइन्छ । हाम्रा कतिपय जातिमा ‘मामाकी छोरी त हकै लाग्छ’ भनेर दिदीबहिनीको इच्छाविरुद्ध जबर्जस्ती बिहे गर्नेगराउने प्रचलन पनि हामीले भोगिरहेका छौँ । अर्काेतिर हाम्रा गाउँघरमा प्रचलित कैयौँ मेलापर्वहरूमा केटाले हुल बाँधेर भएभरको शक्ति लगाई केटीलाई जबर्जस्ती उठाएर लाने प्रचलनबाट पनि हामी दिदीबहिनी आतङ्कित छौँ । यसरी केटीको राजीखुसी विना जबर्जस्ती विवाह गर्नेगराउने कार्यचाहिँ महिलाविरोधी नभएर सांस्कृतिक प्रचलन हुने अनि तीजमा एक दिन स्वेच्छाले व्रत बस्दा महिला अधिकारको पहाड गल्र्यामगुर्लुम ढल्ने किन ? 
अहिले तीजका विरुद्ध सुनिने अर्को चर्चा तीजको गीत रत्यौलीकाजस्ता अश्लील भए रे, परिवारसँग बसेर सुन्नै नसकिने भए रे । यसप्रति आलोचना गर्नुअगि एकपटक अलि गम्भीर ढङ्गले सोच्नुपर्छ । तीजेगीतलाई रत्यौलीगीतजस्तो बनाएको हाम्रा दिदीबहिनीले नभई सङ्गीतका व्यापारीले दिदीबहिनीको दुरुपयोग गर्दै आप्mनो दुनो सोझ्याएको मात्र हो । दाजुभाइकै सक्रियतामा परिवार एवं सङ्घसंस्थाबाट आयोजित दर खाने कार्यक्रममा मनोरञ्जन गर्दा गाइने गीत त्यस्तो हुन सम्भवै छैन । उहिले पश्चिमाञ्चलतिर गाइने तीजेगीतमा त्यसबेलाका राजनैतिक व्यवस्थाको जरोमुरो उखेलेर फाल्नुपर्छ भन्दै दिदीबहिनी उत्साहपूर्वक छमछमी नाचेको हामीले देखेको हैन र ? अनि अहिले देशमा लोकतन्त्र आएपछिका गीतमा त झन् यस्तो पो सुनिन थालेको पाइन्छ — 
राष्ट्रपति, सभामुख, प्रधान न्यायधीश पाइयो
अब हामीलाई प्रधानमन्त्री पनि चाहियो ।।

हामी नेपाली दिदीबहिनीहरू अभैm पनि देउकी प्रथा, छाउपडी प्रथा, कुमारी प्रथा, बादी प्रथा, झुमा प्रथा, बहुपति प्रथा, दाइजो एवं तिलक प्रथा, मुस्लिम समाजमा प्रचलित तलाक प्रथाजस्ता अनेक थोकबाट किचिएका छौँ । अझ विधवा, रजस्वला, निःसन्तान तथा गर्भवतीजस्ता विविध अवस्थामा धार्मिक एवं सामाजिक कार्यमा प्रतिबन्धित गरी हामी मनोवैज्ञानिक रूपले पनि किचिपिची भैरहेका छैनौँ र ? आपूmलाई शिक्षित तथा सभ्य भन्न मनपराउनेले पनि यस्तैयस्ता कुरालाई बढावा दिइरहेका छौँ । वर्षैपिच्छे दाजुभाइलाई पालैपालो लोग्ने मान्नुपर्ने स्थितिमा आपैmँले छोरासरह स्याहारेको सबभन्दा कान्छो देवरको पालो आइपुग्दा शरीर र मन दुवै शिथिल भएकी बहुपति प्रथाबाट प्रताडित ती दिदीबहिनीको दशाप्रति हाम्रो ध्यान किन नपुगेको ? अनि वैध मानिएको कथित तलाक प्रथाबाट किचिएर समाजमा तिरष्वृmत भई वेवारिसे अवस्थामा नारकीय जीवन गुजार्न बाध्य हाम्रा मुसलमानी दिदीबहिनीको पीडातर्पm हाम्रो ध्यान किन नगएको ? यस्ता विकृतिलाई जातीय संस्कृति एवं रीतिरिवाज भनेर कहिलेसम्म हामी दिदीबहिनी प्रताडित भइरहनुपर्ने ? यिनलाई जातीय चालचलन भनेर बेवास्ता गर्ने हो भने सती प्रथाको उन्मुलन गरेको हामीले नै हैन र ? रजस्वला नहुँदै छोरीलाई अन्माउने चलन मेरै पुस्ताले पनि देखेभोगेको अनि अन्त्य पनि हाम्रै पुस्तामा भएको हैन र ? मानव अधिकारको अवधारणालाई चुनौती दिँदै मानवीय मूल्यहरूको खिल्ली उडाउने यस्ता प्रचलनहरूमा आवाज नउठाएर किन तीजको विरोध गरेको होला कुन्नि ?
हाम्रो समाजमा क्यान्सरका रूपमा रहेको दाइजो एवं तिलक प्रथाबाट कैयौँचेलीबेटीहरू जिउँदै जल्न बाध्य छन्, कतिपय जिन्दगीभर निको नहुने घाउ पालेर जिन्दगी घिच्च्याइरहेका छन् भने कतिपय आँसुको पोखरीमा डुबेर जिउन बाध्य छन् । दिनप्रतिदिन अकल्पनीय ढङ्गले महँगा हुँदै गएका ज्वाइँ नामक बोकाले हाम्रा जन्मदाता बाबुआमाको बासै उडाउने मात्र नभई ज्यानै लिने कुकृत्य हामीले भोगेका छैनौँ र ? यसतर्पm ध्यान गएको भए महिला अधिकारका नाममा डलर भजाउनेहरूले तिलकका रूपमा लिएका नगद फिर्ता गराउन कसले प्रयास गरेको छ ? यस क्यान्सरबाट पीडित कति दिदीबहिनीको जीवन सहज बनाउन कत्तिको अग्रसरता देखाइएको छ ? हुन त दाइजो लिनुदिनुलाई हाम्रो प्रशासनले वैधता नै प्रदान गरेको तथ्य त सत्तामा रहनेहरूका अकुत सम्पत्ति दाइजोमा पाएको देखाइनुले प्रष्ट हुन्छ नै । सत्तामा पुगेका व्यक्तिको अकुत सम्पत्तिको सूचीमा दाइजोबाट पाएको भनी गरिएको उल्लेखको विरोध कसले गरेको छ ? मानवअधिकारलाई नै चुनौती दिने हाम्रा यस्ता चालचलनको विरोध गरेर सत्तासीन एवं शक्तिवालालाई चिढाउनुभन्दा दिदीबहिनीले वर्षमा एकपटक गर्ने रमाइलोकै विरोध गर्नु सजिलो लागेको त होइन ? 
तीजका पक्षमा वकालत गर्नु यस लेखको अभीष्ट हैन है । चाडपर्व, देवता, रीतिरिवाज भनेका आफन्तका बीचमा भेटघाट गराउने, सद्भाव साटासाट गर्ने निहुँ मात्र हुन्, अनि शरीर र मन सक्रिय रहुन्जेल कहिल्यै नसकिने तनाव एवं लठाराहरूलाई एकछिन पन्छाएर रमाउने साधन हुन् । हाम्रा कुनै पनि सामाजिक प्रचलनप्रति मेरो आग्रह–पूर्वाग्रह छैन अनि व्यक्तिगत रूपमा मलाई सोध्नुहुन्छ भने मन, वचन र कर्मले कसैको चित्त नदुखाई लुसुलुसु आप्mनो काम गर्नु नै व्यक्तिको कर्तव्य र धर्म हो भन्ने दृष्टिकोण मेरो रहेको छ । 
अन्त्यमा, तीज पर्व नेपाली महिलाहरूले भोग्नुपर्ने अन्य कतिपय बाध्यात्मक प्रचलनभन्दा पनि दुखद छ ? ईश्वरका नाममा निरीह पशुको बलि दिने प्रचलनभन्दा पनि आलोच्य छ ? प्राणदाता अन्न नष्ट गरी बनाइएको रमरमेलाई सगुन मानेर अनिवार्य रूपमा सेवन गर्नैपर्ने प्रचलनभन्दा निकृष्ट पनि छ ? चेली र उसका आफन्तको ज्यानै लिने दाइजो र तिलक प्रथाभन्दा पनि आततायी छ ? मुस्लिम समाजमा प्रचलित तलाक प्रथाभन्दा पनि निन्दनीय छ ? बर्सेनि एकपछि अर्काे उमेर नमिलेका लोग्ने भोग्नुपर्ने चलनभन्दा पनि त्रासदीपूर्ण छ ? इच्छाविरुद्ध जबर्जस्ती घिच्च्याउनुभन्दा पनि घातक छ ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप