शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भुटान फाइनलमा, नेपाललाई बंगलादेश पन्छाउने चुनौती

शनिबार, २१ मङ्सिर २०७६, २२ : १३
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । फाइनलमा पुग्न नेपालले अब आइतबार बंगलादेशलाई हराउनु पर्ने चुनौती छ ।

माल्दिभ्ससरिुद्ध नेपालले पुनरागमन जित निकालेको थियो । माल्दिभ्सका इब्राहिम हुसेनले १८ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि नेपालका अभिषेक रिजालले ४३औं मिनेटमा बराबरी गोल फर्काए । ५२औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई जिताएका थिए ।

अनन्तले सुनिल बलको कर्नर पासमा गोल गरेका थिए ।  शनिबार नै भएको अर्को खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै भुटान फाइनलमा प्रवेश गरेको छ । जितसँगै भुटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो । भुटानको जितमा १८ औं मिनेटमा छिमी दोर्जीले गोल गरे । दावा छिरिङले ६९औं मिनेटमा र एसी दोर्जीले ८० औं मिनेटमा एक एक गोल थपेका थिए । शीर्ष स्थानमा भुटानले चार खेलबाट नौ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ । तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ । दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार नेपाल र बंगलादेश बीचको खेल हुनेछ । उक्त खेलले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । लिग चरणमा तेस्रो हुने टोलीले सोझै कांस्य पदक जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप