शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेह्रौँ सागः नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै, कुन खेल कहाँ हुँदैछ ?

सोमबार, २३ मङ्सिर २०७६, १२ : ५३
सोमबार, २३ मङ्सिर २०७६

–विक्रम गिरी
कठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ । 

कुन कुन खेल कहाँ ? 

फुटबल 
सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य  माल्दिभ्सले जितेको छ । पुरुष फुटबलको फाइनल मङ्गलबार नेपाल र भूटानबीच हुनेछ । 
क्रिकेट 
साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ । यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सबीच सोही मैदानमा खेल हुनेछ । महिलातर्फ स्वर्ण बङ्गलादेशले, रजत श्रीलङ्काले तथा कास्य नेपालले जितेको छ ।
कबड्डी 
महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज हुँदैछ । पुरुषतर्फ भारत र श्रीलङ्काबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ । 
बास्केटबल 
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन् । पुरुषको सेमिफाइनलमा बङ्गलादेश र श्रीलङ्का तथा नेपाल र भारतबीच खेल हुनेछ । 
यस्तै महिलातर्फ भारत र भूटान तथा नेपाल र माल्दिभ्सबीच सेमिफाइनल खेल हुनेछ । 
बक्सिङ 
साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन् । महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, सङ्गीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भूपेन्द« थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन् । 
यस्तै सुशील थापामगर, पुरन राई, अर्जुन सिगु, तेजबहादुर देउवा, विकास लामा र चन्द्रकला थापा कास्य पदकका लागि भिड्नेछन् । 
 आर्चरी 
आर्चरीतर्फ पोखरामा आज एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 
स्क्वास 
स्क्वासतपर्फ आज पुरुष र महिलातर्फ विभिन्न खेल हुनेछन् । 
टेनिस 
टेनिसअन्तर्गत आज महिला र पुरुषतर्फको विभिन्न खेल हुनेछन् । टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ । 
कुस्ती 
कुस्तीतर्फ आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलङ्काले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन् ।
जुडो 
सागअन्तर्गत जुडोमा आज विभिन्न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ । खेल आर्मी शारीरिक तालीम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ ।
फेन्सिङ 
कीर्तिपुरमा फेन्सिङअन्तर्गत आज टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ । 
पौडी 
पौडीअन्तर्गत आज विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन् ।
सुटिङ 
सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।  आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । 

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप