शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहरवासीले निकालेको फोहोर वर्गीकरण गर्दै काठमाडौं महानगर

बुधबार, २५ मङ्सिर २०७६, ०८ : ३६
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । 

शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । 

स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ ।  

यसरी फोहर व्यवस्थापन गर्ने कार्यका लागि अहिले महानगरकाका ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको बताए । 

उनले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिए । 

उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो । यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ ।
 
फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ । 

ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप