शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निगमको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान

शुक्रबार, २० मङ्सिर २०७६, २२ : १०
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ । नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालू आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समीक्षा प्रतिवेदनअनुसार निगमको वाइडबडी जहाजको औसत उडान कम देखिएको हो । 

अन्तर्राष्ट्रिय उडानमा प्रत्येक जहाज दैनिक कम्तीमा १४ घण्टा सञ्चालन हुनुपर्ने व्यवस्था छ । गन्तव्य विस्तारमा भइरहेको डिलाई तथा लामा गन्तव्यको अभावका कारण पनि निगमको वाइडबडी लामो समय उड्न नसकेको सम्वद्ध अधिकारी बताउँछन् । निगमले गत भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान भर्दै आएको छ । यो गन्तव्य झण्डै सात घण्टा लामो हुन्छ । 

निगमको न्यारोबडी ए ३२० जहाजको उडान भने वाइडबडीको तुलनामा सन्तोषजनक छ । न्यारोबडीको औसत दैनिक उडान १२.९ घण्टा रहेको छ । एक महिनाअघि निगम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष अध्यक्ष मदन खरेलले वाइडबडी जहाजले दैनिक १३ घण्टा उडान गर्दै आएको बताएका थिए ।

मन्त्रालयको प्रतिवेदनअनुसार वाइडबडी जहाजको हालको प्राविधिक जनशक्ति स्थायी र करार गरी २६ जना पाइलट छन् । निगमले हाल सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । छिट्टै जापानकै नारिता, चीनको ग्वाङ्जाओ, साउदी अरब, दक्षिण कोरियालगायत गन्तव्यमा समेत उडान प्ररम्भ गर्ने योजना बनाएको छ ।

निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक, कतार र जापानको ओसाका उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए३३० र दुई न्यारोबडी ए ३२० जहाज छन् ।

सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि निगमले अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको तुलनामा आफूलाई अब्बल तुल्याएको छ । निगमको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको थियो ।

उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको थियो । नेपाल एयरलाइन्सले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाई उछिन्न सफल भएको थियो । हाल तीन नेपालीसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्र्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप