बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यो साता पनि नहुने भो मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाई

आइतबार, २२ मङ्सिर २०७६, १७ : ३८
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । मंसिर २२ गते आइतबारबाट दैनिक ९ हजार स्मार्ट लाइसेन्स छपाई गर्ने भनिएपनि मास प्रिन्टर चलाउन पर्याप्त तयारी नभएपछि अझै छपाई सुरु हुन सकेको छैन । यसअघि मंसिर १८ गतेबाट प्रिन्ट सुरु गरिएको भनेपनि सामान्य छपाई गरे पनि औपचारिक छपाईको भने अझै सुरुवात हुन नसकेको हो । 

विभागमा स्मार्ट लाइसेन्स लिनका लागि प्रक्रिया पूरा गरेर बसेका सेवाग्राहीको सङ्ख्या करिब ८ लाख छ । उनीहरुमध्ये कति त १५ महिना पहिले नै प्रक्रिया पूरा गरेर बसेकाहरु छन् ।  यसअघि स्मार्ट लाइसेन्सका छपाइका सम्बन्धमा तीव्र आक्रोश आएपछि यातायात व्यवस्था विभागले मंसिर २२ गतेबाट तीन सिफ्टमा कर्मचारी राखेर मास प्रिन्टरबाट छपाई सुरु गर्ने बताएको थियो । दैनिक ७ देखि ९ हजार थान स्मार्ट लाइसेन्सको छपाई गर्ने विभागको योजना थियो । 

रातोपाटीसँगको कुराकानीका क्रममा पनि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले कर्मचारीहरुको सिफ्ट छुट्याइएको कागज देखाउँदै मंसिर २२ गते आइतबारबाट ३ सिफ्टमै छपाई सुरु गर्ने बताएका थिए । तर आइतबारबाट हुने भनिएको औपचारिक छपाई अझै सुरु हुन सकेन । मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाईका सम्बन्धमा के भयो भनी आइतबार अपरान्ह पौने ५ बजे सम्पर्क गर्दा विभागका महानिर्देशक हमालले यो साता छपाई हुन नसक्ने जानकारी दिए । 

तपाईँ आफ्नै योजना थियो आइतबारबाट तीन सिफ्टमा छपाई गर्नेबारे तर अहिले किन हुन सकेन त भन्ने प्रश्नमा उनले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा यो साता सम्भव नभएको बताए ।  हमालका अनुसार विभागमा काम गर्ने अपरेटरहरु धेरैजसो महिला कर्मचारी रहेका छन् । महिला कर्मचारीलाई रात्री सिफ्टमा काम गराउने सम्बन्धमा सहमति जुट्न नसक्दा समस्या भएको हो । 

उनका अनुसार तीन सिफ्टमा काम गर्दा गाडीको व्यवस्था, अतिरिक्त भत्ताको व्यवस्था आदिबारे सहमति जुट्न नसक्दा यही साताबाट गर्ने भनिएको मास प्रिन्टिङको छपाई अर्को साता पर धकेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप