शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खतरनाक हुन सक्छ शरीरमा क्याल्सियमको कमी : मानिस मर्न पनि सक्छ !

जब शरीरमा क्याल्सियमको कमी हुन्छ, शरीरको आवश्यकता पूर्ति गर्नको लागि हड्डी तथा दाँतमा भएको क्याल्सियम पनि प्रयोग हुन थाल्छ
शनिबार, २१ मङ्सिर २०७६, ११ : २४
शनिबार, २१ मङ्सिर २०७६

सबैलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरको लागि नभई नहुने तत्वहरुमध्ये क्याल्सियम पनि एक हो । धेरैलाई के कुरा थाहा छ भने हड्डी र दाँतको स्वास्थ्यको लागि क्याल्सियम नभई नहुने खनिज तत्व हो । तर वास्तवमा क्याल्सियमको काम त्यति मात्रै होइन । क्याल्सियमले हड्डी र दाँत बलियो त बनाउँछ नै, त्यसभन्दा बाहेक क्लाल्सियमले मस्ष्तिकबाट प्राप्त हुने सन्देशहरुलाई शरीरका कोषहरुसम्म पुर्याउनको लागि पनि सन्देशवाहकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसबाहेक, शरीरमा हर्मोनहरुको निस्कासन, रगत जम्नु, मांसपेशीहरु खुम्चनु तथा आराम अवस्थामा ल्याउनको लागि भूमिका निर्वाह गरिरहेको हुन्छ ।

 कुनै पनि कारणले शरीरमा क्याल्सियमको कमी भयो भने त्यो अवस्था खतरनाक हुन सक्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा हुने रोगलाई हाइपोक्याल्सेमिया (Hypocalcemia)  भनिन्छ । सामान्यतः शरीरमा भिटामीन डी र म्याग्नेसियमको कमी हुँदा पनि शरीरले क्याल्सियम राम्ररी ग्रहण गर्न सक्दैन र यसको कमी हुन जान्छ । त्यसैगरी, नून धेरै खाँदा वा फस्फोरस बढी हुने चियो पेयहरु बढी मात्रामा खाँदा पनि यो समस्या देखापर्ने खतरा बढ्छ । त्यसबाहेक, मृगौलाको जटील रोगहरु, थाइराइडडले राम्ररी काम गर्न नसक्दा तथा विभिन्न खालका औषधीहरुको असरको कारण पनि शरीरमा क्याल्सियमको कमी हुन सक्छ ।

हाम्रो शरीरको रगतमा माथि लेखिएका वा अन्य कुनै पनि कारणले क्याल्सियमको मात्रा कम हुँदा हाइपोक्याल्सेमिया रोग लाग्छ । यो रोग लामो समयसम्म रहिरह्यो र उपचार गरिएन भने दाँतसम्बन्धी समस्याहरु, मोतियाबिन्दु, मस्तिष्कमा परिवर्तन र हड्डी मक्किने रोग लाग्न सक्छ ।

हाइपोक्याल्सेमियाको अवस्था प्राणघातक नै पनि हुन सक्छ । यसको बेलामा नै उपचार गरिएन भने रोगीको मृत्यु पनि हुन सक्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा प्रारम्भिक चरणमा त्यसको कुनै लक्षणहरु नदेखिन पनि सक्छ । तर क्याल्सियमको कमी हुँदा शरीरमा विभिन्न खालका समस्याहरु र लक्षणहरु देखापर्न सक्छ, जुन देखापर्यो भने समस्याको पहिचान गर्न अनि त्यसको उचित उपचार गर्नको लागि तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा निम्नानुसार लक्षणहरु देखापर्न सक्छ ।

मांसपेशीमा समस्या

शरीरमा क्याल्सियमको कमी हुँदा देखापर्ने प्रारम्भिक लक्षण भनेको मासुहरु दुख्ने, बाउँडिने र मासुहरु फरफराउने हुन्छ । हिँड्डुल गर्दा विशेष गरी तिघ्रा र पाखुराहरु दुख्ने हुन्छ ।

क्याल्सियमको कमी बढी नै हुँदै जाँदा हात, खुट्टा, पाखुरा र मुख वरिपरि झमझमाउने, बोधो हुने, फरफराउने जस्ता समस्याहरु पनि देखापर्न सक्छ ।

https://pixfeeds.com

त्यसो त यस्तो समस्या आउने जाने हुन्छ । विशेष गरेर हामीले केही क्रियाकलापहरु गर्दा माथि उल्लिखित समस्याहरु हराएको भान हुन्छ र हामीले त्यति वास्ता गर्दैनौं । तर वास्तवमा चाहिँ ती लक्षणहरुले हाम्रो शरीरमा क्याल्सियमको कमी भएको कुराको संकेत गरिरहेको हुन सक्छ ।

चरम अनिद्रा र थकान

https://cdn-prod.medicalnewstoday.com

क्याल्सियमको अभाव हुँदा चरम अनिद्रा र थकानको समस्या हुन सक्छ । यो हुँदा अल्छी लाग्ने, सुस्तताको अनुभव हुने र शरीरमा तागत नै नभएको जस्तो हुन्छ । त्यसो त थकान अरु कारणले पनि हुन सक्छ । तर क्याल्सियमको कारण हुने थाकानमा चाहिँ टाउकोमा रित्तोपनाको आभाष, रिंगटा लाग्ने, एकाग्रता नहुने, भुल्ने र भ्रमित हुने जस्ता समस्याहरु देखापर्न सक्छ ।

नङ र छालाका समस्याहरु

https://www.womendailymagazine.com

अति धेरै क्याल्सियमको कमी हुँदा नंग र छालामा पनि असर गर्छ ।

त्यस्तो अवस्थामा छाला अत्यन्तै चिलाउने गर्छ । कतिपय अनुसन्धानहरुले त के पनि देखाएको छ भने छालामा हुने जलनको एउटा कारण क्याल्सियमको कमी पनि हो । यस्तो अवस्थामा छाला चिलाउँछ, रातो हुन्छ र फोकाहरु देखापर्न थाल्छ ।

त्यसै गरी, क्याल्सियमको कमी हुँदा नंग फुस्रो र सुख्खा हुने, भाँच्चिने र कडा तर सजिलै टुट्ने खालको हुने हुन्छ । त्यसैगरी, टाउकोमा गोला धब्बा देखापरेर कपाल खस्ने पनि हुन सक्छ ।

हड्डी मक्किने समस्या

https://scitechdaily.com

क्याल्सियमको कमीले हुने अर्को खतरनाक समस्या भनेको हड्डी मक्किने पनि हो ।

क्याल्सियमको कमीले हड्डीमा अस्टियोपेनिया (Osteopenia) नामक समस्या देखापर्छ । यो अवस्थामा हड्डीको खनिजतत्वहरुको घनत्वमा कमी आउँछ । यसले गर्दा हाम्रो हड्डी सजिलै खिइने र मक्किने (Osteoporosis) समस्या देखापर्न थाल्छ । यस अवस्थामा आइपुगेपछि हड्डी खिइएर पातलो हुने र सजिलै भाँच्चिने खतरा हुन्छ । यो समस्या देखापरेपछि पीडा हुने, बस्दा समस्या हुने र कालान्तरमा गएर अपांग नै पनि बनाइदिन सक्छ ।

त्यसो त हड्डीमा क्याल्सियम जम्मा भएको हुन्छ । तर हड्डी बलियो हुनको लागि त्यसको मात्रा धेरै हुनुपर्छ । जब सम्पूर्ण रुपमा क्याल्सियमको मात्रा कम हुन्छ, तब शरीरको अन्य भागमा चाहिने क्याल्सियमको आपूर्ति हड्डीबाट हुन थाल्छ । यो अवस्थामा हड्डीमा क्याल्सियमको मात्रा कम भई हड्डी कमजोर हुन थाल्छ र सजिलै भाँचिने खतरा हुन्छ ।

महिनावारीको बेला हुने पीडा

https://www.womenshealth.gov

महिनावारी हुनेबेलामा कतिपय महिलाहरुलाई अत्यन्तै पीडा हुने गर्छ । कतिपय अध्ययनहरुले के देखाएको छ भने शरीरमा क्याल्सियमको मात्रा कम हुँदा पनि महिनावारीको बेला हुने त्यस्तो पीडा बढ्ने गर्छ ।

सन् २०१९ मा गरिएको अर्को एक अध्ययनमा पनि शरीरमा भिटामिन डी र क्याल्सियमको कमी हूँदा महिनावारीमा हुने पीडा बढ्ने गरेको देखिएको थियो । अनुसन्धानकर्ताहरुले त्यो पीडा कम गर्नका लागि भिटामिन डी र क्याल्सियमको सप्लिमेन्ट खान सुझाव दिएका थिए ।

दाँतसम्बन्धी समस्या

https://calmag-c.com

जब शरीरमा क्याल्सियमको कमी हुन्छ, शरीरको आवश्यकता पूर्ति गर्नको लागि दाँतमा भएको क्याल्सियम पनि प्रयोग हुन थाल्छ । यसले गर्दा दाँतको जरा कमजोर हुने, दाँत टुट्ने, गिजा दुख्ने र दाँत खिइने जस्ता समस्याहरु देखापर्न थाल्छ ।

बच्चाहरुमा क्याल्सियमको कमी हुँदा उनीहरुको दाँत पनि ढिलो गरी पलाउन सक्छ ।

डिप्रेसन

https://gravityleadership.com

क्याल्सियमको कमीको कारण मानिसको मुड बिग्रने तथा डिप्रेसन हुने सम्भावना बढेर जान्छ । तर यसबारेमा थप अनुसन्धान गरिनु जरुरी छ ।

त्यसैले कसैको मुड बिग्रिरहन्छ र डिप्रेसनको लक्षण छ भने शरीरमा क्याल्सियमको मात्रा कति छ भनेर जँचाउनु उचित हुन्छ ।

त्यसबाहेक, क्याल्सियमको कमीले मुर्छा पर्ने, मुटु फेल खाने, छातीमा पीडा हुने, निल्न गाह्रो हुने, आवाज परिवर्तन हुने, काम्ने, छाला सुख्खा हुने, छालामा घाउहरु आउने, मोतियाबिन्दू हुने जस्ता समस्याहरु पनि देखापर्न सक्छ ।

कति हुनुपर्छ क्याल्सियम?

एउटा वयस्क मानिसमा क्याल्सियमको मात्रा ८.८ देखि १०.४ मिलिग्राम प्रति डेसिलिटर (mg/dL) हुनुपर्छ ।  अझ बच्चाहरुलाई त क्याल्सियमको आवश्यकता बढी हुने भएकोले त्यो झनै बढी हुनुपर्छ । ८.८ भन्दा कम क्याल्सियम देखियो भने त्यसलाई क्याल्सियमको कमी मानिन्छ । शरीरमा कति क्याल्सियम छ भनेर रगतको जाँचबाट थाहा पाउन सकिन्छ ।

गर्ने के ?

सामान्यतः हामीले खानेकुराहरुबाटै पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छौं । ती खानेकुराहरु नियमित खाने हो भने यो समस्याबाट बच्न सकिन्छ ।

सामान्यतः निम्न खानेकुराहरुमा पर्याप्त मात्रामा क्याल्सियम पाउन सकिन्छ ः

https://universityhealthnews.com

डेरी प्रोडक्टहरुः जस्तै, दूध, चीज र दही,

सीमीहरु, अन्जीर, ब्रोकाउली, तोफु, भटमासको दूध, पालुंगो, आल्मोन्ड, तील आदि ।

१९ वर्षदेखि ५० वर्षसम्म उमेरका मानिसहरुलाई दैनिक १००० मिलिग्राम क्याल्सियमको आवश्यकता पर्दछ । अझ बच्चाहरु, युवाहरु र बुढापाकालाई त त्योभन्दा बढी नै चाहिन्छ ।

https://imagesvc.meredithcorp.io

सकेसम्म प्राकृतिक रुपमा पाइने यस्ता खानेकुराहरुबाटै शरीरमा क्याल्सियमको आपूर्ति गर्नु राम्रो हुन्छ । डाक्टरको सल्लाहले छोटो अवधिका लागि क्याल्सियमको चक्कीहरु खान सकिन्छ । तर धेरैमात्रामा र लामो समयसम्म त्यस्ता चक्कीहरु खाँदा मुटुको समस्या देखापर्ने तथा मृगौलामा पत्थरी हुने खतरा बढ्छ ।

मानिसको शरीरमा धेरै कारणले क्याल्सियमको कमी हुन सक्छ । तर त्यसलाई आफ्नो खानेकुराहरुको माध्यमबाट सजिलै पन्छाउन सकिन्छ ।

Source: http://www.medicalnewstoday.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप