शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : जुर्मुरायो नेकपा, महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

प्रकृतिलाई थाहा छैन खुट्टा गुमाएको
मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : १३
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका निर्णयको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, १३ औँ दक्षिण एसियाली खेलकुदमा गौरिका सिंहको प्रदर्शन, राष्ट्रिय सभाको निर्वाचन लगायतका समाचारहरु पनि प्रकाशित छन् ।

अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि नेकपाको संगठनात्मक सक्रियता बढेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेसहित लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ । त्यस्तै, अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्त कार्य तत्काल हुने भएको छ । अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो । यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो ।

यता, कान्तिपुर दैनिकमा सोमबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब एक महिना अघि भएको नयाँ सहमति अनुसार आ–आफ्नो मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको समाचार छ । दाहालले धुम्बाराहीमा ओलीबिनाको पार्टी सचिवालय बैठक गरे भने बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखे । कार्यकारी अध्यक्ष भएपछि दाहालले बोलाएको सचिवालयको दोस्रो बेठक महत्त्व, छलफल र निर्णयका हिसाबले अर्थपूर्ण थियो । विगतमा यस्ता बैठक ओलीको अनुपस्थितिमा हुँदैनथे । पार्टी वरीयताको पहिलो नम्बरका अध्यक्ष ओलीको अनुपस्थितिमा ४ घण्टा लामो बैठक बसेको सोमबार पहिलो पटक हो । दाहालले यो बैठकका लागि आइतबार साँझ करिब १ घण्टा ओलीसँग छलफल गरेका थिए । ओलीसँगको परामर्श पनि लिने भन्ने सहमतिअनुसार दाहालले आइतबार ओलीसँग भेटेका थिए । त्यही भेटका आधारमा उनी बैठकमा प्रस्तुत भएका थिए ।

कान्तिपुर दैनिकमा ‘संसद्भित्रै यौनहिंसा भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

पत्रिकामा राष्ट्रिय सभाका रिक्त हुने एक तिहाइ सदस्यको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको समाचार  छ । आयोगका पदाधिकारीले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको २ वर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले सोहीअनुसार मिति सिफारिस गरिएको बताए ।

पत्रिकामा जो आफ्नो खुट्टा गुमाएको बारे अनभिज्ञ छिन् भन्ने शीर्षकमा समाचार छ । आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो।रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो। विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन्। आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन्।  ुत्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,ु प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्। यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ। साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति। प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ। उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन्। बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए। आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो। त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन।

नागरिक दैनिकमा अनियमितताले तुहिएको ‘प्याज मिसन’ शीर्षकमा समाचार छ । यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो। उक्त मिसन कार्यान्वयनका लागि सरकारले साढे १५ करोड रुपैयाँ खर्च पनि गरेको थियो। तर उक्त मिसन पाँच वर्षभन्दा बढी टिक्न सकेन। कालीमाटी तरकारी बजारमा आइतबार प्याजको खुद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँ रह्यो, जुन तीन महिनाअघिको मूल्यभन्दा दुई सय ५७ प्रतिशतले बढी हो। साढे दुई महिनाअघि भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली बजारमा प्याजको मूल्य अकासिएको हो। भारतले प्याज उत्पादन हुने क्षेत्रमा उत्पादन घटेपछि यो प्रतिबन्ध लगाएको थियो। भारत गरेको बन्देजका कारण सिर्जना भएको भनिएको यो संकटलाई समयमै उचित सम्बोधन नगरेको भनेर विज्ञहरूबाट सरकारको आलोचना भइरहेको छ। आमउपभोक्ता पनि प्याजको मूल्यवृद्धिलाई लिएर निकै रुष्ट बनेका छन्। यस किसिमको संकट सिर्जनामा आन्तरिकभन्दा बाह्य कारण जिम्मेवार रहेको भनी सरकारी अधिकारीहरूले दाबी गरिरहँदा १० वर्षअघि सुरु गरिएको र पाँच वर्षमै बन्द गरिएको प्याज मिसनबारे चर्चा चुलिएको छ।

नयाँ पत्रिका दैनिकमा निगम आफैँले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर गरेको समाचार छ । चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ । नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ । एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो । ३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए । फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए । यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो । निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो । जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप