बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नौ करोडको खानेपानी योजना शिलान्यास

शनिबार, २८ मङ्सिर २०७६, ०९ : ३०
शनिबार, २८ मङ्सिर २०७६

स्याङ्जाको भिरकोटमा रु १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको रु सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको रु एक करोड र बाँँकी रकम श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहभागितामा निर्माण थालिएको हो । 
 
कूल रु नौ करोड ९९ लाख ५४ हजार ५२६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले बताए । भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छायाराम खनालले बताए । 
 
“नगरवासीलाई व्यवस्थित खानेपानी घरघरमै पु¥याउने लक्ष्यसाथ योजनाको थालनी गरेका हौँ”, नगरप्रमुख खनालले भने, “थालिएको योजनालाई निर्धारित समयमै सम्पन्न गरी नगरवासीको दैनिकीलाई सहज बनाइनेछ ।”
 
भिरकोट नगरपालिकाका–१, २ र ४ नं वडाका ९४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताए । “बायाँखोला र खाँदीखोला मूलबाट पानी ल्याएर भिरकोट–१ केरुङमा चार लाख लिटर र मुहान नजिकै २० हजार लिटरका दुई ट्याङ्की निर्माण गर्नेछौँ”, अध्यक्ष अधिकारीले भने, “बायाँखोला मूलको पानी पाइपमार्फत ट्याङ्कीमा आउनेछ भने खाँदीखोला मूलको पानीलाई लिफ्टिङ गरेर ट्याङ्कीमा सङ्कलन गरिनेछ ।”
 
लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको उक्त खानेपानी योजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप