शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : साग विजेतालाई पुरस्कार घोषणा,  खेलाडीलाई प्रधानमन्त्रीको हौसला–कास्य पनि स्वर्ण जस्तै

बुधबार, २५ मङ्सिर २०७६, १९ : १०
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका छन् । उनले खेलाडीहरुलाई बधाइ दिदै उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे । 

उनले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरुलाई सुझाव दिए ।  ‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन । अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौँ । २०६ वटा खेलमा सहभागी हुने हैसियत थिएन । अहिले २०६ वटै पदक प्राप्त गरिसकेका छौ’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए । 

विगतमा एकमात्र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुने रंगशाला रहेकोमा यसपटक तीन ठाउँका ठूला रंगशालाबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन सफल भएकोमा उनले सरकारको सफलतासँग जोडे । 

सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको भन्दै सातवटै प्रदेशमा नयाँ र भव्य रंगशाला बन्दै गर्नुलाई प्रगतिको संकेतका रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी र आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेको बताए । 

 मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताए । ठट्यौली शैलीमा प्रधानमन्त्रीले अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै भएको बताए । 

र, प्रधानमन्त्री ओलीलले कास्य पदक स्वर्ण पदक जस्तै भएको र मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौं भन्दै खेलाडीलाई हौसला दिए । 

प्रधानमन्त्रीले आफुलाई साग प्रतियोगिता सुरु हुने वेला अचानक एपेण्डिसाइटिस इन्फेक्सन भएको भन्दै अस्पतालमा हुँदा पनि युट्युवबाट हेर्ने गरेको तथा आइसियुमा हुँदा पनि हेर्न नछुटाएको बताए । 

यसैबीच प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् ।

प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कार दिइनेछ । यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् । रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ ।


यसबाट गौरिकाले थप १२ लाख पाउँनेछिन् । यो दुवैको जोड्दा गौरिकाले ५६ लाख पाउँछिन् । गौरिकाले काँस्य पदक समेत जितेकाले अरु थप रकम समेत पाउँनेछिन् । यस्तै एक स्वर्ण पाउनेले ९ लाख, रजत पाउनेले ६ र कांस्य पाउनेले ३ लाख पुरस्कार पाउनेछन् । 

ठगी गर्ने पक्राउ

भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ । 

अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल मार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए । 

पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए । 

नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताउनुभयो । थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगि पीडितहरु प्रहरीको सम्पर्कमा आएको बताए । 

काँग्रेस बैठक

नेपाली काँग्रेसको संस्थापन र इतर पक्ष केन्द्रीय कार्यसमिति बैठकका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।  बुधबार बिहान सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवास महराजगञ्जमा संस्थापन र इतरपक्षका नेताबीच छुट्टाछुट्टै छलफल भएको छ ।

संस्थापन पक्षबाट सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाण, रमेश लेखकलगायतका नेताहरुबीच छलफल भएको थियो । 

यता इतर पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, डा. शेखर कोइराला, चन्द्र भण्डारी, प्रदीप पौडेललगातका नेताहरुको सहभागिता थियो । 

विभाग गठन र भ्रातृ संगठनमा तदर्थ समिति ल्याउने विषयमा देउवा पक्षबाट उपभापति निधिको नेतृत्वमा सहमहामन्त्री महत र प्रवक्ता शर्मा यता पौडेल पक्षबाट सिंहको नेतृत्वमा बडू र हृदयराम थानीबीच मंगलबार छलफल भएको थियो ।

दुई पक्षीय तर्फको वार्ता टोलीका संयोजकले आज बिहान भएको आफू पक्षीय छलफलमामा हिजो भएको छलफलको ब्रिफ्रिङ गरेका थिए । वार्ता टोलीबीच हिजोको छलफलमा कुनै सहमति हुन सकेन । उनीहरुले आफ्नो अडान राखेका थिए ।

सभापति देउवा बिहीबारको केन्द्रीय समिति बैठकअघि केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउने तयारीमा जुटेको बताइएको छ ।

 


कानून,समिति

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि असन्तुष्टि जनाएका छन् । कानून समितिको बैठकमा बोल्दै मन्त्री यादवले कार्ययोजनाको मस्यौदामाथि केही असन्तुष्टि व्यक्त गरेका हुन् । 

 अन्तर्राष्ट्रिय मुल्य मान्यताहरुलाई मध्यनजगर गर्दै मानवअधिकार विषयहरु कार्ययोजनामा समेट्नुपर्ने बताए ।  छलफलमा मन्त्री यादवले जनता र राजनीतिक अधिकारको अवस्था हाम्रो के छ ? अन्तर्राट्रिय मान्यताहरु र नेपालले गरेका सम्झौताहरु के छन् ? अब सधार गर्नुपर्ने कुराहरु के छन् ? भन्ने कुराहरु मध्यनजर गर्दै गर्नुपर्ने बाँकी काम र सुधार कहाँ गर्ने भन्ने कुराहरु कार्ययोजनामा समेटिनुपेर्न बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवडा. तिर्थराज ढकालले प्रधानमन्त्रीको निर्देशन अनुसार कार्ययोजना तयार पार्दा तीनवटै तहबाट सल्लाह लिइएको बताए । 

भ्रमण वर्ष र टानबीच सहमति 

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सचिवालय र टानबीच विभिन्न ११ बुँदे समmदारीपत्रमा सम्झौता भएको हो । 

बुधबार एक कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष व्यक्ति, मन्त्रालय तथा सरकारको मात्र नभएर सबै नेपालीको भएको बताए । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले देशको आर्थिक विकासका लागि गुणस्तरीय पर्यटनमा ध्यान दिनुपर्ने बताए ।

 उनले सरकारले २० लाख पर्यटक ल्याउने घोषणा गर्दा टानले सबै सदस्यमार्फत ८ लाख बढी पर्यटक नेपाल लयाउने योजना बनाएको बताए ।  सचिवालय र टानबीच पद्यात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने लगायतका विभिन्न ११ बुँदामा सम्झौता भएको छ । 

लेखा समितिमा छलफल 

विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन् । सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन् ।

 त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोकर्णबहादुर मोत्राले नेपालमा पाइने ९० प्रतिशत भन्दा बढी चुन ढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ पाइने र सिमेन्ट बनाउने क्रममा १ दशमलव ६ प्रतिशत बढ्ने बताउनुभयो । यो पदार्थ सिमेन्टमा घुल्न नसक्ने भएकाले नेपालको भौगोलिक अवस्थालाई हेरेर पनि यसको मात्रा ५ प्रतिशत भन्दा बढी बनाउन नहुने उनले बताए । त्यस्तै सह–प्रध्यापक लुतनप्रसाद भट्टराईले म्याग्रेसियमको मात्रा ५ बाट ६ प्रतिशत पु¥याउँदा ५÷१० वर्षमा नै संरचनाहरु फुट्ने र भत्कने खतरा रहने बताए । 

तत्कालिन उद्योग मन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को गत आसार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थको मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो । त्यस्तै अर्को अघुलनशील पदार्थको मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पु¥याइएको थियो ।  छलफलमा विज्ञहरुले म्याग्रेसियमको मात्रा जति कम भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो हुने भन्दै पुरानै व्यवस्था कायम गर्न सुझाव दिएका छन् । 

मन्त्री लेखराज भट्टका कुरा

उद्योगमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समुन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । 

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उनले बताए । 

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उनले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताए । 

माउन्टेन दिवस

पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ । नेपाल पर्वत आरोहण संघको आयोजनामा काठमाडौंको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जयनेपाल स्थित संघको कार्यालयसम्म ¥यालि निकाली ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो ।

संघका अध्यक्ष शन्तबिर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताए । 

नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप