केन्द्रीय संस्करण
मेराे जीवन

एसएसपी उत्तमराज सुवेदीको जीवन : पुलिस अफिसर नभएको भए फिल्म निर्देशक हुन्थेँ

द्वन्द्वका समयमा ननिदाएका धेरै रात हुन्थे, घरबाट चौकी जाने बेलामा घरपरिवार चिन्ताले सिरियस हुन्थेँ

person explore access_timeमंसिर २१, २०७६ chat_bubble_outline0

२३ वैशाख २०७६ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालने अवसर मिल्यो । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीसँगै चुनौती पनि धेरै थपिए । 
त्यसअघि महानिरीक्षकको सचिवालयमा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी सुवेदीका लागि काठमाडौँवासीलाई कसरी सुरक्षाको प्रत्याभूति दिने  चुनौती सानो थिएन । 

त्यसमा विश्वकै शक्तिशाली नेता चीनका राष्ट्रपति सी चिनफिङ र बङ्गलादेशका राष्ट्रपति पनि थिए । तर एसएसपी सुवेदीको नेतृत्वमा खटिएको टोलीले भीभीआईपी पाहुनाको नेपाल भ्रमण सुरक्षाको समेत राम्रो व्यवस्था मिलाउन सफल भयो ।

प्रहरी सङ्गठनभित्र हक्की, लिडर र इमानदार अफिसरको छवि बनाएका सुवेदीले यसअगाडि ६ जिल्लाको इन्चार्ज सम्हाली सकेका छन् । सो अनुभव काठमाडौँका लागि सहयोगी बन्यो ।

पाल्पा, स्याङ्ना, दोलखा, धनुसा, सल्लाहीको इन्चार्ज हुँदै काठमाडौँ प्रहरी प्रमुख बनेका सुवेदीका काँधमा यतिखेर १३औँ दक्षिण एसियाली सङ्गठन (साग) खेलको सुरक्षा पनि छ । तर त्यो पनि सजिलै पार लगाउनेमा उनी विश्वस्त छन् । प्रहरी निरीक्षकबाट प्रहरी सेवामा होमिएका सुवेदीमा   सङ्गठनकै नेतृत्व सम्हाल्ने इच्छा पनि रहेको छ । यिनै सुवेदीको जीवनका पाटाहरु रातोपाटीको मेरो जीवन स्तम्भका लागि केलाउने प्रयास गरिएको छ ।
   
 मेरो खाना
मनपर्ने खाना थकाली खाना । त्यसपछि मनपर्ने नेपाली दालभात र तरकारी नै हो । चिल्लो धेरै भएको खानेकुरा मनपर्दैन । मासु भने धेरै मनपर्छ । 

पहिले केही पकाउन आउँदैन थियो । नेपाल प्रहरीमा जागिर खाएपछि यूएन मिसनमा जाँदा आफैले खाना बनाउनु पर्यो । त्यही बेला सिकेँ । अहिले त हरेक परिकार बनाउन सक्छु । 

खानाकै लागि रेस्टुरेन्ट जाने बानी छैन । साथीभाइ, परिवारसँग भने कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्ट जान मनपर्छ । रेस्टुरेन्टको मनपर्ने खानेकुरा मम नै हो ।

मेरो पोसाक
खानेकुरामा भन्दा लगाउनेमा म शौखिन छु । रफ खालका पहिरन धेरै प्रयोग गर्छु । पोसाकमा मनपर्ने कलर कालो र मरुन हो । पहिले चाड पर्वमा मात्र सपिङ गरिन्थ्यो ।

अहिले सिजन अनुसारको सपिङ गर्छु । जाडोमा ट्राउजर, ज्याकेट बढी किन्छु भने गर्मीमा टिसर्ट, जिन्सपाइन्ट लगायत किन्ने गरेको छु । वार्षिक ४० हजारभन्दा बढी पहिरनमा खर्च छ । पछिल्लो समय रेडिमेड र ब्रान्डेड पहिरन नै किन्ने गरेको छु ।

मेरो फिट्नेस 
पहिले नियमित फिट्नेस गर्थें । अहिले आएर एक्सरसाइजको प्याटर्न चेन्ज भएको छ । म हरेक दिन बिहान नियमित ५ बजे उठ्छु ।

सुरुमा २०, २५ मिनेट ध्यान गर्छु । त्यसपछि फुर्सद भयो भने बाहिर जगिङ निस्किन्छु । बाहिर जान भ्याइन भने घरमै क्रसटेलरका माध्यमले आधा घन्टासम्म शरीरबाट पसिना निकाल्छु ।

त्यसपछि मात्र मेरो बाहिरी दिनचर्या सुरु हुन्छ । पहिले ध्यान पनि गर्ने चिज हो र भन्ने भन्थे । पछिल्लो ६ वर्षयता नियमित ध्यान गर्छु । देखेर, सुनेर र भोगेर शारीरिक हेल्थले मात्र मानिस हेल्दी हुँदो रहेनछ भन्ने थाहा भयो । शारीरिकको अलवा मानसिक हेल्थ पनि अति आवश्यक रहेछ । बिहान गरेको २५ मिनेटको ध्यानले दिनभर रिफ्रेस गराउँछ । काम गर्ने ऊर्जा प्रदान गर्छ । 

मेरो अध्ययन
पहिले धेरै अध्ययन गर्थें । अहिले समय अभावका कारण अध्ययन गर्न पाएको छैन । म फुर्सदमा मात्र किताब पढ्न रुचाउँछु । अचेल नियमित बिहान एक पटक पत्रपत्रिका पढ्छु । फुर्सदमा अटोबायोग्राफी, एडभेन्चेरियस् फिक्सन खालका किताबहरु पढ्न मनपर्छ ।

मेरो घुमफिर
घुमघाम एकदमै मनपर्छ । मेरो कामले गर्दा प्रायः छुट्टी मिल्दैन । बिदामा पनि काम परिरहेको हुन्छ । फुर्सद भयो भने परिवार, साथीभाइ सबैसँग घुमफिर गर्छु । 

घुम्न जाँदा फ्लाइटमा भन्दा पनि प्राकृतिक सौन्दर्यले भरिएको देशका विभिन्न भूभाग नियाल्दै गाडीमा यात्रा गर्न मनपर्छ । देशको ३० प्लस जिल्ला घुमेको छु । विदेशका युरोपको इटली, स्विजरल्यान्ड, फ्रान्स, बेलायत, जर्मनी, अमेरिका तथा छिमेकी मुलुक भारत र चीन पुगेको छु । 

मेरो खेलकुद
स्कुल र कलेज पढ्दा म बास्केटबलको राम्रो खेलाडी थिएँ । पुलिसको नोकरीमा आएपछि ब्याडब्यान्टिन खेल्न थाले । पछिल्लो केही समययता बायाँ खुट्टामा समस्या भएकाले त्यो खेल पनि बन्द भयो ।
स्कुल अध्ययनको समय म क्लबबाट खेल्थे । अहिले खेले हेरेर चित्त बुझाउने गरेको छु । बास्केटबल, फुटबल र आफू तराईमा हुर्केको हुनले क्रिकेट हेर्न मनपर्छ ।

मेरो मोबाइल 
अहिले मसँग दुईवटा मोबाइल छ । एउटा सामसुम र अर्काे हुवेई । म एउटा मात्र मोबाइल बोक्न रुचाउँछु । अहिले एउटा सरकारी नम्बर बोक्नै पर्छ । आफ्नो प्राइभेट नम्बर पनि छ । दुवै सिम एउटै सामसुम मोबाइलमा प्रयोग गर्छु । 
अर्काे मोबाइल क्यामराका लागि भनेर मात्र बोकेको हो । यो पनि एउटा साथीले दिएको । मोबाइल फोन गर्न, अनलाइन समाचार पढ्न, फेसबुक लगायत चलाउन प्रयोग हुन्छ ।
   
मेरो टिभी
काठमाडौँ प्रहरी परिसरमा आएको ७ महिना भयो । देशमा विदेशमा केही घटना घटेको समयमा समाचार हेर्नेबाहेक दिउँसो टिभी हेर्न भ्याउँदिन । बेलुकाको समाचार भने नियमित हेर्छु । देश विदेशमा चर्चित खेल छन् भने पनि हेर्न मनपर्छ । म टिभीमा सिरियल कहिल्यै हेर्दिनँ ।
 
मेरो चलचित्र
चलचित्रको शौखिन मानिस म पनि हुँ । तर अहिले चलचित्र हेर्न नपाएको धेरै भयो । फुर्सद भयो भने परिवारसँग हलमै गएर चलचित्र हेर्छु । पछिल्लो समय हेरेको चलचित्र ‘छक्का पन्जा ३’ होला । 
फिल्म हेर्न मात्र होइन बनाउने पनि रुचि छ । सायद जागिरबाट रिटायर भएपछि १, २ वटा फिल्म बनाउँछु होला । म पुसिस अफिसर नभएको भए फिल्म मेकर वा निर्र्देशक हुन्थेँ ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । सानैदेखि ब्लडप्रेसर हाई थियो । पहिले ब्लड प्रेसरका लागि औषधि खाँदैन थिए । अहिले तीन वर्षयता नियमित औषधि खाँदैछु ।
 
मेरो भाषाशैली 
विद्यार्थी जीवनमा साथीभाइ, आफन्त मलाई रफ बोल्छ भन्थे । प्रहरीको नोकरीमा आएपछि शिष्ट, नरम र स्पष्ट बेल्छु जस्तो लाग्छ । अरूले पनि त्यस्तै भाषाशैली प्रयोग गरेको मनपर्छ ।

मेरो पेसा 
प्रहरी मेरो पेसा हो । २०४९ चैतमा म नेपाल प्रहरीमा आबद्ध भएका थिए । अहिले पनि यो यात्रा निरन्तर जारी छ । सुरुमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेको थिए । अहिले देशका विभिन्न भूभागमा सेवा गर्दै अहिले काठमाडौँ प्रहरी परिसरको प्रमुखको जिम्मेवारी पाएको छु । प्रहरी सेवामा रहँदा १८ जिल्ला पुगेँ होला ।

सानोमा मेरो इन्जिनियर बन्ने इच्छा थियो । जब म आईएसी पढ्न काठमाडौँ आएँ तत्कालीन समयमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुको गेटअप र शानले गर्दा मेरो मन परिवर्तन भयो । सो समय प्रहरी निरीक्षक भ्यान तथा मोटरसाइलमा हिँड्थे, गुन्डा ठीक पार्थें, समस्यामा परेकालाई न्याय दिलाउने काम गरेर सबैको प्रसंशा पाउँथे । त्यो देखेर मेरो प्रहरी निरीक्षक हुने रुचि भयो । त्यसरी प्रहरी सेवामा होमिएको मैले आजको दिनसम्म प्रहरी भएकोमा गिल्टी फिल गरेको छैन । प्रहरीमा नआएको भए म इन्जिनियर पनि हुन सक्थेँ ।

मेरो दुःख
प्रहरीको सेवामा भएको कारणले परिवारलाई समय दिन पाइँदैन । परिवारको सधैँ यही गुनासो रहन्छ । प्रहरीको सेवामा च्यालेन्जेज धेरै छन् । मैले जागिर सुरु गरेको केही समयमा  देशकमा सशस्त्र द्वन्द्व सुरु भयो ।
२०६२, ०६३ को आन्दोलन भयो । संविधान निर्माणका क्रममा पनि धेरै किसिमका उतारचढाव आए । झडपहरु भए । 

द्वन्द्वकालमा भने दुःख धेरै भयो । घरबाट टाढा रहनु पर्यो । एक पटक म डोल्पा ११ महिना बसेको थिए । सो समय ७ महिनासम्म घरमा कुरा गर्न पाइन । द्वन्द्वका समयमा ननिदाएका धेरै रात हुन्थे । घरबाट चौकी जाने बेलामा घरपरिवार चिन्ताले सिरियस हुन्थे । 
 
मेरो मापसे 
मापसे छुँदै नछुने पनि होइन । रेगुरल पनि खादिनँ । साथीभाइ जुटेको समय कहिले काही मापसे गर्छु । पहिले बियर खान्थेँ । अहिले वाइन खान्छु । बीचमा ह्विस्की पनि खाएको थिएँ । 
घरमा बार बनाएर रक्सी सजाएर राखेको पनि छु । त्यो मेरो रुचिको विषय हो । घरको बारमा केही नेपाली रक्सी र स्कजहरु सजिएका छन् ।

मेरो गीतसङ्गीत
गीत सङ्गीत सुन्छु । लोकलयमा आधारित आधुनिक गीतसङ्गीत धेरै मनपर्छ । कुटुमा कुटु ...., माछीले खाने..... मेरा मनपर्ने गीत हुन् । गीत सङ्गीत कहिलेकाहीँ बेलुका घरमा पनि सुन्छु । दिउँसो अफिसमा पनि सुन्ने गरेको छु । मोबाइलबाट पनि गीत सुन्न मनपर्छ ।

मेरो सपना 
प्रहरी अफिसरका रूपमा जागिर खाएपछि सङ्गठन प्रमुख हुने सपना सबैको हुन्छ । त्यो ममा पनि छ । त्योभन्दा ठूलो सपना एउटा सफल प्रहरी अधिकृत, देश र जनताको सेवकका रूपमा स्थापित हुने र पहिचान बनाएर सेवाबाट अवकास पाउने इन्छा छ । 

आफ्नो जिम्मेवार एरियाभित्र कोही अन्यायमा नपरोस्, परिहालेछ भने दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सकौँ । महिला, ज्येष्ठ नागरिक, बालबालिकाको न्यायका लागि छिटो छरितो काम गर्न सकौँ भन्ने लाग्छ । म जुन मन्दिरमा जान्छु । आफू खटिएको एरियरमा शान्ति सुरक्षा दिन सकौँ भनेर प्रार्थना मात्र गर्छु ।

 

मेरो सुख 
एउटा रुँदै आएको व्यक्ति, पीडितको न्यायका लागि दोषीलाई छिटोभन्दा छिटो पक्रिएर कठघरमा उभ्याएपछि पीडितको अनुहारमा देखिने हाँसो अथावा जुन खुसीको खुसी हुन्छ । त्यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो ।

मेरो प्रेम
विवाहपछि प्रेम बस्यो । जोसँग विवाह गरेँ उनलाई प्रेम गरँे । मैले अरेन्ज म्यारिज गरेको हो । चिनजान भएकोसँग परिवारको माध्यमले विवाह गरेको थिए । मेरी श्रीमती अहिले पद्माकन्या क्याम्पसमा इकोनोमिक्स पढाउँछिन् । 


मेरो भूल
भूल नगर्ने मानिस सायदै होलान् । काम गर्ने सिलसिलामा जीवनमा जानीनजानी भूल धेरै भए होलान् । काम गर्ने सिलसिलामा सानातिना भूल हुन्छन् नै । आफूलाई पछुतो हुने खालको भूल केही छैन । पहिले अध्ययनमा मिहिनेत गरिनँ । त्यो एउटा भूल भयो । 

मेरो राशि 
मेरो मिथुन राशि हो । ग्रहदशा हेराउने गरेको छैन । किनभने हात हेराउनेमा विश्वास लाग्दैन । मन्दिर जान्छु । पूजा गर्न होइन, दर्शन गर्न । 

मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम नै हो । यसलाई सहज रूपमा हेरेको छु । मृत्युसँग डर कहिल्यै छैन । जागिरका कारणले मैले मर्न लागेका त्यस्ता केही व्यक्तिलाई पनि काउन्सिल गरेको छु ।  अरूलाई सम्झाउने म आफै कन्भिन्स नहुने भन्ने कुरै भएन । दुःखमा नपरी कसैले स्याहार्नु नपर्ने गरेर मृत्यु होस् भन्ने चाहना छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.