बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाले औँल्यायो धरानमा चुनाव हार्नुका ५ कारण

बिहीबार, २६ मङ्सिर २०७६, १४ : ०६
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदमा आफ्ना उम्मेदवार पराजित भएको विषय नेकपामा ‘पेचिलो’ बन्दै गएको छ ।

पञ्चायतकालदेखि नेकपाको पकड रहेको धरानमा आश्चर्यजनक रुपमा उपनिर्वाचनमा पराजय भोगेपछि त्यहाँको चुनावी विश्लेषण र अध्ययन नेकपाको सचिवालयदेखि स्थानीय तहसम्म दोहोर्याएर भइरहेको छ । 

गत मंसिर २३ गते बसेको नेकपा सचिवालय बैठकमा ५२ स्थानमध्ये सबैभन्दा धरानको परिणामबारे नेताहरुले चासो देखाएका थिए । उक्त बैठकमा पार्टीका तल्ला कमिटीबाट आएको समीक्षात्मक रिपोर्ट सचिवालयका नेताहरुलाई चित्त नबुझेपछि पुनः ५ दिनको समय दिएर अर्को रिपोर्ट पेश गर्न कडा निर्देशन नै दिनुपरेको थियो । 

‘अन्य स्थानमा भन्दा पनि सबैको चासो धरानमा थियो । त्यहाँको रिपोर्ट हेर्दा मतदाता मत दिन नै नआएको निष्कर्ष देखिन्थ्यो,’ एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘तर के कारणले मतदाता मत दिन आएनन् भन्ने खुलाइएको थिएन ।’ 

ती सदस्यका अनुसार कारणसहित सहित रिपोर्ट दिन समय थपिएको हो । सचिवालयको निर्देशन अनुसार मातहतका पार्टी कमिटीले अहिले मिहीन विश्लेषणसहितको रिपोर्ट तयार गरिरहेका छन् ।  

सचिवालयमा प्राप्त धरानको चुनावी रिपोर्टमा केन्द्र र स्थानीय तहमा बढेको करप्रति जनताको वितृष्णालाई चुनाव हार्नुको पहिलो कारण मानिएको छ । त्यस्तै दोस्रो नम्बरमा मतदाता स्थानीय जनप्रतिनिधिसँग रुष्ट बन्न पुगेका कारणले नेकपाका उम्मेदवारले चुनाव हारेको जनाइएको छ । जसमा सुकुम्बासीहरुको मत समेट्न नेकपाका उम्मेदवार असफल बनेका थिए । 


चुनाव हार्नुमा पार्टी एकीकरण नटुंगिनु अर्को कारण भनिएको छ । रिपोर्टमा केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकता टुंगिन नसक्नु तेस्रो कारण ठानिएको छ । पार्टी एकीकरणले पूर्णता नपाउँदा वडादेखि प्रदेशसम्म नै साविक एमाले र साविक माओवादी केन्द्र भन्नुपरेकाले मतदातामा पार्टी एकता भैनसकेको सन्देश जाँदा मतदान गर्न जान नै मतदाताले अनिच्छा देखाएको विश्लेषण गरिएको छ ।

त्यस्तै प्रारम्भिक समीक्षात्मक रिपोर्टमा काँग्रेसले बदलेको चुनावी रणनीति नेकपाको पराजयको चौथो कारण देखाइएको छ । 

‘यसपटक काँग्रेसले पहिलाको जस्तो मतदाता प्रभावित पार्न खुला स्थानमा भोजभतेर गर्नुको साटो होटलमा लगेर खुवाउने र त्यहीँ पैसा बाँड्ने गरेको पाइयो । यसमा हाम्रो ध्यान नै पुगेन यो पनि चुनाव हार्नुको कारण बन्यो’ नगर हुँदै जिल्ला र प्रदेशमार्फत केन्द्रमा आएको प्रारम्भिक रिपोर्टमा भनिएको छ । 

त्यस्तै विपक्षीहरुको गठवन्धन पाँचौ कारण मानिएको छ  । मुख्य यी पाँच कारणले चुनाव हारेको रिपोर्टप्रति सचिवालयले चित्त बुझाएको छैन । 

केन्द्रको दोस्रो निर्देशनपछि सुनसरी जिल्ला कमिटिले विस्तृत रिपोर्ट तयार पार्ने काम गरिरहेको  नेकपा सुनसरीका सचिव रमेश बस्नेतले जानकारी दिए । ‘विस्तृत रिपोर्ट तयार पार्ने काम भइरहेको छ । समयसीमा भित्रै अर्को रिपोर्ट पठाउँछौ’ बस्नेतले रातोपाटीलाई टेलिफोनमा बताए ।

उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । तिलकले नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पारेका थिए । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा प्रकाशले २३ हजार ९ सय १४ मत मात्र पाएका थिए । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप