बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपहारको लोभमा यसरी गुम्यो २४ लाख ४० हजार

ठगले विदेश पुर्‍याए १४ करोड बढी
बुधबार, २५ मङ्सिर २०७६, १७ : ४८
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । खोटाङ घर भई काठमाडौं बस्ने सीता राई (नाम परिवर्तन) लाई करिब एक वर्षअघि बेलायती नागरिकले सामाजिक सञ्जालमा भेटे । स्मिथ मोरिस नाम गरेका बेलायती नागरिकले खोटाङकी सीतासँग करिब एक वर्षसम्म साथी बनेर धेरै कुरा गरे । उनीहरुका बीचमा दैनिक जीवन देखि पारिवारिक र आर्थिक कुराहरु भए । 

फेसबुक, भाइबर, ह्वाटस् एप लगायतका सामाजिक सञ्जालमा स्मिथ र सीताबीच एक वर्षसम्म कुरा भएपछि स्मिथले सीताका लागि करिब ३० लाख रुपैयाँको गिफ्ट पठाउने कुरा गरे । आफूलाई बेलायतमा बस्दा बस्दा वाक्क लागिसकेको भन्दै आफू पनि केही समयमै नेपाल आउने भन्दै उनले सीताका लागि उपहार पठाएको पार्सलको फोटोसमेत पठाए । उपहार भारतको बाटो हुँदै नेपाल आउने कुरा बताए । 

बेलायती साथीले ३० लाख रुपैयाँको उपहार पठाउने भएपछि सीता पनि मख्ख परिन् । स्मिथले पार्सल पठाइसकेको भन्दै भारतको भन्सारमा सामान पुगेको र त्यहाँबाट फोन आउनसक्ने कुरा सुनाए । सीताले साथीको कुरा पत्याइन् । 

स्मिथले उपहार पठाएको केही दिनमा सीतालाई भारतको भन्सारबाट फोन आयो । तपाइँको सामान भन्सारमा आइपुगेको भन्दै भन्सार छुटाउनका लागि आवश्यक रकम पठाउन आग्रह गरियो ।  सीताले भारतीय ‘भन्सार कार्यालय’बाट आएको फोन अनुसार भारतमा रकम पठाइन् । सीताले विभिन्न व्यक्तिलाई विभिन्न मितिमा गरी १७ लाख रुपैयाँ भारतीय मानिसहरुलाई पठाइन् ।  तर यति धेरै पैसा पठाउँदा पनि सीताको उपहार नेपाल आइपुगेन । 

बरु भारतीय नागरिक र बेलायती साथी स्मिथ मोरिसले फेरि सामान ल्याउन नेपाली नागरिक रमेश खड्कालाई ७ लाख ४० हजार रुपैयाँ बुझाउन भने । सीताले स्मिथले भने झैं त्यो रकम पनि बुझाइन् । तर पनि सामान भने नेपाल आउन सकेन । 

बरु बिस्तारै उनीहरु सबै सम्पर्कविहीन हुन थाले । त्यसपछि मात्रै सीतालाई आफू ठगिएको बारे थाहा भयो । तर पनि उनी पारिवारिक र सामाजिक कारणले प्रहरीमा उजुरी दिन गइनन् ।  प्रहरीले यो सबै घटनाक्रम थाहा पाएपछि सीतालाई सम्पर्क गर्यो । त्यसपछि बल्ल सीताले आफूलाई को को व्यक्तिले कसरी ठगी गरे भनेर सुनाइन् । 

ऋण खोजेर दिइन् २४ लाख रुपैयाँ

खोटाङ घर भएकी सीतासँग २४ लाख रुपैयाँ पनि थिएन । तर उनकी दिदी नेपाल बाहिर भएकाले तिनै दिदीसँग पटकपटक गरी सीताले २४ लाख ४० हजार रुपौयँ मागिन् । त्यही रकम सीताले विभिन्न व्यक्तिमार्फत् स्मिथ मोरिसका नाममा पठाइन् । तर ३० लाखको उपहार पाउने आशमा २४ लाख ४० हजार गुमाएकी सीताले न उपहार पाइन् न त आफ्नो रकम नै । 

अनलाइनमार्फत् ठगी गरेको आरोपमा प्रहरीले दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विश्वेश्वर प्रसाद तिवारी र नवलपरासी रामग्रामका १९ वर्षीय सन्दिप कलवारलाई पक्राउ गरेको छ ।  उनीहरुलाई पक्राउ गरिसकेपछि मात्रै नेपालमा अनलाइन ठगी र बैंक ह्याकिङका घटनामा संलग्न विदेशी नागरिकहरुबारे प्रहरीले जानकारी पाएको छ । 

महानगरीय अपराध महाशाखाकाका एसएसपी सहकुल बहादुर थापाका अनुसार नाइजेरियन नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसको डिजाइनमा नेपालमा अनलाइन ठगी तथा बैंक ह्याकिङको घटना भइरहेको छ । 

विदेशी ठगका ४० एजेण्ट नेपालमा

पिटर हर्मन र स्मिथ मोरिसले नेपालमा अनलाइनमार्फत् ठगी गर्न तथा बैंक ह्याकिङ गरी पैसा चोर्न ४० भन्दा बढी एजेण्टहरु खडा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अपराध महाशाखाका एसएसपी थापाका अनुसार पिटर र स्मिथले नेपालमै विभिन्न व्यक्तिहरुलाई खडा गरी १५ देखि २० प्रतिशत कमिशन दिने गरी ४० जनाभन्दा बढी एजेण्ट खडा गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुलाई बैंकमा खाता खोल्न लगाउने र उक्त खाताको सञ्चालन भने आँफै गर्ने गरी रकम चोरी तथा ठगी गरिरहेको प्रहरीले जनाएको छ । 

१४ करोड ६७ लाख शंकास्पद कारोवार

प्रहरीले पक्राउ परेका व्यक्तिहरुको खाताबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ कारोबार भएको पाएको छ । अपराध महाशाखाको अनुसार यो सबै रकम अनलाइनमार्फत् भएको ठगी र बैंक ह्याकिङ गरी प्राप्त रकम भएको प्रहरीको दाबी छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यी रकममध्ये सबै रकम भारतीय, बेलायती र नाइजेरियन ठगहरुको खातामा पठाइसकेको प्रहरीले बताएको छ । 

भारतीय एजेण्टको प्रयोग गरी बढी ठगी 

उपहार आएको भन्दै फोन गर्ने विभिन्न व्यक्तिहरुले सीतासँग १७ लाख रुपैयाँ लगे । सीतालाई फोन गर्ने सबै व्यक्ति भारतीय नागरिक थिए । बाँकी ७ लाख ४० हजार रुपैयाँ मात्रै सीताले नेपाली एजेण्ट रमेश खड्कालाई पठाएकी थिइन् । त्यसपछि मात्रै गिरोहका ३ जना सदस्य पक्राउ परेका थिए । 

बैंक ह्याकिङमा पनि यो गिरोहको संलग्नता

महानगरीय अपराध महाशाखाको अनुसार बैंक केही समयअगाडि भएको कृषि बैंकको ह्याकिङमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । केही समयअगाडि कृषि विकास बैंकको सर्लाही शाखाबाट भएको १ करोड रकम ह्याकिङ गरी चोरी गरेको प्रकरणमा पनि यी व्यक्तिहरु संलग्न रहेका प्रहरीको दाबी छ । यो गिरोह बैंक तथा रेमिट्यान्स ह्याकिङमा संलग्न रहेको र उनीहरुबाट बैंक ह्याकिङ हुनसक्ने खतरासमेत रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप