शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलले बहिस्कार गरेको केन्द्रीय समिति बैठकमा महेश आचार्यको एकाएक ‘इन्ट्री’

बिहीबार, २६ मङ्सिर २०७६, १९ : ०७
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरिएको छ । सांस्थापन इतर पक्षको बहिस्कारका बिच पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले  ९ वटा प्रस्ताव प्रस्तुत गरेको हो ।

४ घण्टा ढिलो गरी अपराह्न ४ बजे बसेको बैठकमा देउवाले केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव पेस गरेका थिए । जसमा उनले विधानमा भएको २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गरेका छन् ।

प्रस्तावित केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन् ।

यसैगरी प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।

उक्त प्रस्तावप्रति विमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । बैठकमा महाधिवेशनको कार्यलातिका पनि एजेण्डाका रुपमा प्रस्तुत गर्न पौडेलले गरेको प्रस्तावमा देउवाले असहमति जनाएपछि बैठक बहिस्कारको अवस्था सिर्जना भएको घिमिरेको भनाइ छ । 

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन सम्पन्न भएको र बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सो सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो ।

यस्तै बैठकमा नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुतत गरिएको छ । तरुण दलको मंसिर १ गतेबाट समयअवधि सकिएको थियो ।

यस्तै कालापानी लगायतको सीमा अतिक्रमणलाई पनि काँग्रेसले केन्द्रीय समितिको एजेण्डाका रुपमा प्रस्तुत गरेको छ ।

यता ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभामा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुसँग ७ प्रदेश स्तरीय समीक्षा एवं तेस्रो चरण तयारी सम्बन्धी विशेष अन्तरक्रिया गरिने भएको छ । जसका लागि पौष महिनाभित्र केन्द्रीय कार्यालयले मिति तय गर्नेछ । प्रदेश अन्तरक्रिया स्थान भने तोकिएको छ ।

प्रदेश १ अन्तरगत सुनसरीको धरान, प्रदेश २ अन्तरगत धनुषाको जनकपुर, प्रदेश ३ अन्तरगत चितवन भरतपुर गण्डकी प्रदेश अन्तरगत तनहुँको दमौली प्रदेश ५ अन्तरगत  कपिलबस्तुको तौलिहवा कर्णाली प्रदेश अन्तरगत सुर्खेतको वीरेन्द्रनगर र सुदूर पश्चिम प्रदेश अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा विशेष अन्तरक्रिया हुने छ ।

७५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको छ । यसअघि पुष ७ गतेबाट सुरु भई १६ गते समापन गरिने भनिएको थियो ।

यता संवैधानिक परिषद्सम्बन्धी कार्यविधिप्रति ध्यानाकर्षण काँग्रेसले संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु¥याएको आरोप लगाएको छ ।

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढङ्गले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुटो मुद्दा चलाउने गरी संवैधानिक आयोगजस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

 


 
महेश आचार्यको एकाएक इन्ट्री 

बैठकमा उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए ।

आचार्य पौडेल निकट मानिन्छन् । तर, पौडेलले बैठक बहिस्कार गर्दा उनी भने बैठकमा सहभागी भएका थिए । ‘म यहाँ मध्यस्थकर्ताको रुपमा सहभागी भएको हुँ । मलाई दुवै पक्षको अडानमा चित्त बुझेको छैन । मैले यस विषयमा वरिष्ठ नेता ज्यूसँग पनि कुुरा गरेको छु,’बैठकमा उनले भने ‘अब पार्टी सभापतिले पनि छाती ठूलो पारेर पार्टीभित्र सबैलाई मिलाएर जानुपर्छ ।’

उनले थपे, ‘उपनिर्वाचनमा सबै एक भएको सन्देश भएको छ । जसका कारण धरानमा पार्टीले जित्यो । देशभरका कार्यकर्तामा एकताको सन्देश भएको छ । यसलाई कायम गराउनु सभापति मुख्य जिम्मेवारी हुन्छ ।’ 

आचार्यसँगै पौडेल पक्षका दिलबहादुर घर्ती मगर पनि बैठकमा सहभागि थिए । उनीहरुले देउवाको प्रस्तावमा हस्ताक्षर समेत गरेका छन् । उनीहरु पौडेल पक्षको ‘दूत’का रुपमा बैठकमा प्रवेश गरे वा देउवा क्याम्पमा सर्ने तयारी गरेका हुन् भन्ने सानेपामा चर्चा भएको थियो । आचार्य र घर्ती पौडेल पक्षका प्रभावशाली नेता मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप