बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बैंक ह्याक गर्ने गिरोह समातियो, १७ वटा बैंकमार्फत साढे १४ करोड कारोबार गरेको खुलासा

बुधबार, २५ मङ्सिर २०७६, १४ : ००
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई  एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका थिए । 

सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए । 

ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले जानकारी दियो । 

४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् । 

एजेन्टहरुले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंकहरु समेत ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी सुशील सिंह राठौरले जानकारी दिए । 

प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप