बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोमबारदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

आइतबार, ०४ भदौ २०७४, १८ : १७
आइतबार, ०४ भदौ २०७४

काठमाडौँ । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ । 

इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए । 

“इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ”–उनले भने । 

केन्द्रबाट यो नं प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ । 

यो नं प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि रु तीन हजार ६००, मझौला चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि रु दुई हजार ५०० दस्तुर तोकिएको छ । 

सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नं प्लेट राख्ने कामको शुभारम्भ गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप