बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फातीको किर्तिमानी गोलसँगै बार्सिलोना नकआउट चरणमा

बुधबार, २५ मङ्सिर २०७६, ०८ : ४२
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । युवा स्टार अन्सु फाती च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बन्दा स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले बलियो इटायिन प्रतिद्वन्द्वी इन्टर मिलानलाई उसैको मैदानमा २–१ गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा फातीले ८५औं मिनेटमा निर्णायक गोल गरेका थिए । दुई मिनेटअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फातीले १७ वर्ष ४० दिनको उमेरमा गोल गर्दै नयाँ कीर्तिमान पनि बनाए ।

यसअघि यो किर्तिमान ओलम्पियाकोसका पिटर ओफोरी कुयायेको नाममा थियो । उनले सन् १९९७ मा १७ वर्ष १९४ दिनको उमेरमा गोल गरेका थिए ।

खेलमा बार्सिलोनाले २३ औँ मिनेटमा कार्लेस पेरेजको गोलमा अग्रता लिएको थियो । तर, इन्टरका लागि ४४ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि फातीले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए ।

पराजयसँगै इन्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । युरोपियन प्रतियोगितामा सहभागित गरेको पछिल्ला तीन संस्करणमा इन्टर समूह चरणबाटै बाहिरन बाध्य बनेको छ ।

यता, जितसँगै समूह ‘एफ’ मा रहेको बार्सिलोनाले ६ खेलबाट १६ अंक बनायो । यही समूहबाट जर्मन क्लब बोरुसिया डर्टमन्डले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।

मङ्गलबार राति डर्टमन्डले स्लाभिया प्रागलाई २–१ गोलले पराजित ग-यो । डर्टमन्डले ६ खेलबाट १० अंक बनायो । सात अंक बनाएको इन्टर तेस्रो स्थानमा रह्यो । दुई अंक बनाएको स्लाभिया प्राग अन्तिममा रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप