शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेलका कारण विश्व अर्थतन्त्रमा प्रभाव पार्ने, दैनिक २१ लाख ब्यारेल उत्पादन घट्दै

मङ्गलबार, २४ मङ्सिर २०७६, ०८ : ३९
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । तेलका कारण विश्व अर्थतन्त्र प्रभावित हुने भएको छ । पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ताहरुको सङ्गठन (ओपेक) ले साविकको तेल उत्पादनको परिमाणलाई घटाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने र अर्थतन्त्र प्रभावित हुने भएको हो ।

शुक्रबार भियन्नामा बसेको प्रमुख पेट्रोलियम पदार्थ निर्यातकर्ता र रुस लगायतका अन्य उत्पादकहरुको बैठकले सन् २०२० को मार्चसम्ममा दैनिक ५ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति गरेका छन् । योसँगै मार्चसम्ममा ओपेक र गैर–ओपेकको तेल उत्पादन दैनिक १७ लाख ब्यारेल घट्ने छ । तर बजारलाई हेरी मार्च ५–६ मा बस्ने समूहको बैठकमा भने निर्णय पुनरवलोकन गर्न सकिने बताइएको छ ।

गत शुक्रबार नै प्रमुख तेल उत्पादक राष्ट्र साउदी अरेबियाले स्वेच्छिक रूपमा सन् २०२० को मार्चसम्ममा आफ्नो तेल उत्पादन दैनिक ४ लाख ब्यारेल कम गर्ने जनाइसकेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेल कटौती परिमाण थप दैनिक २१ लाख ब्यारेल पुग्ने छ ।

यो समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्कको भाउ बढ्न थालिसकेको छ । निर्णय भएकै दिन लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड तेलको भाउ प्रतिब्यारेल करिब १ दशमलव ६७ प्रतिशतले बढेर ६५ डलर १५ सेन्टमा पुगेको थियो । त्यस्तै न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा सोही दिन तेलको भाउ प्रतिब्यारेल १ दशमलव ३६ प्रतिशतले बढेर ५९.०८ डलर पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको उत्पादनमा भारी कटौती गर्ने निर्णयसँगै यो दर अझ बढ्न सक्ने सङ्केत गरेको छ । यद्यपि गत अप्रिलको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउको उच्च विन्दु भने अझैँ छोएको छैन । गत अप्रिल २३ मा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ६६.३ डलर प्रतिब्यारेल पुगेको थियो । जुन यो वर्षकै उच्च बिन्दु हो । त्यसपछि भने तेलको भाउ निरन्तर ओरालो लाग्दै आएको छ । तर शुक्रबारको उक्त निर्णयले भने पुनः बजारमा तेलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ ।

प्रभाव के ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै यसले विश्व अर्थतन्त्रमा नै प्रभाव पार्ने देखिन्छ । यसले अन्तर्राष्ट्रिय व्यापारदेखि मुद्रा विनिमयदरलाई समेत प्रभाव पार्ने देखिन्छ । प्रमुख त विश्वकै ठूलो अर्थतन्त्र बोकेका मुलुकहरु अमेरिका चीन, जापान, भारत लगायत युरोपेली देशहरुमा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । त्यसको अप्रत्यक्ष प्रभाव नेपाल जस्ता कम अर्थतन्त्र बोकेका तेस्रो मुलुकहरुका लागि समेत पर्नेछ । विश्व बजारमा निरन्तर तेलको भाउ घट्टा त्यसको असर उत्पादक राष्ट्रको अर्थतन्त्रमा परेपछि उत्पादक तथा निर्यातकर्ताहरुले तेल उत्पादनमा कटौतीको नीति लिएका हुन् । यसले बजार स्थिर हुने र माग बढ्ने उनीहरुको अपेक्षा छ । त्यसो त विश्व बजारकै अधिकतम तेल खपत गर्ने महाराष्ट्र अमेरिकाले आफ्नो तेल भण्डारणमा अधिक तेल भण्डार गरेपछि तेलको माग कम हुन गई मूल्यमा गिरावट आएको बताइएको छ ।

पेट्रोलियन इन्स्टिच्युटलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएअनुसार अमेरिकामा कच्चा तेलको भण्डारण ३६ लाख ब्यारेलले बढेर कुल ४४.९६ करोड ब्यारेल पुगेको छ ।

पेट्रोलियम पदार्थमा आएको निरन्तरको गिरावटकै कारण अर्को ठूलो बजार भारतको समेत मुद्रा अवमूल्यन भइरहेको छ । तेलको भाउमा सुधार आए केही हदसम्म अर्थतन्त्र सुध्रने विश्लेषण गरिएको छ ।

नेपालमा

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटबढले उपभोक्ताका हिसाबले नेपाललाई पनि अप्रत्यक्ष प्रभाव पार्ने गर्छ । तर त्यो परिमाणमा नभएर मूल्यमा पर्ने नेपाल आयल निगम (एनओसी) का प्रवन्ध निर्देशक वीरेन्द्र गोहित बताउँछन् ।

‘अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटबढले नेपाली बजारमा पनि प्रभाव पार्छ । तर उत्पादनले खासै पर्दैन ।’ गोहितले भने, ‘किनकी एनओसी र आईओसी(भारतीय आयल कर्पोरेसन) बीच सहमती छ । भारतले सम्झौता गरेअनुसारको तेल पठाउछ । तर मुल्य भने घटबढ हुन्छ ।’

गोहितका अनुसार अहिलेको ओपेकको कम तेल उत्पादनको नीतिले नेपाललाई अप्रत्यक्ष प्रभाव पार्नेछ । यसले नेपाली बजारमा तेलको भाउ बढ्न सक्छ । तर त्यो आईओसीमा निर्भर रहेको उनको भनाइ छ । निगमले गत सोमबार मात्र पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर दुई दुई रुपैयाँको दरले मूल्य बढाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप