शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँखा अस्पतालको भौतिक विकासका लागि ५० लाख विनियोजन

मङ्गलबार, २४ मङ्सिर २०७६, १० : ०२
मङ्गलबार, २४ मङ्सिर २०७६

यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो । 

गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए । गत वर्षको अधुरो भवनको भौतिक निर्माण सम्पन्न गर्न रकम विनोयोजन गरिएको निर्वाचन क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले जानकारी दिए । 

त्यस्तै लमही आँखा अस्पतालको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएसँगै कर्मचारी आवास भवन निर्माण शुरु गरिएको र सो रकम यस आर्थिक वर्षमा पनि भवनमा लगाउने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए । अस्पतालमा भौतिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र अब कर्मचारी भवन निर्माणसँगै कर्मचारीलाई पनि आवासका लागि सहज हुने अस्पतालले जनाएको छ ।
 
त्यसैबीच लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष विमबहादुर केसीमा बसेको बैठकले निर्माणाधीन भवन निर्माणलाई पूरा गर्न भवन निर्माण समिति गठन गरेको छ । सङ्घका सदस्य तिलकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो । 

त्यस्तै नेपाल नेत्रज्योति सङ्घ दाङले बजेट विनियोजनमा सहयोग गर्ने यस क्षेत्रका सम्पूर्ण संसादलाई धन्यवाद दिएको छ । सङ्घका सभापति कृष्णकुमार गिरीले संस्थाको भौतिक विकास तथा आँखा स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिएका हुन् । “हाम्रो अभियान भनेको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ र भौतिक तथा सबै किसिमले आँखा अस्पताललाई सम्पन्न गर्ने हो यसमा साथ र सहयोग गर्नुहुने सबैमा सङ्घले आभार प्रकट गर्दछ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप