बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयतामा ‘हाइपोथेटिकल’ तथ्याङ्कको औचित्य छैन : अर्थमन्त्री खतिवडा

२०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने
बिहीबार, २६ मङ्सिर २०७६, १६ : ०६
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । मुलुक सङ्घीय प्रणालीमा गइसकेपछि पनि यथार्थपरक तथ्याङ्क (डाटा) आउन नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । 

बिहीबार राजधानीमा आयोजित विश्व बैङ्कको नेपाल डेभलपमेन्ट अपडेट तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले मुलुक विकेन्द्रीकृत कार्यप्रणालीमा गइसक्दा समेत सही तथ्याङ्क आउन नसकिरहेको बताएका हुन् । 

शक्ति र कार्यप्रणाली पृथकीकरणको सिद्धान्तमा मुलुक गइसके पनि अझै पुरानै लिगेसी (हाइपोथेसिस)का भरमा तथ्याङ्क सङ्कलन गर्ने र सार्वजनिक गर्ने परिपाटी रहेको बताए । 

अनुसन्धान, खोज र यथार्थतालाई महत्त्व दिन नसक्दा यस्तो हुने गरेको मन्त्री खतिवडाले बताए । यसका लागि कर्मचारीतन्त्र सशक्त र जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ थियो ।

यता तथ्याङ्क गणनाको समयसमेत सान्दर्भिक नभएको बताउँदै यसलाई समेत समयानुकूल परिमार्जन गर्ने जनाएका छन् । यसअघि २०००÷२००१ लाई आधार मानेर गणना भइरहेकामा अब २००८÷२००९ लाई आधार मानेर गणना गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

सरकारले तथ्याङ्क ऐनमार्फत नेपालको तथ्याङ्क प्रणालीलाई अझ बलियो बनाउन लागिएको र सोको मस्यौदा संसदमा लैजान लागिएको समेत जानकारी दिए । 

विश्व बैङ्कद्वारा आयोजित कार्यक्रममा सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहनेछ भने, सन् २०२० र २१ मा क्रमशः ६.४ र ६.५ मा झर्ने प्रक्षेपण गरेको छ । 

हाल नेपालको आर्थिक वृद्धिदर जीडीपीमा कृषि क्षेत्रबाट ५ प्रतिशत, औद्योगिक क्षेत्रबाट ८ दशमलव १ प्रतिशत र सेवा क्षेत्रबाट ७.५ प्रतिशतको योगदान रहेको विश्व बैङ्कले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप