शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षपछि नयाँ हवाई नीति ल्याउँदै सरकार

बुधबार, २५ मङ्सिर २०७६, १८ : ५५
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ हवाई नीति ल्याउने भएको छ । मन्त्रालयले १५ वर्ष पछि पहिलो पटक हवाई ऐन नै परिवर्तन गर्ने गरी नयाँ हवाई ऐन २०७६ ल्याउन लागेको हो । सोका लागि मन्त्रालयले ७ सदस्यीय मस्यौँदा समिति समेत गठन गरेको छ । 

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा मन्त्रालयका पूर्वसचिव योगप्रसाद गौतमको नेतृत्वमा गठित समितिले अहिले मस्यौँदा तयारको काम गरिरहेको छ । समितिले उपत्यकाभित्र र बाहिर गरेर दुईवटा कार्यशाला गोष्ठी चलाएको र सबैको राय सल्लाह, सुझाव, लिने काम गरिरहेको समितिका संयोजक गौतमले रातोपाटीलाई जानकारी दिए । 

‘हवाई ऐन २०६३ फेरेर नयाँ ऐन बनाउने रणनीति लिएको छ । त्यसका लगि मेरो नेतृत्वमा मस्यौँदा समित गठन भएको छ ।’ गौतमले भने, ‘अहिले हामीले सबैको राय, सल्लाह सुझाव लिने र मस्यौदा बनाउने काम गरिरहेका छौं ।’

गौतमका अनुसार अबको केहि दिनमा नै हवाई नीति परिमार्जनको मस्यौँदा तयार हुनेछ । त्यसपछि ऐनका लागि उक्त मस्यौँदा संसदमा पेस हुनेछ । १५ वर्षपछि परिवर्तन गर्न लागिएको हवाई ऐन परिमार्जन नभएर पूणएरुपमा नयाँ रहेको गौतमले जानकारी दिए । उक्त ऐनले समग्र हवाई व्यवस्थाका लागि आवश्यक नीति तथा कार्ययोजना र त्यसको कार्यन्वयनलाई जोड दिनेछ । 

विशेषगरी हवाई सुरक्षा, विमानस्थलको सुधार, अन्तर्राष्ट्रिय उडान र आन्तरिक हवाई नीतिबारे ऐनमा नयाँ प्रावधान ल्याइने गौतमले जानकारी दिए । त्यसका लागि अहिले गृहकार्य भइरहेको छ । यता, अन्तर्राष्ट्रिय बजारमा हवाई सम्बन्धी नयाँ–नयाँ प्रयोग र गृहकार्य भइसकेको अवस्थामा नेपालको हवाई ऐन पुरानो भएकाले नयाँ ऐन ल्याउन लागिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

‘अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा धेरै नयाँ नयाँ प्रयोग र मान्यता ल्याइसकेको छ । तर नेपालमा १५ वर्षदेखि एउटै नीति नियममा हवाई क्षेत्र चल्दै आएको छ ।’ लामिछानेले भने, ‘समय अनुकूल र वस्तुपरक भएर मन्त्रालयले नयाँ ऐन ल्याउन लागिएको हो ।’ 

नयाँ राष्ट्रिय हवाई ऐनले निर्माणाधिन निजगढ विमानस्थललाई समेत समेट्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अबको विकल्प निजगढ विमानस्थलनै भएको भन्दै यसको निर्माण र प्रयोग आवश्यक रहेको ठहर गरेको छ । 

नेपाललाई अन्तर्राष्ट्रिय उडानको ट्रान्जिट हब बनाउन समेत निजगढ विमानस्थल अपरिहार्य भएको संयोजक गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप