शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिनल्याण्डका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा मारिन नियुक्त

बुधबार, २५ मङ्सिर २०७६, २२ : २७
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोले ३४ वर्षीया मारिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी विश्वका बहालवाला प्रधानमन्त्रीहरूमध्ये उमेरले सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बनेकी छिन् ।

साथै उनी फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री भएकी छिन् । मारिन नेतृत्वको सरकारमा १२ जना मन्त्री पनि महिला नै बन्ने तय भइसकेको छ । सो मन्त्रीमण्डलमा पुरुष भने सात जना मात्रै रहने जनाइएको छ । 
पार्टी र गठबन्धनले केही दिन अगाडि प्रधानमन्त्री बनाउन चयन गरेपछि मारिनलाई मङ्लबार संसद् बैठकले पनि प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । 

संसद्मा भएको निर्वाचनमा उनले ९९ मत पाएकी थिइन् भने ७०  जनाले उनको विपक्षमा मत हालेका थिए । त्यसैगरी अरू ३० जना सांसद अनुपस्थित भएका थिए ।  फिनल्याण्डको संविधानअनुसार संसद्मा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरे पनि त्यसलाई संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । 

उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हालेकी थिइन् भने सन् २०१५ देखि उनले फिनल्याण्डको जनप्रतिनिधिका रूपमा संसद्मा प्रतिनिधित्व गर्दै आएकी छिन् ।

प्रधानमन्त्री बन्नुअघिसम्म उनी निवर्तमान सरकारमा गत जुन महिनादेखि यातायात तथा सञ्चार मन्त्री बनेकी थिइन् । हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलहरू पनि नयाँ गठबन्धनसमेत सँगै रहेका छन् । गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाइन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो । गत अप्रिलमा गरिएको निर्वाचनबाट सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको छ । Photo: AP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप