शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचारः देशभर वर्षासहित हिमपात, कालापानीमा नेपाली सुरक्षाकर्मी राख्ने तयारी

शुक्रबार, २७ मङ्सिर २०७६, १९ : ४९
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौ । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि पानी समेत परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा भएको हो । महाशाखाले अबको तीन दिन यसको प्रभाव रहने जनाएको छ । आइतबारदेखि भने यसको प्रभाव क्रमशः घट्दै जानेछ । 

उता, हिमाली भेगका प्रायजसो जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । 
सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले काम्दै परीक्षा दिनुपर्ने बाध्यता भए । 
आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् ।

कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ ।  त्यसैगरी, कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु हुँदा हवाई उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट बिहान ७ः०० बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता र समिट एयरलाइन्सका उडान प्रभावित भएका छन् । यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो । 

पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए ।

उपाध्यक्ष तिमल्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वर, पुल्चोक, लगनखेल, कोटेश्वर हुँदे पुन दशरथ रंगशालामासम्म पदकधारी खेलाडीहरुलाई परिक्रमा गरिएको थियो ।

उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताए । उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको बताए । मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो । 

निर्वाचन आयोगद्वारा दल दर्ताको आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।  आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो । 
यही मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,नगर,उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् । राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उनले आग्रह गरे । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचनका लागि कुनै दलले दल दर्ता गर्न नचाहेको खण्डमा दलको मान्यता र आधिकारिक रुपमा काम गर्ने कुरामा कुनै असर नपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

कुनै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको खण्डमा सामान्य सोधपुछ बाहेक अरु कुनै कारवाही गर्ने अधिकार ऐनले आयोगलाई दिएको छैन् । राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ । एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउँदैछौं : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताएका हुन् ।

उनले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा नेपालले २५/३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको बताएका हुन् । अहिले १ हजार ८०० स्क्वायर किलोमिटर सीमा सुरक्षा गर्न कूल १ सय २ सीमा सुरक्षा पोष्ट मात्र रहेको बताउँदै त्यसलाई सरकारले विस्तार गर्न लागेको समेत बताए । उनले अहिले सशस्त्र प्रहरीको संख्या बढाउन गृहमन्त्रालयले प्रस्ताव गरेको समेत जानकारी दिए ।

पछिल्लो समय  लिम्पियाधुरा, कालापानीको कुल ३ सय ७२ किलोमिटर क्षेत्र र लिपुलेक लगायतका अन्य क्षेत्रमा गरी भारतले ४ सय किलोमिटर भन्दा बढी क्षेत्र अतिक्रमण गरेको गृह मन्त्री थापाले बताए । उनले कालापानी क्षेत्रमा १९६२ को भारत र चीनबीचको युद्धपछि मात्र अतिक्रमण भएको र ऐतिहासिक नक्सा, सन्धि सम्झौताहरुबाट उक्त भूमि नेपालकै भएको पुष्टि हुने भएकाले भारत त्यहाँबाट हटनुपर्ने बताए । उनले १९६२ को चीनसँगको युद्धमा भारतले नेपालको भूमिमा १८ ठाउँमा सेना राखेको बताउँदै १७ ठाउँबाट हटाएर एक ठाउँ कालापानीबाट नहटाएको र पछि त्यहि बलमा भारतले उक्त क्षेत्र अतिक्रमण गरेको बताए । उनले उक्त भूभाग नेपालकै हो भन्नेमा सरकार स्पस्ट रहेको र फेरि भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको बताए । 

गुहेश्वरीमा फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै हुन्छ : खानेपानी मन्त्री 

खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन् । मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय हुने बताइन् । उनले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताएकी हुन् ।

दुई वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो । तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन् । सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो । २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ । 

महानगरद्वारा सडक मानवमुक्त अभियानको घोषणा
काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो ।

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए । 

त्यसैगरि महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनवटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको उनले बताए । रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ । 

प्रेस काउन्सिल नेपालमा तालाबन्दी
पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् ।  पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्ष समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वषौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको बताए । उनले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताए ।

उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरीएको समेत बताए । आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन् । उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् । पत्रकारहरुले काउन्सिलमा तालाबन्दी समेत गरेका छन् ।

यो पनि छुट्यो कि...

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप