शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको अभियोगमा रौतहटका हेल्थ पोष्ट इञ्चार्ज पक्राउ

आइतबार, २२ मङ्सिर २०७६, १२ : ०४
आइतबार, २२ मङ्सिर २०७६

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगको रौतहटको यमुनामाई गाउँपालिकामा पर्ने सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिर कुमार सिंहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

रौतहट प्रहरीका प्रवक्ता डिएसपी नवीन कार्कीका अनुसार शनिवार स्वास्थ्यकर्मी सुधिर कुमार सिंह र गोरखा गौर चल्ने बसका सहचालक अविनाश कार्कीलाई पनि पक्राउ गरिएको छ ।

यस्तो थियो घटना विवरण

स्याङ्जा माइती भइ कास्कीमा विवाह गरेकी संगिता भण्डाी (नाम परिवर्तन) चितवनको भरतपुरमा आफ्ना दुई सन्तानसँग बस्दै आएकी थिइन् । ४ सन्तानकी आमा ३२ वर्षीय संगिता र उनको श्रीमान्बीच सम्बन्ध राम्रो नभएपछि उनी केही समदेखि चितवनको भरतपुरमा बसी दैनिक मजदुरी गर्दै आएकी थिइन् । संगीताले आफ्ना दुई सन्तानलाई पनि आफूसँगै राखेकी थिइन् ।

श्रीमान्ले करिब एक वर्ष अगाडि अर्को बिहे गरेर भारतमा बस्न थालेका थिए । त्यसपछि उनी पनि भरतपुरक्षेत्रमा मजदुरी गर्थिन् ।

यही बीचमा गोरखादेखि रौतहटको गौर चल्ने सुवेदी मिनी डिलक्स बसका सहचालक अविनाश कार्कीसँग महिलाको चिनजान भयो । चिनजानपछि महिलाले गौर घुम्न जान मन लागेको बताइन् । सहचालक कार्कीले महिलाको इच्छा अनुसार गौर घुमाउन लगे ।

मंसिर १७ गते बिहान भरतपुरबाट हिँडेकी महिला करिब १२ बजे रौतहटको गौर पुगेकी थिइन् । बसका सहचालकले महिलालाई दिनभर गौर घुमाइदिए । तर त्यसदिन उक्त बस चितवन नफर्कने भएपछि सहचालकले अर्को बसमा चढाएर महिलालाई चितवन फर्काइदिने निर्णय गरे ।

ती सहचालक र महिला गौरको बसपार्कमा पुगे । तर साँझ गाडी नपाएपछि रौतहटकै चन्द्र निगाहपुरमा बस पाइने भन्दै त्यहाँ जान लागे ।

त्यही बेला सरुअठा स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिस्टेण्ट सुधिर कुमार सिंह भेट भए । ४५ वर्षीय सुधिरले बसपार्कमा बस नपाएको भए चन्द्र निगाहपुरमा बस पाउने र आफू त्यतै जान लागेको भन्दै महिलालाई चन्द्र निगाहपुर पुराइदिने भन्दै मोटरसाइकलमा राखेर हिँडे ।

तर आफूलाई डाक्टर भनेर चिनाउने सिंहले महिलालाई बस चढाउनका लागि चन्द्र निगाहपुर लगेनन् । बरु गौर बसपार्कबाट १५ किलोमिटर टाढा सरुअठा स्वास्थ्य चौकीमै लिएर गए । राती भइसकेकाले भोलि जाउँला भन्दै महिलालाई त्यहीँ राख्न चाहे । तर महिलाले आफू नबस्ने र बसपार्क पुराइदिन भन्दा पनि सिंहले मानेनन् र रातभर स्वास्थ्य चौकीमै राखी पटकपटक बलात्कार गरे ।

मंसिर १८ गते बिहान मात्रै सिंहले महिलालाई चन्द्र निगाहपुर बसपार्कमा ल्याएर छाडे ।

महिला बस चढेर भरतपुरतर्फ लागिन् । त्यसपछि मात्रै महिलाले ती ‘डाक्टर’लाई फोन गरेर आफूलाई बलात्कार गरेकोबारे प्रहरीमा उजुरी दिने बताइन् ।

महिलाले उजुरी गर्ने भनेपछि आत्तिएका सिंहले उजुरी नगर्न आग्रह गर्दै स्वास्थ्य चौकीमै महिलालाई जागिर दिने आश्वासन दिए ।

तर पनि महिलाले ती डाक्टरको प्रस्ताव अस्वीकार गरिन् र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ती डाक्टरविरुद्ध उजुरी दिइन् ।

महिलालाई ती डाक्टरको नाम समेत थाहा थिएन । तर आफूसँग भएको मोबाइल नम्बर राखेर उनले ती डाक्टरविरुद्ध उजुरी दिएकी थिइन् ।

उजुरी लगत्तै प्रहरीले शुक्रबार साँझ डाक्टर सुधिर कुमार सिंहलाई गौरबाट पक्राउ गर्यो ।

महिलालाई सहचालकलाई पनि पोलिन्

पहिले सरुअठा स्वास्थ्य चौकीका इञ्चार्ज सुधिर कुमार सिंहविरुद्ध मात्रै बलात्कारको उजुरी दिएकी महिलाले पछि गोरखा काठमाडौँ चल्ने बसको सहचालक अनिवाश कार्कीले पनि आफूलाई बलात्कार गरेको मौखिक उजुरी दिइन् । कार्कीले आफूलाई फकाइफुलाई गौर ल्याएर दिनभर बलात्कार गरेको र साँझ चितवन फर्काउन लाग्दा फेरि बलात्कारमा परेको भनी उजुरी दिएकी थिइन् । त्यसपछि उक्त बसका सहचालकलाई पनि शुक्रबार नै हेटौंँडाबाट पक्राउ गरी गौर ल्याइएको डिएसपी कार्कीले रातोपाटीलाई बताए ।

सिंहमाथि कार्यालयकै कर्मचारीलाई यौन अपराध गरेको आरोप

स्वास्थ्य चौकीमै ल्याएर महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेपछि उक्त स्वास्थ्य संस्थामै काम गर्ने एक महिला कर्मचारीले पनि डाक्टर सिंहले आफूमाथि पटकपटक यौन अपराध गरेको मौखिक उजुरी दिएकी छिन् । स्वास्थ्यचौकीमै कार्यरत महिला कर्मचारीले यौन अपराध गरेको मौखिक उजुरी दिएपनि कस्तो प्रकृतिको ‘यौन अपराध’ भन्ने बारे नखुलेको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।

पक्राउ परेका हेल्थ असिस्टेण्ट सुधिर कुमार सिंहले आफूले भारतबाट बिडिएस समेत पास गरेकाले डाक्टर लेख्ने गरेको बताएका छन् । उनले भारतबाट बिडिएस उत्तीर्ण गरी अहिले गौरमै दाँतसम्बन्धि क्लिनिक खोलेका छन् । तर सरकारी सेवामा रहेका उनले बेतलबी बिदा लिइ बिडिएस अध्ययन गरेको भनेपनि त्यसबारे छानबिन भइरहेको समेत डिएसपी कार्कीले बताए ।

२१ गते शनिवार परेकाले आज लिखित जाहेरी लिने र अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने रौतहट प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप