शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेसिन चलाउन नजान्दा मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ शुरु भएन

हाकिमहरु भने कम्पनीको पैसामा विदेश घुमे, अर्को मेसिन किन्नुपर्छ भन्ने सिकेर आए
बिहीबार, १९ मङ्सिर २०७६, २३ : ०७
बिहीबार, १९ मङ्सिर २०७६

‘आइपुग्यो ‘मास प्रिन्टर’, अब सजिलै स्मार्ट लाइसेन्स’। गत साउन २२ गते देशभरका सञ्चारमाध्यमहरुमा यो समाचार प्रकाशित भएपछि महिनौँदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिक्षामा रहेका लाखौँ नेपाली आशावादी बने – बल्ल हातमा स्मार्ट लाइसेन्स पर्ने भयो । समाचार प्रकाशित भएको झण्डै चार महिना बितिसकेको छ । न त मास प्रिन्टरले लाइसेन्सको छपाइ नै सुरु भएको छ न त प्रतिक्षारतको हातमा लाइसेन्स नै पुगेको छ ।

अहिले आएर फेरि भनिदैछ – स्मार्ट लाइसेन्स छाप्ने मेसिन चलाउने दक्ष जनशक्ति नभएको कारण मेसिन यतिका समयसम्म थन्केर बस्नुपर्यो । बल्ल त्यसलाई आवश्यक जनशक्तिलाई तालिम दिइदैछ । तर, यातायात व्यवस्था विभाग र मन्त्रालयका हाकिम ‘साब’हरु भने यसअघि नै यही मेसिन कसरी काम गर्छ भनेर ‘अवलोकन’ गर्नका लागि युरोप सयर गरेर आइसके । एक टोली इटालीदेखि स्वीटजरल्याण्डसम्म मेसिन सञ्चालनको अवलोकन गरेर नेपाल फर्किसके पनि विभागमा मेसिन चलाउने कोही भएन ।  

किन व्यवसायिक प्रयोगमा आएन मास प्रिन्टर ?

सरकारले सुरुमा मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स ल्याउने र छपाउने सम्झौता गरेको थियो । तर उक्त कम्पनीले अपेक्षाअनुरुप काम गर्न सकेन । पछि यही कम्पनीलाई अर्को ठेक्का दिएर दैनिक धेरै प्रिन्ट गर्नसक्ने मास प्रिन्टर ल्याइयो । तर भदौ १ गतेदेखि नै व्यवसायिक उत्पादन गरिसक्नुपर्ने मास प्रिन्टरले पनि औपचारिकरुपमा स्मार्ट लाइसेन्सको उत्पादन थालिसकेको छैन ।

गत सोमबार ‘ट्रायल’का लागि मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ गरिएको भएपनि यस प्रिन्टरबाट औपचारिक र व्यवसायिक उत्पादन भने मंसिर २२ गते लाई नयाँ ‘भाका’ राखिएको छ ।

photo : the rising nepal

भदौ १ गतेबाट यस प्रिन्टरबाट छपाइ सुरु हुनुपर्ने भएपनि निर्धारित समयभन्दा साढे तीन महिनापछि मात्रै छपाइको सुरुवात गर्न सक्यो । किनभने यो प्रिन्टर चलाउन दक्ष जनशक्ति नै नेपालसँग थिएन ।

प्रिन्टरको सप्लाई गर्ने मद्रास सेक्युरिटी प्रिन्टर्ससँग समेत अहिले ल्याइएको इटालियन मेसिनको प्रयोगबारे जानकारी थिएन । जसका कारण नेपाली कम्प्युटर अपरेटरहरुलाई छपाइबारे सिकाउन  करिब २ महिना लाग्यो ।

******

रातोपाटीको प्रश्नमा मन्त्रालयका प्रवक्ता एवम् प्रशासन महाशाखा प्रमुख राजेश्वर ज्ञवालीले भने ‘तालिमको नाममा गएर घुम्यो भनेर आरोप लगाउनेहरु मूर्ख हुन् । पहिलो कुरा के बुझ्नुपर्छ भने सहसचिवहरु तालिमका लागि जाँदैनन् । उनीहरु जाने भनेको अबलोकन भ्रमणमा हो । हामी तालिमका लागि नभएर अवलोकन भ्रमणमा गएका हौँ, त्यो पनि टेण्डर पारेको कम्पनीकै खर्चमा त्यसकारण यस विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन । त्यस्तो गाली गर्नेहरु मुर्ख हुन् ।’

******

अवलोकन भ्रमणका नाममा हाकिमहरु घुमेर फर्किए

अहिले विभागले ७ करोड रुपैयाँमा खरिद गरेको मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाइ गर्नका लागि दक्ष जनशक्ति चाहिन्छ । त्यो दक्ष जनशक्ति तालिमपछि मात्रै तयार हुनसक्छ । त्यसका लागि प्रिन्टर सप्लाई गरेको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपाली अपरेटरहरुलाई तालिम दिनुपर्ने सम्झौतामा उल्लेख छ । त्यस सम्झौता बमोजिम मद्रास प्रिन्टर्सले दक्ष जनशक्ति बनाउनुपर्ने हो ।

तर, टेण्डर सदर भइसकेपछि भएको सहमतिमा एउटा अर्को बुँदा थपियो । मेसिनले कसरी काम गर्छ भनेर हेर्नका लागि अवलोकन भ्रमण गर्ने र गराउने । यसका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले सरकारी अफिसियलहरुलाई इटाली लैजाने ।

त्यही बुँदाका आधारमा मन्त्रालयबाट दुई सहसचिव र एक उपसचिवसहित विभागका महानिर्देशक र अधिकारीहरु घुम्नका लागि इटाली पुगे । इटाली पुगेकामध्ये विभागका महानिर्देशक गोगन बहादुर हमाल लगायतका केही त स्वीटजरल्याण्ड सम्ममै पुगे ।

महानिर्देशक गोगन बहादुर हमाल

कम्प्युटर अधिकृत वा आइटी इञ्जिनियरहरु समेत जानुपर्ने अवलोकन भ्रमणमा मन्त्रालयमा रहेका ‘हाकिम साब’हरु घुमेर फर्किए ।

दैनिक कम्प्युटरमा बसेर काम गर्नुपर्ने कम्प्युटर अपरेटर, कम्प्युटर अधिकृत र आइटी इञ्जिनियरहरु जानुपर्ने तालिम र अवलोकन भ्रमणमा यातायात मन्त्रालयका वरिष्ठ कर्मचारी र तत्कालीन मन्त्रीका निजी सचिव तथा मन्त्रालयका उपसचिव भ्रमणका नाममा इटाली पुगेपछि चौतर्फी बिरोधसमेत भयो ।

मद्रास सेक्युरिटी प्रिन्टर्सको खर्चमा ‘भ्रमण’का लागि इटाली पुग्ने मन्त्रालयका सदस्यहरुमा प्रशासन महाशाखा प्रमुख राजेश्वर ज्ञवाली, यातायात महाशाखा प्रमुख प्रमिला बज्राचार्य, विभागका महानिर्देशक गोगन बहादुर हमाल, विभागकै निर्देशक बन्धु बास्तोला, तत्कालीन मन्त्री रघुवीर महासेठका निजी सचिव तथा मन्त्रालयकै उपसचिव सोमराज बराल र विभागबाटै एक प्राविधिक इञ्जिनियर केशव गौतम इटाली पुगे ।

भ्रमणका लागि भन्दै मन्त्रालयका सहसचिव र मन्त्रीका निजी सचिवहरु घुमघामका लागि इटाली पुगेर फर्केपछि नेपालमा भने दक्ष जनशक्तिको अभावमा स्मार्ट लाइसेन्स छपाइ हुन सकेन ।

पछि मद्रास सेक्युरिटी प्रिन्टर्सले नै कर्मचारी ल्याएर नेपाली कम्प्युटर अपरेटर र अधिकृतलाई जेनतेन तालिम दिएपछि अब बिस्तारै छपाइ हुन सक्ने अवस्था आउन लागेको छ ।

तर, इटाली घुमेर फर्केका सहसचिव भन्छन्, ‘गाली गर्नेहरु मुर्ख हुन्’

‘कम्प्युटर अधिकृत र अपरेटर जानुपर्ने तालिममा तपाईंहरु गएर घुमेर आउनुभयो भन्ने आरोप छ नि ?’ भन्ने रातोपाटीको प्रश्नमा मन्त्रालयका प्रवक्ता एवम् प्रशासन महाशाखा प्रमुख राजेश्वर ज्ञवालीले त्यसो भन्नेहरु ‘मुर्ख’ भएको टिप्पणी गरे । ज्ञवालीले भने ‘तालिमको नाममा गएर घुम्यो भनेर आरोप लगाउनेहरु मूर्ख हुन् । पहिलो कुरा के बुझ्नुपर्छ भने सहसचिवहरु तालिमका लागि जाँदैनन् । उनीहरु जाने भनेको अबलोकन भ्रमणमा हो । हामी तालिमका लागि नभएर अवलोकन भ्रमणमा गएका हौँ, त्यो पनि टेण्डर पारेको कम्पनीकै खर्चमा त्यसकारण यस विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन । त्यस्तो गाली गर्नेहरु मुर्ख हुन् ।’

*****

हामीले अर्को प्रश्न नगर्दै उनले भने ‘विभागबाट जो मान्छे जान खोजेका थिए, उनीहरु जान नपाएकाले यस्तो अनर्गल प्रचार गरिरहेका छन् । उनीहरु जानै मिल्दैनथ्यो तर जान चाहन्थे । उनीहरु जान नपाएपछि यस्तो आरोप लगाएका मात्रै हुन्, अरु केही होइन ।’

*****

तालिम र भ्रमणको फरक के हो भन्ने रातोपाटीको प्रश्नमा उनले भने ‘अवलोकन भ्रमण भनेको त्यो मेसिनले कसरी काम गर्छ ? कसरी सञ्चालन हुन्छ भनेर हेर्ने कुरा हो ।’

तर त्यो त मेसिन खरिद गर्नुभन्दा पहिले नै हेर्नुपर्ने होइन र भन्ने प्रश्नमा उनले भने ‘त्यो टेण्डर परेपछि भएको समझदारीमै अवलोकन भ्रमणमा जाने भनेर उल्लेख गरिएको रहेछ । हामी त्यही अनुसार गएका हौँ ।’

‘तर त्यो त नीतिगत भ्रष्टाचार भएन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो कुरा गर्नुभयो भने त यस्ता घटना लाखौंँ होलान् । कति के–के खोज्नुहुन्छ ?’

तपाईंहरु अबलोकनमा गएर राज्यलाई के फाइदा भयो त भन्ने प्रश्नमा उनले भने ‘खासमा उनीहरुले आफ्नो व्यापार बिस्तारका लागि हामीलाई अवलोकन भ्रमणमा लगेका हुन् । एउटा मेसिनले राम्रोसँग काम गर्दैन र त्यसका लागि अरु मेसिन पनि किन्न उनीहरुले सुझाव दिएका छन् । हामीले पनि के बुझ्यौँ भने एउटा मेसिनले पुग्दैन र थप मेसिन पनि ल्याउनुपर्छ ।’

त्यसोभए अरु मेसिन ल्याउन कहिले टिप्पणी उठाउनुहुन्छ त भन्ने रातोपाटीको अर्को प्रश्नमा उनले भने, ‘थप अर्को मेसिन ल्याउन बजेट विनियोजन भइसकेको छ । तर नेपालमै मुद्रण सुरक्षण विभागले छपाई गर्ने कुरा भइरहेकाले तत्कालै काम नभएको हो । अब मुद्रण विभागले नै जिटुजी प्रक्रियाबाट काम गर्नेछ ।’

हामीले अर्को प्रश्न नगर्दै उनले भने ‘विभागबाट जो मान्छे जान खोजेका थिए, उनीहरु जान नपाएकाले यस्तो अनर्गल प्रचार गरिरहेका छन् । उनीहरु जानै मिल्दैनथ्यो तर जान चाहन्थे । उनीहरु जान नपाएपछि यस्तो आरोप लगाएका मात्रै हुन्, अरु केही होइन ।’

मन्त्रालयका दुई सहसचिव, एक उपसचिव, एक कम्प्युटर अधिकृतसहितको टोली ७ दिन इटालीको भ्रमण गरेर कात्तिक २० गते नेपाल फर्किएको थियो । 

लाइसेन्सको प्रतिक्षा

अहिले पनि यातायात व्यवस्था विभागमा दैनिकजसो लाइसेन्स आएको नआएकोबारे सोध्ने सेवाग्राहीको लाइन लाग्छ । त्यतिमात्रै होइन, फोनबाटै लाइसेन्स तयार भएको वा नभएकोबारे सोध्ने सेवाग्राहीको सङ्ख्या दैनिक ५० भन्दा बढीको सङ्ख्यामा छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिले दैनिक ४ हजारदेखि ४ हजार ५ सय जनाले नयाँ लाइसेन्सका लागि ट्रायल पास, नवीकरण र प्रतिलिपिका लागि आवेदन दिइरहेका हुन्छन् । तर विभागसँग अहिले जम्मा ३ वटा सानो क्षमताको मेसिन मात्रै उपलब्ध छ । जुन मेसिनहरुबाट दैनिक २ हजार थान स्मार्ट लाइसेन्स पनि छपाइ हुन सकिरहेको छैन । जसका कारण अहिले विभागले एक वर्षभन्दा लामो समयदेखि होल्ड भएका ८ लाख थान स्मार्ट लाइसेन्स दिन बाँकी नै छ ।

यातायात व्यवस्था विभागले आफूलाई स्मार्ट बनाउने भन्दै २०७२ मंसिर १४ गतेबाट स्मार्ट लाइसेन्सको वितरण सुरु गरेको थियो । पहिलोपटक तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर स्मार्ट लाइसेन्सको सुरुवात गरेका थिए ।

हालसम्म जम्मा १० लाख स्मार्ट लाइसेन्स वितरण

नक्कली लाइसेन्सको बिगबिगी रोक्न र लाइसेन्सलाई अरु बढी सुरक्षित बनाउने भन्दै एसियाली विकास बैंकको सहयोगमा स्मार्ट लाइसेन्सको अवधारण ल्याइएको थियो । कागजको लाइसेन्सको व्यवस्था गर्दा नक्कली लाइसेन्सको प्रयोग बढेको भन्दै विभागले सुरुमा बागमती अञ्चलबाट स्मार्ट लाइसेन्सको सुरुवात गरेको थियो । बिस्तारै सबै प्रदेशहरुमा सुरु गरेको स्मार्ट लाइसेन्सको माग अनुसारको आपूर्ति हुन नसक्दा विभागलाई अहिले टाउको दुखाइ भइरहेको छ ।

*****

एउटा स्मार्ट लाइसेन्स लिनका लागि अहिले सेवाग्राहीले एक वर्षभन्दा लामो समय ‘वेटिङ’मा बस्नु परेको छ । लाइसेन्स बनाएर विदेश जानेहरुका लागि त यो समयका कारण धेरै समस्या झेल्नुपरेको छ । ट्रायल पास भएका वा नवीकरण गरेकाहरुले पनि खल्तीमा कागजको खोस्टो बोकेर भौँतारिनुपरेको छ ।

*****

विभागले ४ वर्षको अवधिमा हालसम्म १० लाख थान स्मार्ट लाइसेन्सको वितरण गरिसकेको छ । हालसम्मको तथ्याङ्क हेर्दा अब विभागले ८ लाख थान लाइसेन्स छपाई गरी वितरण गर्नै बाँकी छ ।

तर विभागसँग सानो मेसिन रहेको र ९ वटा मध्ये ६ वटा मेसिन बिग्रिएकाले अहिले जम्मा ३ वटा मेसिनबाट मात्रै लाइसेन्सको छपाइ भइरहेको छ । अहिले विभागले कार्यालय समयमा मात्रै स्मार्ट लाइसेन्सको छपाई गरिरहेको छ । जसका कारण अहिले ३ वटा मेसिनबाट कार्यालय समयमा मात्रै स्मार्ट लाइसेन्सको छपाइ गरेकाले दैनिक करिब २ हजारको हाराहारीमा मात्रै लाइसेन्सको छपाइ भइरहेको छ । जसका कारण दैनिक मागभन्दा आधा मात्रै छपाइ र लामो समयदेखिको होल्डको कारण ४ वर्षको अवधिमा १० लाख थान छपाइ गरी वितरण गरेको भएपनि अझै ८ लाख थान स्मार्ट लाइसेन्स प्रिन्ट गर्नै बाँकी रहेको छ ।

जनआक्रोश

सरकारले मुख्यतः नक्कली लाइसेन्सको बिगबिगी रोक्न र यातायात व्यवस्था कार्यालयमा हुने घुसपैठमा कमी ल्याउन भन्दै स्मार्ट लाइसेन्सको व्यवस्था गरेको थियो । कागजको लाइसेन्स विस्थापित गरी लेजर प्रिन्टसहितको स्मार्ट लाइसेन्सको वितरण र लाइसेन्समै चिप्स राखेर डाटा समेत समावेश गरेपछि आफू पनि स्मार्ट बन्ने अपेक्षा गरेको थियो ।

तर, व्यवस्थापकीय कमजोरीका कारण स्मार्ट लाइसेन्सको वितरण सहज हुन सकेन । एउटा स्मार्ट लाइसेन्स लिनका लागि अहिले सेवाग्राहीले एक वर्षभन्दा लामो समय ‘वेटिङ’मा बस्नु परेको छ । लाइसेन्स बनाएर विदेश जानेहरुका लागि त यो समयका कारण धेरै समस्या झेल्नुपरेको छ । ट्रायल पास भएका वा नवीकरण गरेकाहरुले पनि खल्तीमा कागजको खोस्टो बोकेर भौँतारिनुपरेकोछ ।

लाइसेन्सका लागि लाइन लागेर फारम भर्नेदेखि ट्रायल दिने झन्झटिलो प्रक्रियामा सामेल भइसकेका सेवाग्राहीले पास भइसकेपछि पनि लाइसेन्स लिन एक वर्षभन्दा लामो समय कुर्नुपरेको छ । जसका कारण सेवाग्राहीमा आक्रोश चुलिँदै गएको छ ।

दैनिक ७ हजार थान प्रिन्ट हुन सक्छ

विभागले ल्याएको नयाँ मास प्रिन्टरबाट छपाइ हुने भाका फेरि नसर्ने हो भने अब दैनिक ७ हजार थान स्मार्ट लाइसेन्स प्रिन्ट हुन सक्नेछ । हाल कार्यालय समयमा मात्रै काम गर्दै आइरहेको विभागले नयाँ मास प्रिन्टर्सको प्रयोग सुरु गरेपछि अब दैनिक कम्तीमा पनि ७ हजार थान स्मार्ट लाइसेन्सको छपाई गर्न सक्ने विभागका महानिर्देशक गोगन बहादुर हमालको भनाइ छ ।

*****

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार हाल करिब ८ लाख थान स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ । यदि दैनिक १८ घण्टा मास प्रिन्टर्स सञ्चालनमा ल्याउन सकेको खण्डमा आगामी ६ महिनाभित्र लाइसेन्सका लागि होल्डमा बस्नुपर्ने दिन सकिने खनालको भनाइ छ ।

*****

हमालका अनुसार अब मंसिर २२ गतेदेखि मास प्रिन्टर सञ्चालनका लागि तीन सिफ्टमा काम गरिने छ । दैनिक कम्तीमा १८ देखि २१ घण्टा उक्त मेसिन सञ्चालनमा आउने छ । त्यसबाहेक साना मेसिनहरु पनि सञ्चालनमै रहनेछन् । जसका कारण नयाँ मास प्रिन्टर र पुरानो मेसिनबाट गरी दैनिक करिब ९ हजारको हाराहारीमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने विभागको लक्ष्य छ ।

६ महिनाभित्र सबै लाइसेन्स दिने

विभागले आगामी ४ महिनाभित्र पुराना सबै स्मार्ट लाइसेन्स दिइसक्ने बताएको छ । विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार हाल करिब ८ लाख थान स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ । यदि दैनिक १८ घण्टा मास प्रिन्टर सञ्चालनमा ल्याउन सकेको खण्डमा आगामी ६ महिनाभित्र लाइसेन्सका लागि होल्डमा बस्नुपर्ने दिन सकिने खनालको भनाइ छ ।

मासिक २ लाख थान स्मार्ट लाइसेन्स छपाई हुँदा पुरानो लाइसेन्सको होल्डिङ सकिने खनालको भनाइ छ । बाँकी २ महिनामा होल्डमा रहने करिब २ लाख ५० हजार स्मार्ट लाइसेन्सका लागि बढीमा अर्को २ महिना लाग्ने भएकाले यदि पूर्ण क्षमतामा मास प्रिन्टर सञ्चालनमा आएको खण्डमा आगामी असारको सुरुवातदेखि स्मार्ट लाइसेन्सको समाधान भइसक्नेछ ।

मेसिन बिग्रिएमा समस्या झन् बढ्नेछ

अहिले विभागमा छपाई भइरहेको सानो प्रिन्टरमध्ये ६ वटा बिग्रिसकेको छ । पुरानो सानो प्रिन्टरमध्ये ५ वटा प्रिन्टरको ‘आफ्टर सेल्स सर्भिस’ सकिएको छ । मद्रास सेक्युरिटी प्रिन्टिङले सप्लाई गरेको उक्त प्रिन्टर बिग्रिएमा बनाउने समयवधि ३ वर्षको मात्रै थियो । तर ३ वर्ष सकिएकाले उक्त मेसिन बनाउने जिम्मा नेपाल सरकारकै हो । तर विभागले चासो नदिँदा र प्रिन्टरको सामान नहुँदा पुरानो प्रिन्टर लामो समयदेखि थन्केर बसेको छ । मद्रास प्रिन्टिङले नै बनाउनुपर्ने एउटा मेसिन पनि सामान नभएको कारण बन्न सकेको छैन । जसको कारण अहिले ३ वटा मेसिनले मात्रै काम गरिरहेको छ ।

अहिले नयाँ मास प्रिन्टर ल्याएको भएपनि त्यो एउटा मात्रै मेसिन हो । उक्त मेसिनलाई प्रत्येक सिफ्टमा एक वा दुई घण्टामात्रै आराम दिएर सञ्चालन गर्दा उक्त प्रिन्टर पनि चाँडै बिग्रने सम्भावना रहन्छ । विभागले अर्को प्रिन्टर खरिदका लागि बजेट र स्वीकृति पाएको भएपनि टेण्डर गर्न सकेको छेन । त्यसकारण अर्को मेसिन नेपाल आइपुग्न अझै वर्षदिन भन्दा बढी समय लाग्न सक्छ । यस्तो अवस्थामा एउटा मेसिनबाटै लगातार काम गर्दा उक्त मेसिन पनि चाँडै बिग्रने सम्भावना रहन्छ । यस्तो अवस्थामा यदि त्यो मेसिन पनि बिग्रिएमा तत्कालै मर्मत हुने सम्भावना नरहन पनि सक्छ । जसका कारण विभागले अहिले जसरी लक्ष्य लिएको छ, त्यो लक्ष्य भेट्ने सम्भावना ज्यादै कमजोर रहेको छ ।

यद्यपि विभागका महानिर्देशक गोगन बहादुर हमाल भने मेसिन बिग्रिएपनि लामो समय रोकिने सम्भावना नरहेको बताउँछन् ।

हमालका अनुसार मेसिन ल्याएको ३ वर्षसम्म उक्त मेसिनको मर्मतसम्भार गर्ने जिम्मा सप्लायर्सकै हुनेछ । यदि समयमै प्रिन्टर मर्मत गर्न नसके र छपाई नभएको खण्डमा सप्लायर्स कम्पनीले जरिवाना तिर्नुपर्ने हुन्छ । त्यसकारण धेरै बिग्रने वा बिग्रनसक्ने सामान अहिले नै ल्याउन भनिएको छ । सप्लायर्स कम्पनीले पनि केही सामान अहिले नै मगाउन थालेको हमालको दाबी छ ।

तर यदि सप्लायर्ससँग स्टक नभएको सामान बिग्रिएमा र इटालीबाट नै उक्त सामान मगाउनु परेमा कम्तीमा पनि १० दिन समय लाग्नेछ । त्यसकारण एकपटक मेसिन बिग्रदा १० देखि १५ दिनको समय लाग्नेछ । जसका कारण एकपटक मेसिन बिग्रिएमा १० देखि १५ दिनको समय कुर्नुपर्ने भएमा विभागले लक्ष्य भेट्ने सम्भावना रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप